स्तकालय जीवनपर्यन्त अनौपचारिक रूपमा शिक्षा आर्जन गर्ने केन्द्र हो । साथै अनुसन्धानका लागि आधारभूमि तयार गर्ने पवित्र थलो पनि हो । औपचारिक शिक्षाले निश्चित तह उत्तीर्ण गर्नुलाई शिक्षाको आधार मानेको हुन्छ । अनौपचारिक शिक्षामा भने कुनै तह उत्तीर्ण गर्नुपर्ने बाध्यता रहँदैन । अनौपचारिक शिक्षा आर्जनमा जुनसुकै उमेर, वर्ग, धर्म, पेसाका व्यक्तिले आत्मविकासका लागि समान अवसर पाउँछन् । त्यसैले पुस्तकालयलाई जीवनपर्यन्त नागरिकलाई सुसूचित गराउने तथा अनौपचारिक माध्यमबाट व्यक्तित्व विकासमा सहयोग पु-याउने ‘जनताको विश्वविद्यालय’ का रूपमा लिइन्छ ।
प्राचीन समयमा श्रुतिस्मृतिको आधारमा ज्ञान आर्जन गर्ने गरिन्थ्यो, जसलाई गुरुकुल शिक्षा भनियो । शिक्षाबिनाको व्यक्ति पशु सरह हुन्छ भन्ने उक्ति चरितार्थ हुँदै समाजमा शिक्षाको आवश्यकता बोध हुन गयो । गुरुले आश्रममा आफ्ना शिष्यलाई दिइएका ज्ञानलाई बिस्तारै सङ्ग्रह गर्दै लगियो । उक्त सङ्गृहीत ज्ञान सामग्री नै अहिलेको पुस्तकालयका प्राचीन स्वरूप हुन् । यसरी गुरुकुल शिक्षासँगै पुस्तकालयको विकासक्रम सुरु भएको देखिन्छ । ज्ञानका सामग्री सङ्ग्रह गर्ने कार्य तत्कालीन राजामहाराजाबाट पनि हुन थाल्यो । विद्वत्वर्गका निजी निवास साथै समुदायका प्रभावशाली व्यक्तिबाट पनि चेतना विकास गर्नका लागि पुस्तकको सङ्कलन गर्न थालियो । देशमा औपचारिक रूपमा शिक्षा आर्जन गर्न असुविधा भइरहेको समयमा ती निजी सङ्ग्रह नै समाज आलोकित गर्ने साधन बन्न पुगे । आज जीवन पर्यन्त निरन्तर शिक्षाको आवश्यकता बोध गराउने साधन पुस्तकालयमा सङ्ग्रृहीत पुस्तक हुन् भन्ने कुरामा दुईमत नहोला ।
नेपालमा स्थापित पुस्तकालयमध्ये निजी सङ्ग्रहबाट सुरुवात भएको केशर पुस्तकालय पनि एक हो । सन् १९०८ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर बेलायत भ्रमणमा जाँदा उनीसँगै उनका साहिँला छोरा केशरशमशेर पनि गएका थिए । बेलायत भ्रमणमा रहँदा उनले त्यहाँका पुस्तकालय तथा सङ्ग्रहालयबाट प्रभावित भई त्यहाँबाट फर्केपछि पुस्तक
सङ्कलन गरी निजी पुस्तकालयको विकास गरेका थिए । यस पुस्तकालयमा पुस्तक मात्र नभएर दुर्लभ पाण्डुलिपि, पुराताŒिवक वस्तु, फोटोलगायतका सामग्री रहेका छन् । भारतीय विद्वान् राहुल सांकृत्यानका अनुसार केशर पुस्तकालय तत्कालीन समयमा एसियाकै भव्य पुस्तकालय थियो ।
केशरशमशेरको देहावसानपछि उनका महल, बगैँचासहित साढे ३१ रोपनी जग्गा तथा उनले सङ््कलन गरेका सबै सामग्री उनकी धर्मपत्नी कृष्णचन्द्र देवीबाट सरकारका नाममा हस्तान्तरण गरियो । सुरुमा उनको परिवारका सदस्य, केही उच्च वर्गीय नेपाली तथा विदेशीका लागि मात्र पहँुचमा रहेको यो पुस्तकालय अहिले सर्वसाधारणका लागि खुला गरिएको छ ।
