• १६ असार २०८१, आइतबार

मतपत्र जोगाउन कार्यकतालाई ओलीको निर्देशन

blog

रमेश पौडेल
पोखरा, वैशाख २६ गते ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतगणना सुरक्षाप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।

पोखरामा सोमबार आयोजित एमालेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले गठबन्धनका दलले मतपत्र च्यात्न सक्ने आरोप लगाउँदै मतगणनाको बेला कार्यकर्तालाई आँखा नचिम्लन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘गठबन्धनले मतले जित्ने कुनै सम्भावना छैन । यसकारण तपाईंहरु मतगणनाको बेलामा आँखा झिमिक्क पनि नपार्नुस् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म सुत्न हुन्न ।’’ त्यस्तै, उहाँले मतपत्रको सुरक्षा जनताले नै गर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीको जितपछि युवावर्गलाई शिक्षा, तालिम र रोजगारको अवसर दिने आश्वासन दिनुभयो ।

पोखरासँग भावनात्मक सम्बन्ध रहेको बताउनुहुँदै अध्यक्ष ओलीले ४० वर्षअघि पोखराको जेलमा तीन वर्ष बिताएको र यहाँको भूगोल र सम्भावनाको बारेमा आफूलाई ज्ञान भएको स्पष्ट पार्नुभयो ।

सभामा एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले देशभर एमालेको लहर आएको दाबी गर्नुभयो ।