• २७ पुस २०८१, शनिबार

व्यास नगरपालिकाद्धारा आपत्कालीन केन्द्र सञ्चालन

blog

व्यास नगरपालिकाले सञ्चालन गरेको केन्द्र। तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, भदौ २० गते। तनहुँको एक पालिकाले आपत्कालीन केन्द्र सञ्चालन गरेको छ । सञ्चालनमा ल्याउनेमा व्यास नगरपालिका रहेको छ।

नगरपालिकाका अनुसार केन्द्रमा एम्बुलेन्सका साथै दमकल, शव वाहन, डोजर, ब्याक लोडर, उद्धार तथा राहतका लागि आवश्यक सामग्रीका साथै ‘फायर सिलिन्डर’ लगायत सामग्री तयारी अवस्थामा राखिएको छ। 

आपत्कालीन अवस्थामा खोज, उद्धार र राहत, प्राथमिक उपचार र क्षतिको लेखाजोखा जस्ता अत्यावश्यक सेवा सुनिश्चितताको लागि केन्द्र सञ्चालन गरिएको व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो। 

नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘विपद्को जोखिमलाई न्यूनीकरण गर्दै प्राकृतिक तथा गैर प्राकृतिक प्रकोपले सर्वसाधारणको जनधन, सार्वजनिक तथा निजी सम्पत्तिमा हुन सक्ने क्षतिलाई मध्यनजर गरेर केन्द्र सञ्चालन गरेका हौँ।’

नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्व तयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री तयारी अवस्थामा राखेको नगर प्रमुख न्यौपानेले बताउनुभयो। 

सवारी दुर्घटना, आगलागी, बाढी पहिरो र अन्य विपद्बाट हुने क्षति कम गर्न नगरपालिकाले पूर्वतयारी गरेको उहाँले बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग सहकार्य गर्ने गरी आपत्कालीन केन्द्रको व्यवस्थापन गरिएको हो। आवश्यक साधन र कर्मचारीलाई दमौलीस्थित प्रमुख प्रशासकीय भवनमै व्यवस्थापन गरिएको नगरपालिकाले जनाएको छ।  

जुनसुकै ठाउँमा जुनसुकै बेला  विपद् आइलाग्न सक्ने हुँदा  त्यसबाट बच्नका लागि पूर्वतयारी गर्न केन्द्रको समान दुई कक्षमा छुट्टाछुट्टै राखिएको घर नक्सा तथा विपद् शाखाका प्रमुख इन्जिनियर अमृत केसीले जानकारी दिनुभयो।  

केन्द्रबाट २४ घण्टा सेवा प्रदान हुने गरी व्यवस्थापन गरिएको विपद्को लागि ०६५–५६३०३४ नम्बरको टेलिफोनको व्यवस्था गरिएको उहाँले बताउनुभयो। विगत केही वर्ष अघि नै स्थापना गरिएको उक्त केन्द्र स्रोत र साधनको अभावले गर्दा निष्क्रिय रूपमा रहेको थियो भने अबका दिनमा विपद् आइपर्दा तत्काल राहत र उद्धार गर्ने हेतुले उक्त केन्द्र पूर्ण र सक्रिय रूपमा सञ्चालन गर्न लागिएको केसीले बताउनुभयो। 

केसीका अनुसार  केन्द्रलाई प्रभावकारी बनाउन सात लाख रुपियाँको नयाँ सामग्री खरिद गरी थप गरिएको छ। बाढी पहिराले सडक अवरुद्ध हुँदा डोजर, बिरामीका लागि एम्बुलेन्स र आगलागी हुँदा दमकल आवश्यक पर्ने हुँदा नगरपालिकाले कर्मचारीसहित आवश्यक सामग्री तयारी अवस्थामा राखिएको छ। 

केन्द्र प्रभावकारी बनाउन भाद्र १९ गते नगर प्रमुख न्यौपानेको संयोजकत्वमा उपप्रमुख इन्दिरा दरै,  प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतका सुरक्षा निकायका प्रमुखुहरु, नगर विपद् व्यवस्थापन समितिका पदाधिकारीहरू र व्यास नगरपालिकाका कर्मचारीहरूको उपस्थितिमा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रको अनुगमन तथा अवलोकन गरिएको थियो। त्यसक्रममा आएका सुझावको आधारमा केन्द्र सञ्चालन गरिएको छ।