• १९ असार २०८१, बुधबार

‘मोतिपुर औद्योगिक क्षेत्रका स्थानीयलाई विस्थापन गरिँदैन’

blog

मुक्तेश्वर शिवालय मन्दिरमा वैदिक परम्पराअनुसार पूजाअर्चनाका क्रममा गृहमन्त्री बालकृष्ण खाँण । तस्बिर : गोरखापत्र

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख २६ गते । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औद्योगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ । रुपन्देहीको मोतिपुरमा औद्योगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

मोतिपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो –‘यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गरिदैन, सबैलाइ ब्यबस्थापन गरिनेछ, जनताको सुरक्षामा सरकार प्रतिबद्ध र जिम्मेवार छ ।’ उहाँले जनतालाई पूर्ण भरोसा र विश्वास गरेरसरकार अघि बढ्ने बताउँदै सबैको सकारात्कम सहयोगको अपेक्षा गर्नुभयो । गृहमन्त्री खांँणले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र धाँधलीरहित सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

सिमित स्रोत र साधनको उपयोग गरेर निर्वाचनको सुरक्षा प्रबन्धबारे सुरक्षा निकाय र स्थानीय प्रशासनले गरेको तयारी प्रशंसायोग्य रहेको उहाँको भनाइ छ । गृहमन्त्री खाँणले निर्वाचनका बेला स्थानीय प्रशासन र सुरक्षा निकायले आगामी दिनमा पनि यो भन्दा पनि राम्रो व्यवस्थापन गर्नेमा आफु आशावादी रहेको बताउनुभयो ।

त्यस्तै मन्त्री खाँणले बुटवल–१७ मा रहेको मुक्तेश्वर शिवालय मन्दिरमा वैदिक परम्पराअनुसार पूजाअर्चना समेत गर्नुभएको छ । खाँणले देश विकासका लागि सबै जातजाति, धर्म, संस्कृतिभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै जात, जाति, धर्म, संस्कृतिको आफ्नै विशेषखाले परम्परा रहेको उल्लेख गर्दै सबै धर्मावलम्बीले एक–अर्काको सम्मान गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा गृहमन्त्रीसहित काँग्रेसका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा चौधरी, महासमिति सदस्य बिमल ढकाल, प्रदेस प्रतिनिधी भिमप्रसाद न्यौपाने, वडा नम्वर १७ का पार्टी सभापति बाबुराम घिमिरे, सचिव कमल गुरुङ, वडा नम्बर १७ का अध्यक्ष पदका उम्मेदवार ज्ञानबहादुर रेस्मी, वडा नम्बर १८ का अध्यक्ष पदका उम्मेदवार गोलेप्रसाद चौधरी, १९ का अध्यक्ष पदका उम्मेदवार मिनप्रसाद श्रेष्ठ लगायतले वैदिक परम्पराअनुसार पूजा गर्दै विश्वशान्ति, देश तथा नगरवासीको सुख र समृद्धिको कामना गर्नुभयो ।