• १९ असार २०८१, बुधबार

प्रशासनिक सेवा बन्द

blog

तम्घास, वैशाख २७ गते ।जिल्ला प्रशासन कार्यालय गुल्मीले स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता वितरणलगायतका सेवा बन्द रहने जनाएको छ । स्थानीय तहको निर्वाचनमा कर्मचारी खटिनुपर्ने भएकाले नागरिकता, नाबालक परिचयपत्र, पेन्सन तथा अन्य सिफारिसका कार्य २५ गतेदेखि ३० गतेसम्म बन्द रहने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै वैशाख ३१, जेठ १ र २ गते सार्वजनिक बिदा परेकाले ३ गतेदेखि मात्र स्थगित भएका सम्पूर्ण सेवा सुचारु हुने गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचन सम्पन्न गर्न जिल्लामा उचित सुरक्षाको प्रबन्ध मिलाइएको पौडेलले बताउनुभयो । गुल्मेली नागरिकलाई ढुक्क भएर निर्वाचनमा सहभागी हुन पनि उहाँले आग्रह गर्नुभयो ।

कर्मचारीलाई तालिम

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिने कर्मचारीलाई एकदिने तालिम प्रदान गरिएको छ । मतदान केन्द्रमा खटिने निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार र आइतबार गरी दुई चरणमा तालिम प्रदान गर्न लागिएको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । 

जिल्लामा २७९ मतदान केन्द्रका लागि २७९ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई चरणमा गरी तालिम प्रदान गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेले जानकारी दिनुभयो । उहाँहरूलाई तालिमपश्चात् निर्वाचन सामग्री प्रदान गरी निर्वाचन केन्द्रमा पठाइने निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।