• १७ भदौ २०८१, सोमबार

बुवाको सम्झनामा गोकर्णेश्वर मेला (फोटो फिचर)

blog

कुशे औंसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड । तस्बिर : केशब गुरुङ

काठमाडौँ, भदौ १७ गते । कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन । यस अवसरमा छोराछोरी परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् । बुवा नहुने विभिन्न पवित्र स्थाजमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ ।


आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढि फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुबै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कूल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।


Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।