• ७ मंसिर २०८१, शुक्रबार

वित्तीय अपराधको जोखिम

blog

आधुनिक प्रविधिको विकाससँगै वर्तमान समयमा हुने आर्थिक कारोबार सहज हुँदै गएको छ । विश्व एउटा गाउँका रूपमा बदलिएको छ । केही प्रतिवेदनले सन् २०३० सम्ममा विकसित देशमा बैङ्कका शाखा नरहने पूर्वअनुमान गरेका छन् । बैङ्किङ प्रणाली डिजिटलाइजेसन हुँदै जाँदा सिङ्गो बैङ्क मोबाइलमा सीमित हुन पुग्ने देखिन्छ । पैसा भौतिक रूपबाट भर्चुअल (क्रिप्टोकरेन्सी र पाइलन आदि) स्वरूपमा विकास हुँदै गएको छ । आर्थिक लेनदेन प्रत्यक्ष भेटघाटबाट भन्दा अनलाइनबाट बढी हुन थालेको छ । मानिसले गोजीमा पैसा बोक्न छोड्दै गएका छन् । राज्यले पैसा छाप्ने कामलाई घटाउँदै लगिरहेका देखिन्छ । सामान र सेवा इन्टरनेट प्लेटफर्मको सहायतामा विना भेट र उपस्थिति हुँदै आएको छ, जसको आकार भेटघाट गरेर हुने लेनदेनभन्दा बढी हुन थालेको छ । यसले राष्ट्रिय र विश्व अर्थतन्त्रलाई केही क्लिकको भरमा फेरबदल गरिदिन सक्ने बनाएको छ । 

सम्पत्ति र पैसा हिजोको जस्तो बोकेर एक स्थानबाट अर्कै स्थानमा पु¥याएपछि मात्रै स्वामित्व र स्वामी फेरिन सक्ने परिस्थिति बदलिएर एउटा बटम दबाएको भरमा सम्भव हुन थालेको छ । यस्तो सुविधा सुरक्षित ढङ्गबाट प्रयोग गर्न नसक्दा जोखिम बढेको देखिन्छ । खास गरी राज्य र सेवा प्रदायकले प्रविधिसँग जोडेर नयाँ प्रोडक्ट बजारमा ल्याउने, प्रयोगका लागि नागरिकलाई प्रोत्साहन गर्ने तर त्यसको जोखिम र सावधानीका बारेमा उपभोक्तामा साक्षरता अभिवृद्धि गर्नुपर्ने पक्षमा ध्यान पुग्न नसक्दा यस्ता ठगी र चोरीका घटना निरन्तर बढ्दै गइरहेका छन् । गत आर्थिक वर्ष (आव) २०७९/८० मा पाँच हजार नौ सय पाँच साइबर अपराधका घटना उपर निवेदन परेकोमा यस आवको सात महिनामा १३ हजार तीन सय ३० निवेदन परिसकेको छ । अर्थात् २.२५ गुणा बढी अपराधको घटना भएको देखिन्छ । समाजमा भएका घटना र अनुसन्धानका क्रममा अपराधीले दिएका बयानका आधारमा हेर्दा अपराधको मुख्य उद्देश्य वित्तीय ठगी, ब्ल्याकमेलिङ, शारीरिक शोषण र चारित्रिक हत्या हुने गरेकोमा मूल लक्ष्य आर्थिक अपराध हुने गरेको छ । 

अनलाइनमा वित्तीय ठगीको प्रवृत्ति

समाजमा अनलाइन कारोबार बढेसँगै गैरकानुनी कार्य प्रवृत्तिको रूपमा हुर्कंदै गएको छ । त्यो राज्य र नागरिकका लागि थप चुनौतीपूर्ण बन्न पुगेको छ । यस्ता अवैधानिक हर्कत अनलाइन वित्तीय ठगी प्रवृत्तिको आधारशिला बन्न पुगेको छ । खास गरी तपाईंको नाममा अनलाइन चिट्ठा प¥यो वा उपहार पठाइदिन्छु भनी प्रलोभनमा पार्ने र उक्त चिट्ठा तथा उपहार प्राप्त गर्न कर चुक्ताको बहना बनाई रकम ठगी गर्ने, बैङ्क तथा मोबाइल वालेटको कर्मचारी बनेर वा सामाजिक सञ्जाल ह्याक गरी उक्त व्यक्तिको नजिकको साथी पहिचान गरी ओटिपी कोड मागेर खाताबाट पैसा चोरी गर्ने प्रवृत्ति बढ्दो छ । अनलाइनमा कर्मचारी आवश्यकता भनी फाराम भर्न लगाउने र रकम लिएर हराउने, सस्तोमा सामान राख्ने तर सामान पठाउनु अगाडि नै पैसा मागेर बेपत्ता हुने, सामाजिक सञ्जालमार्फत माया जालमा पारेर बैङ्क खाता खोल्न लगाउने घटनाबाट सचेत हुन जरुरी छ । ओटिपी, पासवर्ड तथा एटिएम लिने र अपराधिक क्रियाकलापबाट आउने रकमको कारोबार उक्त खाताबाट गर्ने, भिडियो भाइरल गर्दिन्छु भनि रकम माग गर्ने, क्रिप्टोकरेन्सी र विट क्वाइनमा लगानी गरे दोब्बर भनी रकम माग गर्ने जस्ता जालसाजीका काम भइरहेका छन् ।

