• ६ जेठ २०८१, आइतबार

फैसला कार्यान्वयन प्राथमिकतामा

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २७ गते  । कानुन दिवसको अवसरमा चार पूर्वप्रधानन्यायाधीशसहित १५ जनालाई सम्मान गरिएको छ । दिवसका अवसरमा सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई सम्मान गर्नुभएको हो । २०६६ चैत मसान्तसम्म अवकाश पाउने प्रधानन्यायाधीश र न्यायाधीशलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा चार पूर्वप्रधानन्यायाधीश र ११ पूर्वन्यायाधीश हुनुहुन्छ । 

सर्वोच्चले पूर्वप्रधानन्यायाधीशहरू हरिप्रसाद शर्मा, दिलीपकुमार पौडेल, मीनबहादुर रायमाझी र अनुपराज शर्मालाई सम्मान गरेको छ । हरिप्रसाद २०६१ माघ १ गतेदेखि २०६२ साउन १५ सम्म सर्वोच्चमा प्रधानन्यायाधीश हुनुहुन्थ्यो । 

यस्तै, पौडेल २०६२ साउनदेखि २०६४ भदौसम्म, रायमाझी २०६६ वैशाखदेखि ०६६ कै मङ्सिरसम्म प्रधानन्यायाधीश हुनुहुन्थ्यो । यस्तै, अनुपराजले २०६६ मङ्सिर २९ गतेदेखि सो वर्षको चैत १३ गतेसम्म अदालतको नेतृत्व गर्नुभएको थियो । 

यस्तै, सर्वोच्चले पूर्वन्यायाधीशहरू कृष्णजङ्ग रायमाझी, अरविन्दनाथ आचार्य, उदयराज उपाध्याय, टोपबहादुर सिंह र राजेन्द्रराज नाख्वालाई सम्मान गरेको छ । यस्तै, ज्ञाइन्द्रबहादुर श्रेष्ठ, शारदा श्रेष्ठ, हरिजङ्ग सिजापति, बद्रीप्रसाद बस्नेत, राजेन्द्रकुमार भण्डारी र पवनकुमार ओझा पनि सम्मानित हुनुभएको छ । ओझाले २०६४ पुसमा अस्थायी न्यायाधीशबाट अवकाश पाउनुभएको थियो । 

यसैबीच, दिवसका अवसरमा शुभकामना दिँदै कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार  कार्कीले न्यायपालिकाको विकृति विसङ्गति न्यूनीकरणका लागि अध्ययन समितिले दिएका सुझाव कार्यान्वयन हुने बताउनुभएको छ । कार्कीले स्वचालित पेसी प्रणाली लागूको तयारी थालिएको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । 

अदालतहरूमा बढेको पुराना मुद्दाको चाप कम गर्न प्रयत्न भइरहेको पनि कार्कीको सन्देशमा उल्लेख छ । फैसला कार्यान्वयनलाई पनि प्राथमिकतामा राखिएको उहाँले उल्लेख गर्नुभएको छ । क्षतिपूर्तिसहितको न्यायको संवैधानिक सुनिश्चितताका लागि न्यायपालिका प्रयासरत रहेको पनि कार्कीको सन्देशमा उल्लेख छ ।