केशर पुस्तकालय मात्र नभएर नेपाल राष्ट्रिय पुस्तकालय पनि पण्डित हेमराज पाण्डेको भारती भवनका निजी सङ्कलनलाई नेपाल सरकारले भारतीय तीन लाख रुपियाँमा खरिद गरेको इतिहास छ । नेपाली वाङ्मयको संरक्षण र संवर्धनमा समर्पित मदन पुरस्कार पुस्तकालय पनि साहित्यकार कमलमणि दीक्षितको व्यक्तिगत सङ्कलन ‘कमलको नेपाली सङ्ग्रह’ बाट सुरु भएको हो । डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय राजनीतिज्ञ तथा इतिहासकार डिल्लीरमण रेग्मीको निजी सङ्ग्रहबाट सुरुवात भएको हो । रेग्मीले सङ्कलन गरेका पुस्तक, जग्गा र भवन आफ्नो मृत्युपछि सरकारको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेका थिए । सिंहशमशेरको निजी सङ्कलन त्रिवि केन्द्रीय पुस्तकालयमा हस्तान्तरण भई एउटा छुट्टै शाखाका रूपमा सञ्चालन भइरहेको छ ।
पुस्तकालय स्थापनासँगै यसको सन्तुलित सङ्कलन, वैज्ञानिक व्यवस्थापन, दिगो विकास र गुणस्तरीय पाठक सेवा अपरिहार्य हुन्छ । नेपालमा केही उदारमना व्यक्तिले आफ्नो निजी सङ्कलन, जग्गा तथा भवन सर्वसाधारणको सहज पहुँच हुने गरी सरकारलाई हस्तान्तरण गरेका छन् । यद्यपि सरकारबाट ती सबै बौद्धिक सम्पत्तिको संरक्षण र संवर्धन हुन सकेको देखिँदैन । यसको ज्वलन्त उदाहरण २०१३ सालमा स्थापित राष्ट्रिय पुस्तकालय हो । यो २०७२ को भूकम्पपश्चात् सानोठिमी भक्तपुरमा एउटा सानो टहरामा खुम्चिएको छ । सरकारी पुस्तकालयको प्रतिनिधित्व गर्ने राष्ट्रिय पुस्तकालयको सुविधासम्पन्न भवन नहुनु राष्ट्रकै लागि लज्जाको विषय हो ।
विभिन्न देशमा राष्ट्र प्रमुखको निजी सङ्ग्रहबाट पुस्तकालय तथा सङ्ग्रहालयको स्थापना गर्ने सामान्य कार्य हुन् । रिचर्ड निक्सनको प्रसिडेन्सियल पुस्तकालय तथा सङ्ग्रहालय पन्ध्रौँ राष्ट्रपतीय पुस्तकालय हो, जुन पुस्तकालय अमेरिकी इतिहासमा सबैभन्दा विस्तृत दस्ताबेज भएको पुस्तकालयमध्ये एक मानिन्छ । यो पुस्तकालय ५२ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको छ । यस पुस्तकालयमा सरकारी दस्ताबेज, राष्ट्रपतिका वार्तालाप छन्, जसलाई ‘ह्वाइट हाउस टेप’ भनिन्छ । यसमा राष्ट्रपतिका अडियो÷भिडियो रेकर्ड, फोटो र राज्य तथा सार्वजनिक निकायबाट प्राप्त उपहार सङ्कलन गरी राखिएको छ ।
भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको ७५ औँ जन्मजयन्तीका अवसरमा तीनमूर्ति भवन दिल्लीमा प्रधानमन्त्री सङ्ग्रहालय तथा पुस्तकालय स्थापना गरिएको थियो, जुन पुस्तकालय अहिले भारतीय जनताका लागि प्रमुख अनुसन्धान केन्द्रका रूपमा परिचित छ ।
