• ११ असोज २०८१, शुक्रबार

कर्मचारीबीच नमुना मतदान

blog

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई जिल्ला निर्वाचन कार्यालय उदयपुरले नमुना मतदानको अभ्यास गराउँदै । तस्बिर : भक्तिविलास पोखरेल

गाईघाट, वैशाख २७  गते । जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदान स्थलमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि नमुना मतदान कार्यसहितको तीन दिने तालिम सञ्चालन गरेको छ । शुक्रबारदेखि सञ्चालन गरिएको सो तालिमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय उदयपुरले सदरमुकाम गाईघाटस्थित बालमन्दिर माध्यमिक विद्यालयमा नमुना मतदानको अभ्यास गराएको छ । 

जिल्लाका आठवटा पालिकाभित्र निर्धारण गरिएका २५८ वटा मतदान केन्द्रमा निर्वाचन गराउन खटिने ५१६ जना कर्मचारी तथा अन्य सुरक्षाकर्मीलगायतलाई नमुना मतदानको अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले जानकारी दिनुभयो ।

नमुना मतदानसम्बन्धी अभ्यासमा मतदान गर्ने तरिका, केन्द्रको व्यवस्थापन, मतदानमा महिला, पुरुष, अशक्त र ज्येष्ठ नागरिकको लाम मिलाउने, मतदाता परिचयपत्र र मतदान अधिकृतको हस्ताक्षर जाँच गर्ने, आवश्यक परेको खण्डमा गोप्य स्थानमा पुगी मतदातालाई सहजीकरण गर्ने, अधिकारकर्मी, पर्यवेक्षक तथा पत्रकारलाई मतदान स्थलमा निश्चित स्थानसम्म मात्र प्रवेश दिनेजस्ता विषयको सीप सिकाइएको जिल्ला निर्वाचन अधिकारी कोइरालाले जानकारी दिनुभयो ।

उदयपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी देवराज भट्टराईका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका २५८ वटै मतदान केन्दका लागि एक हजार २९० जना कर्मचारीहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयले परिचालन गरेको छ । 

हरेक बुथमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना सहयोगीसहित पाँच जनाको टोली परिचालन गरिएको छ । निर्वाचनका दिन स्थानीयस्तरमै थप तीन जना स्वयंसेवक नियुक्त गरी कार्यसम्पन्न गर्न त्यसका लागि नियमअनुसारको रकम उपलब्ध गराइएको जनाइएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरीबाट आठवटै पालिकामा छुट्टाछुट्टै मोवाइल र गस्ती परिचालन गरिने छ ।नेपाली सेनाले मोवाइल गस्ती सबै स्थानमा गर्ने र निर्वाचन स्थलमा करिब आठ सय जनपद प्रहरी तथा एक हजार पाँच म्यादी प्रहरीसमेत परिचालन गरिने छ ।