• १६ भदौ २०८१, आइतबार

ग्रामीण सडक मर्मत नहुँदा सास्ती

blog

बाजुरा समाचारदाता

बाजुरा, भदौ १६ गते । बर्खाका बेला ग्रामीण सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण असारदेखि अवरुद्ध सडक सञ्चालनमा आउन सकेका छैनन् । लामो समयदेखि सडक मर्मत नहुँदा स्थानीयलाई आउजाउ तथा सामान ढुवानीमा समस्या भएको छ । हिउँदमा नियमित सुचारु हुँदै आएका ग्रामीण सडक बर्खाको समयमा अवरुद्ध बन्ने गरेका छन् । सडक मर्मत तथा सफाइ गरी सञ्चालनमा ल्याउने प्रयास भने गरेको देखिँदैन । सडक नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका–१, काँडाका स्थानीय प्रेम सार्कीले बताउनुभयो ।

“हिउँदमा गाडी गाउँमै आउनेजाने गर्छ । त्यतिबेला दैनिक उपभोग्य सामग्री ढुवानी गर्न निकै सहज हुन्छ । अहिले ती गाडी गाउँमा आउन बन्द भएपछि सामान त के, आउजाउमा समेत निकै समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो । गत वर्ष भदौमै सडक मर्मत गरिएको थियो । यो वर्ष निरन्तर पानी परेकाले सडक मर्मत हुने र खुल्ने सम्भावना कमै देखिन्छ । हिमाली, जगन्नाथ, स्वामीकार्तिक, बुढीनन्दा, गौमूल, बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, खप्तड छेडेदहलगायतका गाउँपालिका जोड्ने सडक अवरुद्ध छन् । 

यहाँका नौ वटै स्थानीय तहमा हिउँदमा सुचारु भएका सडक यतिबेला भने अवरुद्ध हुँदै आएका छन् । कतिपय सडक सञ्चालनमा रहे पनि सवारी सञ्चालन गर्न जोखिम रहेको वडाध्यक्ष भक्त बुढाले बताउनुभयो । ग्रामीण सडक अवरुद्ध हुँदा यहाँका किसानले उत्पादन गरेको बर्खे आलु, निहुरो, खुर्सानी, स्याउलगायतका उत्पादन बजारसम्म लैजान समस्या भएको छ । त्यसका लागि जतिसक्दो चाँडो सडक मर्मत गर्ने तयारी भइरहेको अध्यक्ष बुढाले बताउनुभयो ।