नेपालका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ असार ९ गते नेपालको पुस्तकालय विकास र अवस्थाबारे छलफल गर्दैै राष्ट्रपति भवन परिसरमा सुविधासम्पन्न पुस्तकालय निर्माण गर्ने योजना सुनाउनुभएको थियो तर यस योजनाले मूर्तरूप लिन सकेन । आशा गरौँ, वर्तमान राष्ट्रपतिले यस विषयमा विशेष पहलकदमी गर्नुहुने छ । जुन नेपालका अनुसन्धानकर्ताका लागि खोज, अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्ने एक पवित्र तीर्थस्थलका साथै एक आदर्श पुस्तकालय रूपमा रहने छ ।
हालसालै प्रधानमन्त्री निवासमा पनि पुस्तकालय सञ्चालनका गर्न लागिएको समाचार सुन्नमा आएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा पुस्तकालयका लागि छुट्याइएको कोठामा पिपुल्स लाइब्रेरी बनाउने प्रस्ताव प्रधानमन्त्रीपत्नी राधिका शाक्यबाट उठान गरिएको छ । शाक्यले लेखक स्वयम्ले हस्ताक्षर गरेर अथवा पाठकले मन पराएका पुस्तक हस्ताक्षर गरी पुस्तकालयमा पठाउनका लागि अनुरोध गर्नुभएको छ । पुस्तक सङ्कलनका लागि हप्तामा छ दिन दिउँसो ३ देखि ४ बजेसम्म एक घण्टा समय छुट्याइएको छ । डा. भगवान कोइरालाद्वारा लिखित पुस्तक ‘हृदय’ बाट पुस्तक सङ्कलन कार्यको प्रारम्भ भएको छ ।
प्रधानमन्त्री निवासमा पुस्तकालय स्थापनाको सुरुवातले देशका अन्य उच्च पदस्थ व्यक्तिलाई पनि पुस्तकालय स्थापना गर्न प्रेरित गराउने सम्भावना छ । यसबाट देशवासीमा पुस्तक र पुस्तकालयप्रति सकारात्मक सन्देश प्रवाह हुने छ । समाजमा अध्ययन संस्कृतिको विकास गर्न पुस्तकालय अपरिहार्य माध्यम हो । जब विशिष्ट व्यक्तिका सरकारी तथा निजी निवास, सार्वजनिक सङ्घ संस्था तथा कार्यालय र समुदायमा पुस्तकालय स्थापना हुन थाल्छन्, तब उत्प्रेरणात्मक रूपमा अध्ययनको वातावरण बढ्न सक्छ । यसले पठन संस्कृतिको विकास गर्छ ।
पुस्तकहरू सङ्ग्रह गर्दैमा त्यसलाई पुस्तकालय भन्न मिल्दैन । पुस्तकको सङ्ग्रह त पुस्तक पसलमा पनि हुन्छ । पुस्तकालय हुनका लागि पाठक र पुस्तकबिचको सामीप्य हुनु पर्छ । यसका लागि पुस्तकको उचित व्यवस्थापन र ती पाठकले चाहेका पुस्तक छिटोछरितो रूपमा प्राप्त गरी त्यहीँ पढ्न सक्ने वातावरण बन्नु पर्छ । हिजोआज मानिस “पुस्तक इन्टरनेटमा नै रोजीरोजी निःशुल्क पढ्न पाइन्छन्, किन चाहियो
पुस्तकालय ?” भन्ने जस्ता असान्दर्भिक तर्क अगाडि राख्ने गर्छन् । उनीहरूलाई थाहा छैन कि लेखक र प्रकाशकको स्वीकृतिबिना पुस्तक इन्टरनेटमा राख्न पाइँदैन ! उनीहरूलाई यो पनि थाहा रहेन छ कि पुस्तकालयमा प्रवेश गरेपछि अरूले पढिरहेको देख्दा आफूलाई पनि त्यहाँ बसेर पढुँ पढुँ लाग्ने सकारात्मक ऊर्जा प्रवाहित हुन्छ । पुस्तकालयमा विभिन्न क्षेत्र र तहका पाठकबिच हुने सामाजिक, सांस्कृतिक र बौद्धिक अन्तर्घुलन अन्यत्र पाइनु असम्भव प्रायः हुन्छ । तसर्थ पुस्तकालयको सार्वकालीक, सार्वक्षेत्रीय र सार्वपक्षीय उपयोगिता निर्विवाद छ ।
