• २६ पुस २०८१, शुक्रबार

संस्कृति संरक्षण गर्न भोदी खेलको आयोजना

blog

कावासोतीमा भोदी खेल खेल्दै युवा । तस्बिर : मीना कंडेल

मीना कंडेल
कावासोती, भदौ २४ गते ।
 नवलपुरमा थारु समुदायले खेल्ने परम्परागत भोदी खेलको आयोजना गरिएको छ । पछिल्लो समयमा लोप हुने अवस्थामा रहेकाले संरक्षणका लागि जिल्लास्तरीय भोदी खेल प्रतियोगिताको आयोजना गरिएको हो ।

थारु युवा समूहबिच खेलाइने भोदी खेलले धार्मिक र ऐतिहासिक महत्त्व बोकेको हुँदा हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको थारु समुदायका अगुवाले बताएका छन् ।

भोदी खेल थारु समुदायको बाक्लो बस्ती भएको गाउँमा समूह बनाएर खेल्ने पुरानो परम्परा भए पनि पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । थारु समुदायको पहिचान बोकेको विभिन्न चाडपर्वमध्ये अनत चतुर्दशी पर्वलाई पनि थारु समुदायले विशेष महत्त्वका साथ मनाउने गर्दछन् ।

थारु कल्याण कारिणी सभा केन्द्रीय सदस्य वीरेन्द्र चौधरीले अनतका अवसरमा इन्द्रलाई पूजा गरी खुसी बनाए वर्षा राम्रोसँग हुने र अन्नबाली राम्रो फल्ने जनविश्वासका आधारमा विभिन्न धार्मिक कार्य गरिने बताउनुभयो । इन्द्रलाई खुसी बनाउन पिङ खेल्ने, भोदी खेल्ने परम्परा रहिआएको छ ।

थारु कल्याण कारिणी सभा नवलपुरका अध्यक्ष राम प्रसाद महतोले भोदी खेलमा एक समूहमा दश जना हुने बताउनुभयो । समूहमा भएका दश जनाले पालैपालो भुईँमा गाडेर राखिएको नौ वटा लट्ठी हानेर लट्ठी निकाल्ने र जुन समूहले सबै लट्ठी निकाल्न सक्छ त्यो समूह नै विजयी घोषित हुने बताउनुभयो ।

कावासोतीमा भएको जिल्ला स्तरीय भोदी खेल प्रतियोगितामा जिल्ला भरिका ७१ टिम सहभागी रहेका थिए । जसमा जिल्ला स्तरीय भोदी खेलमा डायमन्ड यूथ सोसाइटी कावासोती १२ राजमन्दिर प्रथम भएको छ । यस्तै कावासोती १२ कै असरा युवा क्लब दोस्रो र नेस्नल युवा क्लब कावसोती १२ गैरीले तेस्रो भएका छन् ।

गण्डकी प्रदेश सदस्य सचिव श्रीधर शर्माले प्रथम हुनेलाई १२ हजार नगद र प्रमाणपत्र, दोस्रोलाई १० हजार नगद र प्रमाणपत्र र तेस्रो हुने टिमलाई आठ हजार नगद र प्रमाणपत्र र सहभागी सम्पूर्ण टिमलाई सान्त्वना पुरस्कार प्रदान गर्नुभएको हो । नवलपुरमा हरेक वर्ष भोदी खेल प्रतियोगिता आयोजना गरिँदै आइएको छ ।