• ८ मंसिर २०८१, शनिबार

व्यावसायिक तरकारीतर्फ अग्रसर

blog

तरकारी बारीमा नोहारी चौधरी । तस्बिर : एकिन्द्र तिमिल्सेना

टीकापुर समाचारदाता

टीकापुर, भदौ २४ गते । भजनी नगरपालिका–९, पचमुडिया बजारको मुखैमा एउटा घर छ, घरनजिकै तरकारी बारी छ । पाँच कट्ठा जग्गामा चिचिन्डा, बोडी, भिन्डी, लौका लटरम्म फलेका छन्, खुर्सानीको बेर्ना हुर्किैदै छन् । तरकारी बारी नोहारी चौधरीले हुर्काएको हो । १२ वर्षअघि दुई कट्ठामा तरकारी खेती सुरु गरेकी नोहारीले बर्खामा पाँच कट्ठामा तरकारी लगाउने गर्नुभएको छ भने हिउँदमा एक बिघाभन्दा बढीमा तरकारी लटरम्म फल्ने गरेको छ ।

उहाँले भन्नुभयो, ‘पहिले दुई/चार कट्ठामा तरकारी लगाउँदा गाउँ गाउँ घुमेर तरकारी बेच्नु पथ्र्यो, अचेल गाडीमा सजिलै हाटबजार लैजान्छौँ ।”

तरकारी खेतीमा नोहारीलाई परिवारका अरू सदस्यले पनि सघाइरहेका छन् । नोहारीकी छोरी सङ्गीता भन्नुहुन्छ, “दुई वर्षयता चारै जनाले आमाको व्यवसायलाई साथ दिएका छौँ, अलि नयाँ र व्यावसायिक हिसाबले गरिरहेका छौँ ।” सङ्गीताका अनुसार गत वर्ष बगरमा १२ कट्ठामा तरबुजा लगाउँदा ४० हजार रुपियाँ भन्दा बढीको बिक्री भएपछि यस वर्ष अझ धेरै आय हुने गरी खेती गर्ने तयारी छ । यो गाउँमा नोहारी जस्तै १५/२० परिवारले तरकारी खेती गर्ने गरेका छन् । 

सात वर्षदेखि एक कट्ठा जग्गामा तरकारी खेती गरिरहनुभएकी घोडाघोडी नगरपालिका–१२, खोपाकी रिता चौधरी पछिल्ला चार वर्षयता तीन कट्ठा जग्गामा खेती गरिरहनुभएको छ । बाढीले डुबान गर्ने  जग्गामा माटो भरेर अग्लो  बनाई बाह्रै महिना तरकारी फल्ने बनाउनुभएको छ । छोराछोरीसहित परिवारका छ जना काममा लाग्ने भएकाले हिउँद र बर्खामा तरकारी लगाएर पनि वर्षमा तीन लाख रुपियाँभन्दा बढी कमाइ गरिरहनुभएको छ । छोरी पढाउन, घरखर्च टार्न यत्तिको कमाइले पुगेको रिता बताउनुहुन्छ । 

हिउँदमा डेढ बिघामा तरकारी खेती गरिरहनुभएका टीकापुर नगरपालिका–८, वनगाउँका किसान रामप्रसाद चौधरीले बर्खामा  एक बिघामा तरकारी खेती गर्नुभएको छ । कामका लागि भारत पसेका रामप्रसाद २०७७ सालमा गुजरातमा ढुङ्ग्यान जग्गामा तरकारी खेती गरेको देखेपछि आफ्नै मलिलो माटो भएको खेत सम्झेर घर फर्की तरकारी खेतीमा लागेको  बताउन्हुन्छ । चौधरी भन्नुहुन्छ, “सुरुमा १० कट्ठामा खेती सुरु गरेपछि पछि एक बिघा भाडामा लिर खेती बढाएको छु, वर्षमा नौ लाख रुपियाँभन्दा बढीको तरकारी बेचेको छु ।”

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाका अनुसार हिउँदमा वनगाउँ क्षेत्र पूरै तरकारीमय हुने गरेको छ ।  वर्षामा ठुलो मात्रामा तरकारी गर्ने आठ/दस जना छन् । किसानले बाह्रै महिना तरकारी खेती गर्दा नजिकका टीकापुर, राजापुर बजारमा आपूर्ति भइरहेको र तरकारी आयात प्रतिस्थापनमा सहयोग पुगेको छ ।

व्यावसायिक बनाउन सहयोग बढ्दो

मौसममा व्यावसायिक तरकारी खेती गर्ने किसानलाई बाह्रै महिना तरकारी खेती गर्ने बनाउन सरकारी र गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् । कृषि ज्ञान केन्द्र कैलालीका कृषि अधिकृत तथा सूचना अधिकारी श्यामराज जोशीका अनुसार कृषकको क्षमता बढाउनका लागि चक्लाबन्दीमा तरकारी खेती, चक्लाबन्दीमा आलु खेती, विपन्नलाई जग्गा भाडा अनुदान, कृषि ऋणमा ब्याज अनुदान, विद्युतु महसुल अनुदान, कृषि बिमा प्रिमियममा अनुदान, प्लास्टिक टनेलमा अनुदान दिँदै आएको छ । जिल्लामा १८ हजार हेक्टरमा तरकारी खेती र पाँच हजार हेक्टरमा आलु खेती भइरहेको छ ।

निर्वाहमुखी खेती गरिरहेका किसानलाई व्यावसायिक बनाउन जलवायुमैत्री, प्रविधिमैत्री तरकारी खेती गर्न तालिम, ६५० जनालाई प्लास्टिक टनेल, बिउ कृषि औजारलगायतको सहयोग गरेको दिगो विकास समाजका कार्यक्रम संयोजक प्रभु ढकाल बताउनुहुन्छ । यहाँ दिगो विकासका साथै अन्य गैरसरकारी संस्थाले पनि तरकारी खेतीमा किसानलाई सघाइरहेका छन् ।

रानीजमरा–कुलरिया सिँचाइ आयोजना लागु भएपछि एक हजार ८७ किसान व्यावसायिक र व्यवसायउन्मुख भएका छन् । परियोजनाको कृषि कार्यक्रमका प्रमुख भरतराज कँडेलका अनुसार परियोजनाअघि यसको कमान्ड क्षेत्रमा दुई सय जना किसानले सामान्य तरकारी खेती गरिरहेकामा परियोजनाले किसानलाई तालिम, उन्नत बिउ, तरकारीका लाग्ने पोषण उपलब्ध गराउँदा उत्पादकत्व प्रतिहेक्टर १२ मेट्रिक टनबाट बढेर प्रतिहेक्टर २० मेट्रिक टन पुगेको छ ।

झन्डै १० लाख जनसङ्ख्या रहेको कैलालीलाई पुग्ने तरकारी अझै उत्पादन हुन सकेको छैन । त्यसैले अझै लगानी गर्ने र किसानले प्रतिफल लिन सक्ने ठाउँ रहेको देखिन्छ ।