• १७ भदौ २०८१, सोमबार

अपायकमा बनेको विकास भौतिक संरचना प्रयोगविहीन

blog

ताला लगाइएको नगर कृषि हाटबजार ।

घोडाघोडी समाचारदाता

घोडाघोडी (कैलाली), भदौ १७ गते । कृषि हाटबजारका लागि तीन वर्षअघि निर्माण भएका संरचना अझै पनि प्रयोगमा आउन सकेका छैनन् ।जिल्लाको घोडाघोडी नगरपालिका–१, सुखडनजिक बनेको कृषि बजारका लागि बनाइएका भौतिक संरचना स्थानीयको पायक पर्ने ठाउँमा नभएपछि ती संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । 

प्रदेश सरकारको सहयोगमा करिब ६५ लाख रुपियाँमा घोडाघोडी नगर कृषि बजारका भौतिक संरचना निर्माण गरिएको थियो । करिब पाँच कट्ठा क्षेत्रफलमा ती भौतिक संरचना तीन वर्षदेखि ताला लगाएर राखिएको छ । राज्यको लगानी उपयोगमा आउन नसकेकामा स्थानीयवासीले दुःखेसो पोखेका छन् । स्थानीय शान्ति चौधरीले भन्नुभयो, “पायक पर्ने ठाउँमा ती संरचना बनेको भए हुन्थ्यो तर त्यस्तो नभएकाले हामी खुला ठाउँमा घामपानी सहेर आफ्नो उत्पादन बेच्न बाध्य छौँ ।” 

सुदूरपश्चिम प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६/७७ मा कृषि ज्ञान केन्द्रमार्फत आएको सहयोग अनुदानमा स्थानीय रूपमा निर्माण समिति गठन गरी घोडाघोडी नगर कृषि बजारका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको कृषि बजार निर्माण समितिका सचिव होम तामाङ बताउनुहुन्छ । हाल हाटबजार लाग्ने गरेको स्थान हेलिप्याडनजिकै खानेपानी र घोडाघोडी क्याम्पस जोडिएको जग्गामा निर्माण गर्ने भनिए पनि जग्गा विवादका कारण निर्माण कार्य अन्यत्र सार्नु परेको थियो ।

स्थानीय समाजसेवी रणबहादुर बोहोराले जग्गा उपलब्ध गराएपछि बजारदेखि टाढा सो भौतिक संरचना निर्माण गरिएको हो । हाल सो ठाउँमा कृषि बजार प्रयोगमा ल्याउन नसक्नु स्थानीय सरकारको कमजोरी रहेको स्थानीयको आरोप छ । 

स्थानीय हरिलाल सापकोटाले भन्नुभयो, “बनेको भौतिक संरचनालाई गोदामका रूपमा प्रयोग गरेर किसानका उत्पादनलाई भण्डार गर्न प्रयोगमा ल्याउनतर्फ नगरपालिकाले पहल गर्नु पथ्र्यो ।” 

ठुलो लगानीमा कृषि बजार बने पनि सो क्षेत्र सुखड बजारदेखि डेढ किलोमिटर टाढा रहेको छ । कृषि उपज सङ्कलन तथा बिक्रीका लागि पायक पर्ने नभए पनि अन्य कार्यका लागि प्रयोगमा ल्याउन नसक्नु नगरपालिकाको कमजोरी रहेको घोडाघोडी नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताउनुभयो । कृषि बजारको व्यवस्थापन नहुँदा किसानले उत्पादन गरेका वस्तु टोकरीमा बोकेर डुलाउँदै हिँड्नुपर्ने बाध्यता थियो । सुखड बजारनजिक हेलिप्याडको चौरमा हाटबजार राख्ने व्यवस्था गरेपछि हप्तामा दुई दिन किसानले आफूले उत्पादन गरेका कृषि उपज बेच्न सजिलो भएको कुरा गौतमले बताउनुभयो । 

आव २०७५/७६ मा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट ५० लाख अनुदान र आव २०७६/७७ मा कृषि ज्ञान केन्द्र कैलालीबाट १५ लाख अनुदानमा करिब पाँच कट्ठा जमिनमा पर्खालसहित कृषि बजारका लागि भौतिक संरचना बनेको छ । प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले प्रदेश सरकारको अनुदान सहयोगमा बनेको कृषि हाटबजार तीन महिनाभित्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

निर्माण सम्पन्न भइसकेको लामो समयसम्म पनि सञ्चालनमा नआएकाले हाटबजारको अनुगमनपछि समितिले सो निर्देशन दिएको हो । हाटबजार सञ्चालनका लागि स्थानीय तहले चासो नदेखाउनु र अनुदान वितरण गर्ने निकायबाट समेत अनुगमन नहुँदा राज्यको लगानी सदुपयोग नभएको समितिका सदस्य सन्तोष शर्मा थापाले बताउनुभयो ।