• २७ पुस २०८१, शनिबार

‘जुद्ध शमशेरका नाममा...’ सार्वजनिक

blog

लेखनाथ, भदौ २३ गते । कवि चैतन्य अधिकारीको  दोस्रो कविता सञ्चयन ‘जुद्ध शमशेरका नाममा...’ बजारमा आएको छ । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा शनिबार आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, कवि तीर्थ श्रेष्ठलगायतले कृति सार्वजनिक गर्नुभएको हो ।  

पुस्तक शब्द मिडिया प्रालिले प्रकाशन गरेको हो । ६५ कविता सङ्गृहीत कृतिको मूल्य ३५० रुपियाँ रहेको छ । केमिकल इन्जिनियर अधिकारीको यसअघि ‘झरीको किनार’ कविता सङ्ग्रह प्रकाशित छ ।

साहित्यकार सरुभक्तले कृति गुणात्मक र दीर्घजीवी हुनु ठुलो कुरा भएको उल्लेख गर्नुभयो । उहाँले सङ्घीय गणतन्त्रको युगमा जुद्ध शमशेरको नाम राखेर कविता कृति निकाल्नु पृथक् भएको विचार राख्नुभयो । “राणा शासनको कुरा गर्दा विम्बका रूपमा सबैभन्दा धेरै जङ्गबहादुरको नाम आउँछ । जुद्धशमशेर जङ्गबहादुरपछिका शक्तिशाली राणा प्रधानमन्त्री थिए । मलाई लाग्छ, यो सङ्ग्रहले महत्वपूर्ण घटनाक्रमलाई जोड्दै समयको कथा भनेको छ,” सरुभक्तले भन्नुभयो । 

कवि तीर्थ श्रेष्ठले कविलाई बलियोसँग उभ्याउने कविता नै भएको तर्क गर्दै अन्य पक्ष तपसिलमा पर्ने जनाउनुभयो । कवि अधिकारीले कृतिका कविताबारे अब पाठकका कुरा सुन्नुपर्नेमा जोड दिँदै आफ्नो भन्नु कविता नै रहेको उल्लेख गर्नुभयो । सो समारोहमा कवि सरस्वती प्रतीक्षा र कौशलचन्द्र जिसीले चैतन्यका एक/एक कविता वाचन गर्नुभयो ।