• २७ पुस २०८१, शनिबार

आश्रित महिला तथा बालबालिकालाई तिजकाे दर

blog

तिजको दर खाने अवसरमा अनाथ बालबालिकालाई मिठो खाना पस्कदै पूर्वउपमेयर रत्ना कडायत । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), भदौ २० गते । सहर बजार तथा गाउँघरमा तिज रौनक छाएका बेला कैलालीको अत्तरियास्थित सेभ हाउसमा आश्रित महिला तथा बालबालिकाहरुले पनि रमाइलो गर्न पाएका छन् । 

आर्थिक अभावका कारण तिज विशेष कार्यक्रम गर्न नपाएको सेभ हाउसलाई गोदावरी नगरपालिकाका पूर्वउपमेयर रत्ना कडायतले कार्यक्रम आयोजना गर्न सहयोग गरेपछि आश्रममा आश्रित महिला तथा बालबालिका रमाउन पाएका हुन् ।

तिजको दर किन र केका लागि खाइन्छ भन्ने ज्ञान नभए पनि विगत ५ वर्षदेखि सेभ हाउसमा आश्रित बालिका खुसी कामीले सेभ हाउसमा तिज आयोजना हुँदा निकै हर्ष लागेको बताउनुभयो । "गत वर्ष पनि तीजको कार्यक्रम गरिएको थियो । यो वर्षचाहिँ कार्यक्रम हुँदैन कि भन्ने लागेको थियो," उहाँले भन्नुभयो, "अहिले पनि कार्यक्रम मनाउन पायौं, निकै खुसी लाग्यो ।" 

कञ्चनपुरको पुनर्वासकी खुसी भाइसँगै सेभ हाउसमा बस्दै आउनुभएको छ । उहाँले बुबा जेल जीवन बिताइरहेको र आमा नभएको बताउनुभयो । सेभ हाउसमा आश्रित अर्को निशा धामीले पनि तिज विशेष कार्यक्रम गरिँदा निकै खुशी लागेको बताउनुभयो । छरछिमेकीहरु तिजको रौनकमा रहेका बेला एक छाक भए पनि मिठो खानेकुरा खाएर रमाइलो गर्न पाउँदा खुशी लागेको उहाँले बताउनुभयो । 

६६ जना महिला तथा बालबालिका आश्रित रहेको सेभ हाउसमा तिज विशेष कार्यक्रम आयोजना गर्न पुग्नुभएकी पूर्व उपमेयर रत्ना कडायतले देशभरि तीजको रमाइलो भइरहेका बेला सेभ हाउसमा पनि रमाइलो गर्नुपर्छ भन्ने लागेर आफूले कार्यक्रम आयोजना गरेको बताउनुभयो । आफ्नो पारिवारिक सल्लाहअनुसार तीज मनाउने क्रममा अनाथ बालबालिकासँग एक छाक खाना र तीजको नाचगान गरेर रमाइलो मनाइएको उहाँको भनाइ छ ।

"अहिले ठुलाठुला होटलमा तिजका दर खाने कार्यक्रम भइरहेका तर यस्ता कार्यक्रमले आश्रित बालबालिका महिला बस्ने सेभ हाउस, पछाडि परेका, विपन्न समुदायका व्यक्तिलाई छुँदैन", उहाँले भन्नुभयो, "यस्ता ठाउँमा पनि सानो भए पनि कार्यक्रम आयोजना गरिँदिँदा बालबालिका रमाउन पाउन्छन् ।" तिज पर्वलाई खर्चिलाे भड्किलो भन्दा पनि रमाइलो गरेर खुशी साथ मनाउनुपर्ने उहाँको भनाइ छ । 

महिला तथा बालबालिका सेभ हाउसका अध्यक्ष जानकी मलासीले तिजको कार्यक्रमले बालबालिका निकै रमाउन पाएको बताउनुभयो । "सेभ हाउस विभिन्न व्यक्तिको सहयोगमा चलिरहेको छ । तर यस्ता चाडपर्वको समयमा कसैको पनि यहाँ ध्यानाकर्षण हुँदैन," उहाँले भन्नुभयो, "पूर्व उपमेयरले के सोच्नुभो उहाँ आफै यहाँ आएर तिज मनाउँछु भन्नुभयो । हामी निकै खुशी छौं । आश्रित बालबालिका महिला पनि निकै खुशी भएका छन् ।" 

आर्थिक समस्या भएका कारण यस वर्ष तिज विशेष कार्यक्रम गर्न नपाएको बेला कार्यक्रम नै आयोजना गरिदिएपछि निकै खुशी लागेको भन्दै उहाँले भन्नुभयो, "गत वर्ष डा. नरबहादुर मौनीलगायतको टिमले तीज विशेष कार्यक्रम आयोजना गरिदिनुभयो । तर यस वर्ष कार्यक्रम आयोजना गर्ने कुनै टुङ्गो थिएन, एक्कासि कार्यक्रमको साइत जुरेपछि निकै खुशी लागेको छ ।"

विभिन्न पीडा र समस्यामा परेर महिला तथा बालबालिकाहरु सेभ हाउसमा बस्न आउने भएकाले यस्ता महिला तथा बालबालिकालाई चाडपर्वमा रमाइलो गर्न पाउँदा पीडा बिर्साउन मद्दत पुग्ने देखिन्छ ।