• २६ पुस २०८१, शुक्रबार

हरितालिका (तिज) : पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक

blog

काठमाडौँ, भदौ २० गते । हरितालिका (तिज) पर्वका अवसरमा पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिइने भएको छ ।

हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सबै तयारी पूरा भएको जानकारी दिँदै पशुपति क्षेत्र विकास कोषले सो कुरा बताएको हो ।

कोषले तिजका अवसरमा शुक्रबार बिहान ६ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने जनाएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ । वृद्धवृद्धा एवम् बच्चा बोकेका महिलाका लागि लाइनबाट सहज रूपमा दर्शन गरेर फर्कने व्यवस्था मिलाइएको छ ।

कोषले लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवम् निःशुल्क पानी वितरणलगायत तयारी पूरा गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

तिजका अवसरमा चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिने गरी व्यवस्था मिलाइएको छ । यस वर्षको हरितालिका (तिज) पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्नेगरी तयारी भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

तिजका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खोल्ने गरी तयारी गरिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले बताउनुभयो । उहाँका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रूपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ ।

तिजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाउने गरी व्यवस्था मिलाइएको छ । त्यसका छ सय महिला प्रहरीको सूची कोषमा प्राप्त भएको पत्रकार सम्मेलनमा आज जानकारी गराइएको हो ।

पशुपतिनाथ मूल मन्दिर र त्यस परिसरको तस्बिर एवम् भिडियो खिचेमा मोबाइल जफत गरी सामग्री मेटाइने कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले जानकारी दिनुभयो । पशुपतिनाथको मूल मन्दिरभित्र प्राचीनकालदेखि तस्बिर एवम् भिडियो खिच्न मनाही गरिँदै आइएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले चलाएजसरी तस्बिर खिच्ने क्रम बढ्न थालेपछि पशुपति क्षेत्रमा समस्या हुने गरेको भन्दै कोषाध्यक्ष सुवेदीले यसको निगरानी कडाइका साथ गरिने बताउनुभयो । सनातनकालदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले कडाइ गर्न लागेको उहाँको भनाइ छ ।

कोषले विगत वर्षदेखि गर्भगृहको तस्बिर खिचेमा दुई हजार एक सय, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय र मूल मन्दिर परिसरको तस्बिर खिचेमा पाँच सय जरिवाना गर्न सुरु गरेको छ ।

पशुपतिनाथकाे मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे/नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेका कोषाध्यक्ष सुवेदीलेले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस