दोलखा समाचारदाता
दोलखा, भदौ २३ गते । दोलखाको कालिञ्चोक गाउँपालिका–५, लापिलाङमा गत केही वर्षदेखि वर्षामा आएको पहिरोले धेरैको उठिबास बनाएको छ । हाम्रो कालै बनेर आएको पहिरोले गाउँ नै उठिबास बनाइसकेको पहिरोपीडित ८२ वर्षीय श्यामबहादुर श्रेष्ठले दुःखेसो पोख्नुभयो ।
वर्षा सुरु भएसँगै उहाँ सधैँ त्रासमा हुनुहुन्छ । बिहानदेखि साँझसम्म उज्यालो हुँदा गाउँको यताउता डुल्नुहुन्छ, टोलाउनुहुन्छ । पहिरो आसपास हेर्नु हुन्छ । नयाँ मान्छे आए उनीहरूका छेउ पुगेर पीडाका कुरा सुनाउनुहुन्छ । टोलाउन थालेको पाँच वर्ष पुग्यो ।
आफ्ना पुर्खा र आफूले दुःख गरेर जोडेको थातथलो पाँच वर्षअघिको पहिरोले नामोनिसान मेटिने गरी बगाएपछि उहाँ बेचैन हुनुभएको हो । पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन परिवारको उठिबास लागेको छ । रानीवनबाट झरेको पहिरो अहिले सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथली हुँदै सिलाथारेसम्मका बस्तीमा पुगिसकेको छ । लापिलाङमै जन्मे हुर्केका श्यामले यस्तो पहिरो जीवनमा पहिलो पटक देख्नुभएको हो । “बाँचे हरेक देख्न पाइन्छ भन्थे हो रहेछ,” उहाँले भन्नुभयो, “लापिलाङ क्षेत्रकै नम्बरी जग्गा थियो । सबैभन्दा सुरक्षित जस्तो लाग्थ्यो अहिले पहिरोले नामोनिसाना मेटायो ।”
दैनिक पहिरोनजिक पुगेर टोलाउने श्याम मात्रै होइन, ८३ वर्षीय सुमती थामीको दैनिकी पनि उस्तै छ । हरेक वर्ष असार लागेपछि रोपाइँ गरेका जग्गाको अहिले नामोनिसान मेटिने गरी बगाएपछि सुमती पहिरोको डिलमा पुगेर टोलाउनुहुन्छ । यिनै खेतबारीमा जन्मेर आफूले थाहा पाएदेखि काम गरेका मेलापात गरियो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “त्यही ठाउँ उजाड भएपछि आफ्ना दौँतरीको दैनिकी अब बाँचुञ्जेल सम्झना मात्रै भएका छन् ।” सुनखानी–साङ्बा जाने मुख्य सडक दुई वर्षअघि नै बगायो । बजार उठिसक्यो, सक्नेहरू गाउँ छाडेर अन्यत्र गए । नसक्ने यहीँ बसेका छन् । लापिलाङ पहिरो बागमती प्रदेशको मेलम्चीको बाढीपछिको सबैभन्दा ठुलो प्रकोप हो । पहिरोबाट भएको जग्गाजमिन र घर बगाएपछि एउटा सिङ्गो नेवार बस्ती विस्थापित भएको छ ।
बन्देथलीको एउटा थामी बस्ती अन्यत्र सारिएको छ । भएका जग्गाजमिन पहिरोले तानेपछि कुनै विकल्प नभएर पीडित विस्थापित भएका हुन् । वन क्षेत्रदेखि खोला किनारसम्मको भूगोलमा मात्रै झन्डै तीन किलोमिटर ठाडो जमिन कटान गरेकाले लापिलाङका आधा दर्जन बस्तीमा जोखिम सिर्जना भएको हो । बर्सात सुरु भएदेखि नसकिउञ्जेलसम्म जनप्रतिनिधि र कर्मचारीलाई पनि शान्ति छैन । कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटी बर्सात लागेसँगै लापिलाङमा के होला भन्ने हरेक वर्ष चिन्ताले सताउने बताउनुहुन्छ । पहिरोकै कारण आवतजावत नै अवरुद्ध हुन थालेपछि जनगुनासो जनप्रतिनिधिसामु बढेको छ ।
पहिरो रोकथामका लागि दुई वर्षअघि बागमती प्रदेश सरकारले दुई करोड रुपियाँ खर्च गर्यो । पनि यो लगानी पनि पहिरोमै बग्यो । त्यसको केही नामोनिसान छैन । माथिबाट पहिरो थप बढेकाले रोकथामका लागि लगाएको ग्याबिन वालसमेत पहिरोमै विलीन भए । पछिल्लो समय राम्रो ठाउँमा पनि ठुलठुला पहिरो जानु जलवायु परिवर्तनको असर भएको पारिस्थितिकी प्रणालीमा आधारित अनुकूलन आयोजनाले जनाएको छ ।
लापिलाङको पहिरो बढ्दै जानुमा भूकम्पले जमिन हल्लाउनु र अतिवृष्टिका कारण खोला बढेर आएर कटान गर्दै जानु नै मुख्य कारण हो । अतिवृष्टि भएपछि पानीको बेग एक्कासि बढेर आउँछ । त्यसले जमिन कटाउन गर्दै लैजान्छ भने ढुङ्गा, माटो, गेग्य्रान माथिबाट ल्याउँदै गएपछि खोलाको आकार पनि बढ्दै जाँदा पहिरोको आकार पनि बढेर गएको देखिन्छ ।
खोल्सामा भएका रुख, बुटा र घाँस नभएका कारण पनि भूक्षय बढेको देखिन्छ । पहिरो निरन्तर बढ्दै जानु विज्ञका लागि पनि अनुसन्धानको विषय बनेको छ । स्थानीय सरकारले पहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई विगतमा स्थानीयका घर भाडामा लिएर बस्ने व्यवस्था गरेको थियो । अहिले पनि करिब चार सय घर पहिरोबाट प्रभावित छन् । अहिले पनि त्यही विकल्पमा छन् ।
पहिरो निरन्तर बगिरहेकाले स्थानीय सरकार पनि यो आफ्नो काबुबाहिरको काम भन्दै माथिल्ला सरकार गुहार्दै आएको छ । गाउँपालिकाले जोखिमयुक्त घरमा स्थानीयलाई नबस्न उर्दी जारी गरेको छ । खोलामा तर्नै नसक्ने भएकाले काठे साँघुको व्यवस्था गरिएको छ ।
पहिरो रोकथामका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारले चासो राखेको छ । पहिरो रोकथाम र क्षति न्यूनीकरणका लागि डिभिजन वन कार्यालय दोलखामार्फत सञ्चालित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन परियोजनाको तर्फबाट गह्रा सुधार, वृक्षरोपण, खोलाको धार रोकथाम, आयआर्जनका कार्यक्रम र स्थानीयलाई सचेतीकरणलगायतका कार्यक्रम गर्दै आएको छ ।