• १७ भदौ २०८१, सोमबार

एउटै घरमा अन्ठाउन्न पहिरोपीडितको बास

blog

रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, लेखर्कका पहिरोपीडित ।

रामेछाप समाचारदाता

रामेछाप, भदौ १७ गते  । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, लेखर्क पहिरोपीडित अहिले विभिन्न व्यक्तिको घरमा शरण लिएर बसिरहेका छन् । साउन ८ गते राति अविरल वर्षापछि आएको पहिरोले दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुर लेखर्कका सबै परिवार विस्थापित भएका छन् । पहिरोमा पुरिएका सात जनाको शव निकालिएको छ भने एक जनाको खुट्टाको पैतालाको भाग मात्रै भेटिएको छ । दुई जना अझै बेपत्ता नै छन् । 

६३ घर रहेको यो बस्तीका पाँच घर पहिरोले बगाएको छ भने अन्य ५८ वटा घर ठाडै छन् तर ठाडै रहेका घर पनि पहिरोको उच्च जोखिममा परेपछि साउन ९ बाट सिङ्गो लेखर्कवासी विस्थापित भएका छन् । यसरी विस्थापित परिवारहरू अहिले गाउँपालिकाको केन्द्र टोकरपुरमा छन् । 

पहिरोपीडित परिवार केही दिन विद्यालय तथा गाउँपालिकाकै खाली कोठामा बसे । अहिले गाउँपालिकाले टोकरपुरस्थित खाली रहेका स्थानीयका घरमा पीडितलाई अस्थायी रूपमा बसोबासको व्यवस्था गरेको छ । 

अहिले गाउँपालिकानजिकै खाली रहेका स्थानीयको घरमा गाउँपालिकाले बसोबासको व्यवस्था गरेको पीडित सन्तबहादुर पहरीले बताउनुभयो । अहिले एउटै घरमा धेरै मान्छे कोचिएर बस्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अहिले गाउँपालिकानजिकै खाली रहेका स्थानीयको घरमा गाउँपालिकाले बस्ने व्यवस्था गरिदिएको छ । खाद्यान्न, ओढ्ने, ओछ्याउने कपडा, खानेपानीलगायतको व्यवस्था गरिदिएको छ तर बस्न भने अलि समस्या नै छ । अहिले हामी एउटै घरमा ६८ जनासम्म बसेका छौँ । आफ्नै घरमा जस्तो त कहाँ हुन्छ र ! जे भए पनि गाउँपालिकाले सकेसम्म महिला, बालबालिका, वृद्धवृद्धा, सुत्केरीलाई छट्टै बस्ने व्यवस्था गरिदिएको छ ।” 

गाउँपालिकाले अहिले आफूहरूका लागि अस्थायी टहरा निर्माण प्रव्रिmया सुरु गरेको अर्का पीडित कमलबहादुर पहरीले बताउनुभयो । शुक्रबार बसेको गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समितिको बैठकले गाउँपालिका–३, छहराबारीमा रहेको खेलकुद मैदानमा ५० वटा अस्थायी टहरा निर्माण गर्ने निर्णय गरेको भन्ने सुन्नमा आएको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “गाउँपालिकाले आफ्नै जग्गा छहराबारी भन्ने ठाउँमा रहेको खेलकुद मैदानमा अस्थायी टहरा बनाउने रे ! अस्थायी टहरा निर्माणका लागि रुख काट्ने काम शनिबारबाटै सुरु भएको छ । अस्थायी टहरामा बस्ने वातावरण बनेपछि स्थायी बसोबासको व्यवस्था पनि हुन्छ भन्ने गाउँपालिकाबाट आएको छ । हामीलाई त चाँडै बस्ती सारेर स्थायी बसोबासको व्यवस्था गरिदिए हुन्थ्यो ।”

अस्थायी टहरा बनाउँदै गाउँपालिका 

गाउँपालिकाले आफ्नै जग्गामा ५० वटा अस्थायी टहरा निर्माणको काम सुरु गरेको छ । गाउँपालिकास्तरीय विपत् व्यवस्थापन समितिको शुव्रmबार बसेको बैठकले वडा नं. ३ स्थित छहराबारीमा रहेको खेलकुद मैदानमा अस्थायी टहरा बनाउने निर्णय गरेको गाउँपालिकाका श्रम संयोजक एवं सूचना अधिकारी भोला पाठकले बताउनुभयो । छहराबारीमा रहेको खेलकुद मैदान गाउँपालिकाको आफ्नै जग्गा हो भन्दै उहाँले भन्नुभयो, “छहराबारीमा अहिले तत्काललाई ५० वटा अस्थायी टहरा बनाउने निर्णय भएको छ । टहरा कत्रो बनाउने भन्नेबारे परिवार सङ्ख्या र आवश्यकताका आधारमा निर्माण गर्ने कुरा भएको छ । टहरा निर्माणका लागि एउटा समिति पनि बनाइएको छ ।” अस्थायी टहरा निर्माणका लागि दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरका वडाध्यक्ष सन्तलाल थापामगरको संयोजकत्वमा प्राविधिकसहितको अस्थायी टहरा निर्माण समिति बनाइएको र उक्त समितिले कामसमेत सुरु गरिसकेको उहाँले बताउनुभयो । 

पहिलोले लेखर्कको पहरी बस्ती बगाउँदा ११ जना पहिरोमा पुरिएकामध्ये एक जनाको जीवितै उद्धार गरिएको थियो ।