• ५ जेठ २०८१, शनिबार

भ्रष्टाचार विकासको बाधक : डा.भण्डारी

blog

गुल्मी जिल्लाको हर्दिनेटास्थित मालिकामा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै काँग्रेसका नेता डा.चन्द्र भण्डारी । तस्बिर : गोरखापत्र

गुल्मी, वैशाख २६ गते । नेपाली काँग्रेसका नेता तथा संविधान सभा सदस्य डा.चन्द्र भण्डारीले भ्रष्टाचार विकासको बाधक भएको बताउनुभएको छ ।कतिपय स्थानीय तहमा भ्रष्टाचार र वेथिति मौलाएको भन्दै उहाँले भ्रष्टाचार मुलुकको विकासको सबै ठूलो चुनौती बनेको छ भन्नुभयो ।

दुईतिहाई जनमत पाएको पार्टीले सरकार चलाउन असफल हुँदा नेपाली काँग्रेसको नेतृत्व सरकार बन्ने अवस्था भएको हो, उहाँले भन्नुभयो । गुल्मी जिल्लाको हर्दिनेटास्थित मालिकामा आयोजित चुनावी सभालाई सोमबार सम्बोधन गर्दै नेता भण्डारीले मुलुकको वृहत्तर हितका लागि स्थानीय सरकारलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो ।

दुर्गम क्षेत्रका समुदाय पछाडि परेको महसुस गरी स्थानीय सरकारको परिकल्पना गरिएको भन्दै नेताले भण्डारी सिंहदरबार अधिकार गाउँ गाउँमा पुर्‍याइएको चर्चा गर्नुभयो ।नेपाल स्रोत साधनले सम्पन्न मुलुक भए पनि राजनीति अस्थिरताका कारण मुलुकका उर्जावान युवा खाडी मुलुकको रोजगारीमा जान बाध्य हुनुपरेको बताउनुभयो । उहाँले महँगो स्वास्थ्य उपचारका कारण प्रत्येक वर्ष १.६ प्रतिशत जनसङ्ख्या गरिब बन्ने अवस्था रहेको बताउनुभयो।

गुल्मी जिल्लामा शिक्षा स्वास्थ्य तथा भौतिक पूर्वाधार विकास अन्य जिल्लाका लागि उदाहरण बन्ने अवस्था रहेको छ भन्दै उहाँले गुल्मी  जिल्लालाई नमुना बनाउन  आफूले  सबै प्रयास गरिने बताउनुभयो ।

यसैगरी, संविधान सभा सदस्य कमला विकले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने परिकल्पना गरेको भए पनि लक्षित समुदाय तथा पिछडिएको वर्गसम्म त्यसको अनुभूति भईनसकेको बताउनुभयो । नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली, नेपाली कांग्रेस गुल्मी का पूर्व सभापति राजेन्द्र पन्तलगायतले आफ्नो धारणा व्यक्त गर्नुभयो ।