• १८ भदौ २०८१, मङ्गलबार

बाटुलेचौरमा पर्यटकीय पूर्वाधार निर्माण

blog

पर्वत, भदौ १७  गते । यहाँको कुश्मा नगरपालिका–१२ ठुलीपोखरीस्थित धार्मिक एवं पर्यटकीयस्थल बाटुलेचौरमा रु एक करोड ५० लाखका पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । 

पछिल्लो समय भक्तजन र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको बाटुलेचौरमा गत आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट उक्त बजेटमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका हुन् । कालिका भगवती मन्दिर र शिवको विशाल मूर्तिसमेत रहेको बाटुलेचौर आउने भक्तजन र पर्यटकको सहजताका साथै बाटुलेचौरलाई आकर्षक बनाउन पूर्वाधार निर्माण गरिएको बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्थाका अध्यक्ष गणेश पौडेलले जानकारी दिनुभयो । 

अध्यक्ष पौडेलका अनुसार मन्दिर परिसरमा एक सय आठ भन्दा बढी बर पिपलका चौतारी समुदायको साझेदारीमा निर्माण गरिएको छ । बर पिपल रोप्न चाहने हरेक व्यक्ति वा परिवारले रु १० हजार बराबरका चौतारी निर्माण गरेका छन् । यस्ता चौतारी एक सय २४ वटा रहेको पौडेलले बताउनुभयो । विशेष गरी शनि त्रयोदशीमा एक सय आठ पिपल चौतारी घुम्न र पूजा गर्न यहाँ दर्शनार्थी आउने गर्छन् । 

त्यसैगरी मन्दिर परिसरमै सत्तल निर्माण गरिएको छ । मन्दिर परिसरमा घुम्न र दर्शन गर्न आउने ज्येष्ठ नागरिकका लागि ज्येष्ठ नागरिक दिवा केन्द्र निर्माण गरिएको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयमार्फत रु ९९ लाख  लागतमा भवन निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु २५ लाख, कुश्मा नगरपालिकाबाट रु १० लाख विनियोजन गरिएको थियो । चालु आवमा पनि रु २० लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । 

यसैगरी भगवान् शिवको अग्लो मुर्ति निर्माण गरिएको छ । बाटुलेचौर मन्दिर प्रवेश गर्ने पूर्व र पश्चिम दुवैतर्फ आकर्षक प्रवेशद्वार निर्माण गरिएका छन् । मन्दिर परिसर, पिपल चौतारी हुँदै प्रवेशद्धारसम्म आकर्षक पदमार्ग र मञ्च निर्माण गरिएको छ । 

सदरमुकाम कुश्माबजारबाट १२ किलोमिटरको दुरीमा रहेको यस मन्दिरमा पछिल्ला केही वर्षयता दर्शनार्थी मात्र नभई पर्यटक र विभिन्न भिडियो तथा वृत्तचित्र छायाङ्कन गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको छ । यहाँ आउने पर्यटक र भक्तजनको सुविधाका लागि घरवास, होटल विस्तार भएका छन् । बाटुलेचौर पछिल्लो समय धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकसित हुँदै गएको स्थानीय युगनाथ पौडेलले बताउनुभयो । 

राजा दशरथले आफ्ना भान्जा श्रवण कुमारको हत्या गरेको पाप मोचन गर्न यहाँ आइ अश्वमेध यज्ञ गरेको र सोही समयदेखि सो स्थानमा पूजाआजा तथा मन्दिर निर्माण गरिएको किंवदन्ती छ । भृगु ऋषिको तपस्यास्थल मानिने सो ठाउँको सम्पदा संरक्षण नहुँदा चोरी भएका थिए । संरक्षण अभावमा हालको मन्दिरका विभिन्न पुरातात्विक समान विभिन्न समयमा हराएका छन् । स्थानीयवासीका अनुसार मन्दिर रहेको मुख्य ठाउँमा दुई सय वर्ष पुराना संरचना भएपनि विसं १९७० मा स्थानीय पण्डित कृतिनाथ उपाध्यायले मन्दिर निर्माण गरेपछि नियमित पूजा हुँदै आएको हो । 

यहाँ विशेषगरी दसैँ, चैत्राष्टमी, बालाचतुर्दशी, शिवरात्रीलगायतका चाडपर्वमा भव्य मेला लाग्ने गर्दछ । यहाँ मेला भर्न पर्वतको कुश्मा, फलेवास नगरपालिका, मोदी गाउँपालिका र छिमेकी जिल्ला स्याङ्जाका दर्शनार्थीसमेत आउने गरेका छन् । यहाँबाट पर्वत सदरमुकाम कुश्मा, बागलुङ, म्याग्दी र स्याङ्जाका विभिन्न स्थानका साथै अन्नपूर्ण, धौलागिरि, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । 

बाटुलेचौरको प्रवर्द्धन र प्रचारप्रसार गर्न यस वर्ष हरितालिका तीजको अवसरमा दोस्रो बाटुलेचौर तीज मेला आयोजना गरिएको छ । आगामी भदौ २१ गते हरितालिका तीजको अवसरमा बाटुलेचौर कालिका भगवती मन्दिर क्षेत्र विकास संस्था र स्थानीय ठूलीपोखरी वडा कार्यालयको संयुक्त आयोजनामा तीज मेला आयोजना गरिएको हो । 

मेलामा मौलिक तीज गीत प्रतियोगिता, विद्यालय तथा खुला नृत्य प्रतियोगिताका साथै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती राखिएको आयोजकले जनाएको छ । रासस