काठमाडौँ, भदौ २४ गते । पर्यटक भित्रिने मुख्य सिजनमै हवाई यातायात प्रभावित हुने भएपछि यो वर्ष सरकारले लिएको १६ लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्न मुस्किल हुने देखिएको छ । हवाई दुर्घटना, पछिल्लो दुई महिनाको पर्यटक आगमन दर, निगमका जहाज नियमित उडानमा देखिएको लापर्बाही र पर्यटकीय सिजनमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टासम्म बन्द हुने भएपछि सरकारको महत्वाकाङ्क्षी लक्ष्य भेट्न मुस्किल देखिएको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षभित्र १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर सन् २०१९ को तुलनामा पछिल्ला दुई महिनामा देखिएको घट्दो पर्यटक आगमन दर र आगामी कात्तिकदेखि दैनिक १० घण्टा विमानस्थल बन्द हुने भएपछि त्यसको असर पर्यटक आगमनमा देखिने भएको छ ।”
हाल दैनिक २१ घण्टा सञ्चालनमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्वाधार विकासका क्रममा पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएपछि अन्तर्राष्ट्रियतर्फको उडान दर घट्ने र हवाई टिकटसमेत महँगो भएपछि त्यसको असर पर्यटक आगमन दरमा पुग्ने उहाँको भनाइ छ । सरकारले लिएको लक्ष्य प्राप्त गर्न सन् २०२३ को तुलनामा ५८ प्रतिशत र सन् २०१९ को तुलनामा ३४ प्रतिशत धेरै पर्यटक भित्रिनुपर्ने हुन्छ तर सन् २०१९ को जुलाई र अगस्टको तुलनामा यो वर्षको जुलाईमा नौ र अगस्टमा २४ प्रतिशत पर्यटक आगमन घटेकाले पर्यटक आगमनलाई लयमा ल्याउन सके मात्रै लक्ष्य प्राप्त हुन सक्ने देखिन्छ ।
निर्देशक लामिछानेका अनुसार सन् २०२४ को जनवरीदेखि अगस्टसम्म सात लाख २० हजार ३३४ पर्यटक नेपाल भित्रिएका छन् । शरद ऋतुमा हिमाल आरोहण, पदयात्रा, प्याराग्लाइडिङ, हाइकिङलगायतका साहसिक गतिविधि र नेपाल भ्रमणका सिलसिलामा आउने पर्यटकलाई विमानस्थलको उडान तालिकामा हुने फेरबदलले पर्यटन क्षेत्र प्रभाव पार्न सक्ने उहाँको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका उडानमध्ये ४० प्रतिशत उडान कटौती गरेर पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट गराउने तयारी गरेको छ । उक्त अवधिमा चार वटा उडान तालिका भएका वायु सेवाले दुई वटा उडान काठमाडौँबाहिरबाट गर्नुपर्ने छ । त्यस्तै गरी काठमाडौँबाट हुने चार्टर र हाल नियमित उडान गरिरहेका वायु सेवाका लागि अतिरिक्त उडानसमेत बन्द हुने छन् ।
प्राधिकरण स्रोतका अनुसार राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रियतर्फका १५ वटा उडान अवतरणलाई असर पर्ने देखिएको छ ।