• ४ जेठ २०८१, शुक्रबार

राउण्ड अन्नपूर्णमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

blog

गणेश पौडेल 

पर्वत, वैैशाख २६ गते । कोरोनाका कारण थलिएको राउण्ड अन्नपूर्णको पर्यटकीय गतिविधि बढेसँगै स्थानीयवासी तथा व्यावसायी उत्साहित बनेका छन् । कास्कीको नयाँ पुलबाट शुरु हुने राउण्ड अन्नपूर्णमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै त्यस क्षेत्रमा चहलपहल समेत बढ्दै गएको छ । 

अहिले दैनिक १५० भन्दा बढी पर्यटकले पदयात्रा गर्ने गरेको कुरा अन्नपूर्ण संरक्षण क्षेत्र बिरेठाँटी चेक पोष्टले जनाएको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिदै गएको आयोजनाले जनाएको छ । 

अन्नपूर्ण पदमार्गमा विशेषगरी इजरायल, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत देशका पर्यटक बढी आउने गरेका छन् भने पछिल्लो समय आन्तरिक पर्यटकहरुको सङ्ख्या उल्लेख्य रुपमा बढेर गएको छ । आन्तरिक पर्यटकको एकिन सङ्ख्या उल्लेख नहुने भए पनि दैनिक ४ देखि ५ सयसम्म भित्रिने गरेको स्थानीय होटल व्यावसायी बताउछन् । 


अहिले यस क्षेत्रबाट पुनहिल, अन्नपूर्ण बेस क्याम्प, घान्द्रुक, लान्द्रुकलगायतका ठाउँमा जाने र राउण्ड अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्नेहरुको चहलपहल बढिरहेको स्थानीय होटल व्यावसायी कमला गुरुङले जानकारी दिनुभयो । ‘पदमार्गमा असोजदेखि चहलपहल बढेको छ,’ उहाँले भन्नुभयो ।

वर्षौंदेखि पर्यटकहरुलाई लक्षित गरि खोलिएका होटलहरु समेत कोरोनका कारण बन्द हुने स्थितिमा पुगेका थिए । पछिल्लो समय बन्द भएका होटलहरु समेत संचालनमा आएका छन् भने नयाँ होटलहरु समेत थपिँदै गएको व्यवसायी बताउछन् । यस क्षेत्रको मुख्य व्यावसाय नै होटल हो, गुरुङले भन्नुभयो कोरोनाका कारण धेरै होटलहरु बन्द भए । अहिले पर्यटक आउन थालेसँगै पुनः सञ्चालनमा आउन थालेका छन् । 

व्यवसायीहरुका अनुसार कोरोनाले बन्द भएका होटलहरु गत माघ महिनादेखि भरिभराउ हुन थालेका छन् । पदयात्राका लागि उपयुक्त मौसम सेप्टेम्बरदेखि नोभेम्बरसम्म र फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ । 

कास्कीको नयाँपुलबाट शुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपुर्ण बेसक्याम्प पुग्छ भने पर्यटकहरु बिरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ् पनि पुग्ने गर्छन् । त्यस्तै लमजुङको भुलभुलबाट मनाङ्, उपल्लो मुस्ताङ् हुँदै यो मार्ग भएर पर्यटक फर्कने गरेका छन् । पछिल्ला वर्षमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन् भने दोस्रोमा कोरियाली पर्यटकको सङ्ख्या पर्छ ।