• १६ भदौ २०८१, आइतबार

आजदेखि एन्फा महिला लिग

blog

काठमाडौँ, भदौ १६ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शनिबार एन्फा महिला लिगको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

एन्फाको आयोजनामा हुने प्रतियोगिता आइतबार सुरु हुने छ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, बागमती युथ क्लब, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, कोशी, सुदूरपश्चिम र कर्णाली प्रदेशले सहभागिता जनाउने छन् ।

उद्घाटन खेलमा आइतबार कोशी प्रदेश र वालिङ नगरपालिका भिड्ने छन् । एन्फाले सो खेलका लागि दर्शक प्रवेश निःशुल्क हुने जानकारी दिएको छ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको पहिलो चरणमा ४५ खेल हुने छन् । सिङ्गल राउन्ड रोबिनमा शीर्ष पाँच स्थनमा रहने टोलीबिच पुनः डबल राउन्ड रोबिनका आधारमा सुपर लिग खेलाइने छ । सुपर लिगमा २० खेल हुने छन् । सुपर लिगमा उत्कृष्ट चार टोलीबिच क्वालिफायर, इलिमिनेटर र फाइनल भएपछि महिला लिग विजेताको छिनोफानो हुने छ ।

यस प्रतियोगिताको कुल लागत दुई करोड २४ लाख ६८ हजार रुपियाँ रहेको छ ।  विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् । यसै गरी लिगको उत्कृष्ट खेलाडीलाई एक लाख, फेयर प्ले टोलीलाई एक लाख ५० हजार, विधागत उत्कृष्ट खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने छ ।