प्रधानमन्त्रीको निवासमा बन्दै गरेको पुस्तकालयमा कूटनीति, राजनीति, दर्शन, समाज रूपान्तरण, आर्थिक समृद्धि, विकासका योजना, कानुन, व्यवस्थापन, शिक्षा विकास, सुशासन, सकारात्मक सोचको विकास गराउने आदि विविध विषयवस्तुका पठनीय ज्ञान सामग्री सङ्कलन गरियोस् । यसले प्रधानमन्त्रीको सङ्कल्प ‘सुखी नेपाली समृद्ध नेपाल’ नारालाई सफल मद्दत गर्ने छ । भाबी प्रधानमन्त्रीहरूले उक्त पुस्तकालयलाई अध्ययन केन्द्रका रूपमा विकास गर्दै नेपाल र नेपालीको उज्ज्वल भविष्यको दिशानिर्देश गर्ने ज्ञान प्राप्त गर्न सकून् । यो पुस्तकालय उपहारबाट प्राप्त अनावश्यक पुस्तकको सङ्ग्रह वा भण्डारण कक्ष मात्र नबनोस् आश्चर्यजनक प्रसङ्ग के छ भने प्रधानमन्त्री निवासमा पुस्तकालय स्थापनाको प्रयास हुँदै गर्दा सरकारी कार्यालयका पुस्तकालयको वैज्ञानिक व्यवस्थापन गर्ने पुस्तकालय अधिकृत दरबन्दी कट्टा भई कर्मचारी फाजिलमा रहेको यथार्थ बिर्सन सकिँदैन ।
यसले पुस्तकालय सेवा सरकारको प्राथमिकतामा नभएको भान गराउँछ ।
सङ्गठन र व्यवस्थापन सर्वेक्षणले प्रधानमन्त्री कार्यालयमा पुस्तकालयको गाम्भीर्य महसुस गर्न सकेन । उपसचिव सरहको दरबन्दीका लागि सिफारिस हुनुपर्नेमा भइरहेका पुस्तकालय अधिकृतको दरबन्दी काटेर सुब्बा सरहको दरबन्दीमा मिलान गर्नका लागि सिफारिस गरेको छ । अन्य सरकारी मन्त्रालय तथा विभागमा चलिरहेका पुस्तकालयमा पनि समायोजनका नाममा पुस्तकालय सेवा समूहका कर्मचारीको दरबन्दी काट्ने काम भइरहेको छ । यसबाट सरकारी संयन्त्रले पुस्तकालय सेवाको आवश्यकता बोध कति गर्छ भन्ने प्रश्न उब्जन्छ ।
पठन संस्कृतिको विकाससँगै अध्ययन एवं अनुसन्धानका लागि गैरसरकारी सङ्घ संस्था तथा नागरिक समाजमा पनि पुस्तकालय सञ्चालन अभियानमा लागेको देखिन्छ । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय निकायमा अनिवार्य हुनुपर्ने पूर्वाधारमध्ये पुस्तकालय नहुनु दुःखद पक्ष हो । अतः दिगो विकास तथा सुशासन समितिको निर्देशन अनुसार प्रत्येक प्रदेशमा आधुनिक प्रविधियुक्त प्रदेश केन्द्रीय पुस्तकालय र सबै स्थानीय तहमा सार्वजनिक पुस्तकालय सञ्चालनको गृहकार्य तत्काल थाल्नु आवश्यक छ । जब देशमा अनौपचारिक शिक्षाको माध्यमबाट पठन संस्कृतिको विकासका लागि सरकारका तिनै तह, नागरिक समाज तथा शैक्षिक सङ्घ संस्थाबाट पुस्तकालय स्थापना गर्ने वातावरण बन्छ, तब मात्र सत्रौँ पुस्तकालय दिवसको आदर्श वाक्य ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ ले सार्थकता पाउने छ । जय पुस्तकालय दिवस !