• १७ भदौ २०८१, सोमबार

बाजुराको अर्गानिक स्याउ बजारमा

blog

स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की
बाजुरा, भदौ १७ गते ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन गरिएको अर्गानिक स्याउ यती बेला बिक्रीका लागि बजारमा लगिएको छ । यहाँका विभिन्न ठाउँमा उत्पादन गरिएको स्याउ ठेकेदारले बारीमै पुगेर कर्णाली करिडोरको बाटो हुँदै कैलालीको लम्की लगायतका विभिन्न बजारमा बिक्रीका लागि लगिएको हो ।

कोल्टी–मार्तडी सडक सुचारु होला भनेर बारिमै राखिएको अर्गानिक स्याउँ यती बेला त्यो सडक सुचारु नभएपछि ठेकेदारले कर्णाली केरिडोरको बाटो हुँदै जिल्लाभन्दा बाहिरका विभिन्न बजारमा लिएको स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ किसान मेघराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँ उत्पादन गरिएको स्याउँले कतै बजार नपाउँने हुँदा टिपेर गाई गोरुलाई खुवाउँने गरेका थियौं । पछिल्लो समय गाउँपालिकाको पहलमा उत्पादन गरेको स्याउँले बजार पाउँन थालेको छ ।”

गाउँमा उत्पादन गरेको स्याउले समयमै बजार पाउँन थालेपछि अहिले स्याउ बिक्री गरेर घरखर्च चलाउन निकै सहज भएको भट्टले बताउनुभयो ।

गत वर्ष बाजुरामा उत्पादन गरिएको स्याउ अछाम, डोटी, डडेलधुरा, कैलाली हुँदै काठमाडौँमा बिक्रीका लागि लगिएको थियो । यो वर्ष मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध बन्दै गएकाले स्याउ कर्णाली करिडोरबाट कैलाली, नेपालगञ्ज र काठमाडौँ लगिएको छ ।

यो वर्षमा स्वामिकार्तिक खापर गाउँपालिकामा झण्डै एक करोडभन्दा बढिको स्याउ उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यहाँ स्थानीय, डेलिसिएस, रोयल, रेडडेलिसियस, गोल्डेन, गाला, फुजी लगायतको स्याउ उत्पादन हुने गरेको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो ।


उहाँले भन्नुभयो, “बाजुराको सबैभन्दा बढि स्याउ उत्पादन हुने पालिका नै स्वामिकार्तिक खापर गाउँपालिका हो । यहाँका जेवाले, सैडेओ खुनका, लोकी र जोरुमा  स्याउ राम्रो उत्पादन भएको छ ।”

अहिले दुई ट्रक स्याउ कैलालीको लम्की बजारमा पुगेर धमाधम बिक्री भइरहेको छ । अझै ३० ट्रक स्याउ जिल्लाभन्दा बाहिर लिएर बिक्री गर्ने तयारी भइरहेको कृषि शाखा प्रमुख बिनोद शाहीले बताउनुभयो ।

बाजुराको हिमाली, जगनाथ, बुढीनन्दा, गौमुल र खप्तड छेडेदहलगायतका स्थानीय तहमा पछिल्लो समयमा स्याउ उत्पादन हुन्छ । सबै भन्दाबढी स्वामिकार्तिक खापर गाउँपालिकामा स्याउ उत्पादन हुन्छ ।

यहाँ स्याउ उत्पादनका लागि राम्रो उपयुक्त बाटो भएकाले यहाँका अधिकांश किसानलाई थप स्याउ खेतीमा लाग्न उत्प्रेरित गर्दै आएको स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला यहाँ बढि स्थानीय जातको स्याउ उत्पादन हुन्थ्यो । अहिले गोल्डेन डेलिसिएस लगायतका बढि मूल्य पर्ने तथा स्वास्थ्यलाई पोषिलो हुने स्याउ समेत उत्पादन हुने गरेको छ । अन्य ठाउँमा विषादी प्रयोग गरेर स्याउ उत्पादन गरिएको हुन्छ । हाम्रो यहाँ गाई गोरु र भेडाको गोबरको मल प्रयोग गरिएर स्याउ उत्पादन गरेको हुन्छ ।”

गत वर्षमा यहाँका स्याउ किसानलाई स्याउ बिक्रीमा ढुवानी अनुदान सहयोग गरेका थियौ । यो वर्ष हामीले स्याउ उत्पादन हुने सबै वडामा सेल स्टोर निर्माणमा सहगोग गरेकोले त्यो अनुदान दिन सकिन ।

यती बेला ठेकेदार आफै स्याउँ बारीमै आएर एक किलोको चालिस रुपियाँका दरलेस्याउ लिने गरेकाले पनि किसानलाई स्याउ बिक्रीमा निकै सहज भएको अध्यक्ष रोकायाले बताउनुभयो ।