• २७ पुस २०८१, शनिबार

कलिङ साहित्य महोत्सव सुरु

blog

काठमाडौँ, भदौ २३ गते । कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण शनिबार सुरु भएको छ । भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, प्राडा अभि सुवेदी, लेखक भुवन ढुङ्गानालगायतले ललितपुरको होटेल हिमालयमा दुई दिन चल्ने महोत्सवको उद्घाटन गर्नुभयो । 

नेपाल एसियाली कला, संस्कृति तथा साहित्यको प्रवेशद्वार थिम रहेको यस वर्षको महोत्सवको पहिलो छलफल यसै विषयबाट सुरु भयो । ‘दी गेटवेज टु एसियन आर्ट, कल्चर एन्ड लिटरेचर’ शीर्षकको पहिलो सत्रमा नेपालका लेखक समीक्षक सुवेदी तथा भारतीय लेखकद्वय उदय प्रकाश, रोहिनी राणासँग चन्द्रदेव भट्टले संवाद गर्नुभएको थियो । कवि भुवन ढुङ्गाना, अशेष मल्ल, मञ्जु काचुलीसहितका दुई दर्जनभन्दा बढी कविले कविता पनि सुनाउनुभएको थियो । ‘दी आर्ट अफ स्टोरी टेलिङ इन फिल्म’ शीर्षकमा सुजित बिडारी र वसन्त बस्नेत गफिनुभयो भने ‘इकोज अफ अ बोल्ड भ्वइस’ शीर्षकमा साहित्यकार बुद्धिसागरले आफ्नो यात्राबारे प्रस्तुति दिनुभयो । 

छैटौँ सत्रमा चलचित्रको विषयमा पनि छलफल भयो । ‘नायक र नायकत्व’ विषयमा कलाकारहरू दीपकराज गिरी, दयाहाङ राई र सुरक्षा पन्तबिच अन्तक्रिया भएको थियो । सो सत्र पत्रकार सुशील पौडेलले सञ्चालन गर्नुभएको थियो । यसै गरी साहित्यिक महोत्सवको आवश्यकताको विषयमा अमितकुमार शाह, प्रकाश थाम्सुहाङ र शैलेन्द्र अधिकारीले छलफल गर्नुभयो । यस सत्रमा राधिका अधिकारीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।

आइतबार अभिनेता राजेश हमालसँग रूपेश श्रेष्ठले कुराकानी गर्नुहुने छ । हमालले ‘लाइफ डेडिकेटेड टु नेपाली फिल्म’ मा आफ्नो अनुभव सुनाउनुहुने छ । सो कार्यक्रममा दक्षिण एसियाका तीन सयभन्दा बढी लेखक तथा विज्ञको उपस्थिति रहेको छ ।