• १६ भदौ २०८१, आइतबार

तिज प्रतियोगितामा मल बीउको माग

blog

बिन्दु थापा 

पाल्पा, भदौ १५ गते । तानसेन नगरपालिका –११ मा महिलाले तिज गीत प्रतियोगिताबाट कृषकलाई मल बीउको माग गर्नुभएको छ । महिला कृषकलाई कृषिमा के कस्ता अवसर र चूनौती छन् भन्ने बारेमा गीतमार्फत माग गर्नुभएको हो ।

गीतबाट रासायनिक मल, बीउ, सिँचाइ, बजार, उत्पादन, महिलामा पर्याप्त ज्ञान नहुँदा भोगेका समस्या र नगर सरकारले गर्नुपर्ने सहयोगका बारेमा गीत बनाएर आफ्ना माग प्रस्तुत गर्नुभयो । 

तानसेन नगरपालिका –११ को आयोजना तथा महिला समन्वय समितिको समन्वयमा ‘कृषिमा महिला अवसर र चूनौती’ बिषयक तिज गीत प्रतियोेगितामा १४ समूह सहभागी रहेका थिए । 

प्रतियोगितामा प्रथम पुरस्कार प्रगति टोल संस्थाले १५ हजार नगद, द्वितीय पुरस्कार सिर्जना टोल संस्थाले १० हजार, तृतीय पुरस्कार रानीपोखरी टोल संस्था ५ हजार, सान्त्वना पुरस्कार लिपिन्देवी महिला समूहले २ हजार प्राप्त गरेका छन् ।  

तानसेन नगरपालिकाका सल्लाहकार राधेश्याम ज्ञवालीले अर्थतन्त्रको मेरुदण्ड कृषि भए पनि यसमा थुप्रै चुनौती रहेकाले महिला कृषकलाई अझै चुनौती रहेको बताउनुभयो । 

देशको अर्थतन्त्र सुधार गर्न कृषिलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले किसानले समयमा रासायनिक मल, बीउ तथा सिँचाइ समयमा नपाउनु दुःखद हो र त्यसलाई सबैले मिलेर अन्त्य गर्नुपर्ने बताउनुभयो । 

तानसेन नगरपालिका –११ का वडा अध्यक्ष यादवसिंह कार्कीले गाउँका मान्छे सहर बस्न थालेको र बाँकी रहेका व्यक्ति वैदेशिक रोजगारमा गएका कारण उब्जाउ जमिन बाँझो हुन थालेको बताउनुभयो । 

मेलमिलापकर्ता संयोजक शाान्ता बोहोरा, महिला समन्वय समितिका अध्यक्ष गीता भाटले कृषि उत्पादन वृद्धि, उत्पादित कृषिजन्य वस्तुको उचित मूल्य पाउने बजारको सुनिश्चित्ता, किसानको आम्दानीमा सुनिश्चित्ता गर्न सकियो भने कृषिका थुप्रै चुनौतीलाई चिर्न सकिने बताउनुभयो ।