• २६ पुस २०८१, शुक्रबार

मातृ शिशु अस्पताल कात्तिकमा सुचारु हुन्छ : उपकुलपति डा. गिरी

blog

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी ।

निशा राई 

धरान, भदौ २४ गते । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ४ सय शय्याको मातृ शिशु अस्पताल आगामी कात्तिक महिनासम्ममा सुचारु हुने बताउनुभयो । 

बिपी प्रतिष्ठानको ३१ औँ वार्षिकोत्सव तथा १ सय ११ औँ बिपी कोइराला जयन्तीको अवसरमा उहाँले मातृ शिशुको विशेषज्ञ उपचार सेवा प्रदान गर्नका लागि ४ सय शय्याको मातृ शिशु उपचार केन्द्र आगामी कार्तिक २६ गते दीक्षान्त समारोहमा उद्घाटन गरी सञ्चालन गर्ने बताउनुभयो ।

साथै उक्त भवनमा ओन्कोलोजी, कार्डीयोलोजी सेन्टर पुरा नरहुन्जेलसम्म क्यान्सर तथा मुटु रोग उपचार सेवाका लागि आवश्यक न्यूनतम शय्या छुट्याई सञ्चालनमा ल्याउने समेत उहाँले बताउनुभयो । 

पैसाको अभावमा कुनैपनि नेपाली स्वास्थ्योपचारबाट वञ्चित हुनु हुँदैन भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै स्थापना भएको यस प्रतिष्ठान स्थापनाको दिनबाट आजको अवस्थामा आइपुग्दा सम्म आफ्नो उद्देश्य अनुरूप स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति उत्पादन गर्ने, स्वास्थ्य क्षेत्रका विभिन्न नवीनतम आयामहरूमा खोज तथा अनुसन्धान गर्ने र गुणस्तरीय सेवा प्रदान गर्ने कार्य गर्दै आएकोले प्रतिष्ठान राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो परिचय स्थापित गर्न सफल भएको उपकुलपति डा. गिरीले बताउनुभयो । 

“प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रममा अवलम्बन गरेको समुदाय उन्मुख पाठ्यक्रम नेपालको लागि मात्र नभई विदेशमा पनि उदाहरणीय बनेको पाइन्छ,” उहाँले भन्नुभयो । बिपी प्रतिष्ठानमा १५० शय्याको अस्पतालबाट विकास एवम् विस्तार हुँदै हाल प्रतिष्ठानमा ९१३ शय्या रहेको समेत बताउनुभयो ।

वि.सं. २०५० श्रावण १ देखि तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अस्पताल प्रतिष्ठान मातहतमा समाहित भए पश्चात् नेपालको कोशी प्रदेश र मधेश प्रदेश लगायत छिमेकी मित्रराष्ट्र भारतको सीमावर्ती क्षेत्र विहार, बङ्गालका सर्वसाधारण जनताहरूलाई समेत गरी दैनिक ३५ सय देखि ४ हजार बिरामीहरूलाई गुणस्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गरी रहेको उपकुलपति डा.गिरिले बताउनुभयो । 

नेपालमै दोस्रो र उपत्यका बाहिर पहिलो अत्याधुनिक प्रविधिको २ सय ५६ स्लाइसको सिटी स्क्यान मेशिन खरिद एवं जडान भई सञ्चालनमा रहेको छ । हाल मुटु रोगको उपचारका लागि क्याथ ल्याब एवम् मुटुको शल्य चिकित्सा सेवा उपलब्ध छ भने आइसियु बेडको कमी भएबाट बिरामी उपचारमा अप्ठ्यारो परिस्थिति रहेकोमा हाल थप ३० वटा आइसियु बेड साथै डायलिसिस सेवाका लागि २० बेड थप भई सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

क्यान्सर रोगका उपचारका लागि २ सय बेडको ओन्कोलोजी सेन्टर र मुटु रोगको उपचारका लागि २ सय बेडको कार्डीयोलोजी सेन्टर निर्माण कार्य सुचारु गर्ने प्रक्रियाका लागि सञ्चालक परिषद्को ४५ औँ सभाबाट निर्णय भए अनुरूप समिति गठन भई प्रतिवेदन तयार पारी सञ्चालक आगामी बैठकबाट प्रक्रिया सुचारु गर्न बजेट सुनिश्चितताका लागि नेपाल सरकारसँग आवश्यक पहल गरिएको उपकुलपति डा.गिरिले बताउनुभयो ।

यसैगरी इमर्जेन्सी उपचार सेवाका लागि आवश्यक सङ्ख्यामा प्यासिन्ट मोनिटर जडान गरी इमर्जेन्सी सेवा स्तरोन्नति गरिएको छ भने निर्माणाधीन भवनको निर्माण कार्य सम्पन्न गराई अक्सिजन पाइपलाइन सहितको थप ३० वटा जनरल बेड तथा ४ वटा आइसियु, एचडियु बेड राख्ने योजना सहित इमर्जेन्सी सेवाको विस्तार गरिएको छ  । 

महामानव विश्वेश्वर प्रसाद कोइरालाको नाममा स्थापित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपाल सरकार तथा भारत सरकारको मैत्रीपूर्ण परियोजनाको रूपमा सञ्चालन गर्ने सहमति भई सन् १९९३ जनवरी १८ का दिन संसदबाट ऐन पारित भई विधिवत् रूपमा सञ्चालन भई आएको बिपी प्रतिष्ठानको रजिष्टार प्रा.डा.सूर्य प्रसाद सङ्ग्रौलाले बताउनुभयो ।

स्थापनाकालमा तत्कालीन नेतृत्वकर्ताबाट भएका अथक प्रयास र मेहनतको प्रतिफल नै आजको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वरूप भएको हुँदा यस पावन अवसरमा सबै अग्रज नेतृत्व कर्ताहरूलाई उहाँले सम्मान व्यक्त गर्नुभयो । 

वर्तमान अवस्थामा यस प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको सङ्ख्या करिब २ हजार, विद्यार्थीको सङ्ख्या करिब १७ सय र प्रतिष्ठान एउटा आवासीय क्षेत्रको रूपमा समेत भएकोले सुरक्षा र सरसफाइका कर्मचारीको सङ्ख्या करिब ३ सय साथै तिनका आश्रित परिवार करिब १० औँ हजारको सङ्ख्यामा प्रतिष्ठानमा बसोबास गरिरहेका छन् यसले गर्दा अझै सरकारबाट ठुलो बजेट विनियोजन हुनु पर्ने देखिएको रजिष्टार प्रा.डा.सङ्ग्रौलाले बताउनुभयो।

जनतालाई सेवा दिन बिमा सेवा सुचारु गरी जनतालाई उधारोमा सेवा दिई बिमाबाट प्राप्त गर्नु पर्ने रकम ५३ करोड पुगेको छ भने करिब १४ करोड रकम बिमा बोर्डले रिजेक्सन गरेको अवस्था छ । यस अवस्थामा शिक्षक तथा कर्मचारीहरूको तलब कसरी खुवाउने भन्ने चिन्ताको विषय बनेकोले यसको लागी सम्बन्धित निकायहरूले चाँडो मिलाइदिनुहुन उहाँले आग्रह गर्नुभयो । 

कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. विवेकनन्द झा, बिपी प्रतिष्ठानको शिक्षाध्यक्ष अस्पताल निर्देशक, डीन, चिफ, विभागीय प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवीहरू लगायत बिपी प्रतिष्ठानका डाक्टर नर्सहरूको उपस्थिति रहेको थियो ।