• २७ पुस २०८१, शनिबार

पुल छैन, पढाइ पनि छैन

blog

पुमाखोलामा फसेको मालवाहक ट्याक्टर । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, भदौ १८ गते । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१ र २ को सिमानामा रहेको पुमाखोलामा पुल नहुँदा यहाँका सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । बर्खा लागेपछि यहाँका बालबालिका खोलाकै डरले नियमित विद्यालय जान पाउँदैनन् । 

हिउँदमा खोला तरेर आवतजावत हुने अवस्था भए पनि वर्षायाममा पानीको मात्रा बढ्दा आवतजावतमा समस्या हुने गरेको छ । खोलामा रहेको कलभर्टभन्दा माथिबाट खोला बग्न थालेपछि यातायातका साधनसमेत अवरुद्ध हुने गरेका छन् । बढेको खोलामा तर्न खोज्दा मान्छे तथा गाडी बगाउने गरेको स्थानीयको भनाइ छ ।

बाँफीकोट गाउँपालिका–२ निवासी सीता दाहालले हरेक वर्ष पुमाखोलाले दुःख दिने गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले मान्छे बगाउँछ, कहिले गाडी बगाउँछ । बालबच्चा बर्खा लागेपछि विद्यालय जान सक्दैनन् । अभिभावकले पनि साना बालबालिकालाई एक्लै विद्यालय पठाउन सक्दैनन् ।” 

बाँफीकोट गाउँपालिका–१ की निर्मला नाथले बालबालिकाको पढाइ बर्खाभरि नियमित नहुने गरेको बताउनुभयो । बाँफीकोट गाउँपालिका–१ का बालकृष्ण गौतमले गत वर्ष एक जना मान्छे बगाएको र यस पटक तीन÷चार पटक मालवाहक गाडी फसेर क्षति बेहोर्नु परेको जानकारी दिनुभयो । उहाँले खोलाकै कारण यहाँका सर्वसाधारणले जिल्ला सदरमुकाम खलङ्गा, गाउँपालिकाको केन्द्र, छिनेखेतमा रहेको बजार, रुकुमपूर्वको रुकुमकोट आउजाउमा सास्ती पाइरहेको उल्लेख गर्नुभयो । 

कर्णाली प्रदेश सरकारले चालु वर्षमा उक्त खोलामा पक्की पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । बाँफीकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर खड्काले खोलामा पुल नहुँदा ठुलो समस्या झेल्नु परेको जनाउनुभयो । खोलामा पुल नहुँदा वडा नं. १ बाट वडा नं. २ मा रहेको जनकल्याण माविमा पढ्न जाने र वडा नं. २ बाट वडा नं. १ मा रहेको जनभावना आधारभूत विद्यालयमा पढ्न जाने बालबालिकालाई समस्या भइरहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । 

यस खोलामा पुल बनेमा रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१ र २ का साथै रुकुमपूर्वको ३ र ४ का स्थानीयलाई आउजाउमा सहज हुने स्थानीयको विश्वास रहेको छ ।