अनलाइन वित्तीय ठगी न्यूनीकरणका उपाय

अनलाइनबाट वस्तु तथा सेवा खरिद गर्दा दर्ता भएका र कानुनी मान्यता रहेका व्यक्ति र संस्थासँग मात्रै गर्ने गरौँ । उक्त सामान प्राप्त भएपछि आफूले भनेबमोजिम छ/छैन परीक्षण गरेर मात्रै बिल भुक्तानी गर्ने गरौँ । विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्र पठाउने गरौँ । अवैध तरिकाबाट केही रकम जोगिने लोभमा रेमिटेन्स रकम पठाउँदा त्यस्ता कारोबार गर्ने अमूक व्यक्तिले रेमिटेन्स पठाउने व्यक्तिको आफन्तको खातामा अनलाइन सम्बद्ध ठगीको गैरकानुनी रकम पठाइदिन सक्ने भएकाले कानुनी कारबाहीको भागीदार हुनुपर्ने अवस्था सिर्जना हुन सक्छ ।

बैङ्क, ई–सेवा, विद्युत् प्राधिकरण, इन्टरनेट कम्पनी वा कनेन्ट आइपिएसको कर्मचारी बनि तपाईंलाई उपहार र पुरस्कार परेको छ भन्दै जन्मदिन, वैवाहिक वर्ष गाँठ र राम्रो ग्राहकका नाममा बधाई दिने र उक्त उपहार डेलिभर गर्न तपाईको मोबाइलमा आएको नम्बर दिनु त भनेर विभिन्न बहानामा माग्ने र खाताको रकम सबै चोरी हुने गरेकोले कसैलाई पनि पिनकोड सेयर गर्ने नगरौँ ।

म साइबर क्राइमबाट प्रहरी बोलेको, साइबर सेक्युरिटीबाट कल गर्दै छु भन्ने जस्ता भ्रामक विवरण र प्रहरीको हवला दिँदै अपरिचित व्यक्तिले अश्लील फोटो भिडियो पठाउन लगाई ब्ल्याकमेलिङ गर्ने र आर्थिक ठगी गर्न सक्ने भएकाले यसरी फोन र इमेललगायत कुनै माध्यमबाट आफ्नो बारेमा जानकारी माग भएमा गोप्य सूचना आदनप्रदान नगरौँ । सपिङ महल, डिपार्टमेन्ट स्टोर, रेस्टुरेन्ट र अन्य सार्वजनिक स्थलमा सामान किनी क्युआरमार्फत मूल्य भुक्तानी गर्दा स्क्यान गरेपछि सम्बन्धित व्यक्तिलाई देखाएर मात्रै पैसा तिर्ने गरौँ । अन्यथा क्युआर नै परिवर्तन गरेर ठगी गरी दिन सक्छन् ।

सार्वजनिक वाइफाइको प्रयोग गरेर अनलाइन आर्थिक कारोबार गर्ने नगरौँ । उक्त वाइफाइ स्वयम् साइबर अपराधीले पनि छोडेको हुन सक्छ । सकेसम्म आफ्नो मोबाइल अपरिचित व्यक्तिलाई दिने नगरौँ, दिनै पर्ने अवस्था आएमा आफ्नो निगरानीमा मात्रै दिने गरौँ । अन्यथा थर्ड पार्टी कन्ट्रोल मोबाइल एप्प डाउनलोड गरिदिएर तपाईंको मोबाइल नियन्त्रण गरी ठगी गर्न सक्छन् । सधैँ बलियो पासवर्ड प्रयोग गरौँ, सबैमा एउटै पासवर्ड प्रयोग नगरौँ फरक फरक गर्ने गरौँ, टु फ्याक्टर पासवर्ड प्रयोग गरौँ, समय समयमा आफूले प्रयोग गर्ने गरेको पासवर्ड र पिनकोड परिवर्तन गर्ने गरौँ । आफ्नो मोबाइल तथा विद्युतीय उपकरण बिग्रिएमा विश्वासिलो मर्मत केन्द्रमा मात्रै मर्मत गर्ने गरौँ, अन्यथा डेटा चोरी र अन्य एप्पस डाउनलोड गरिदिएर तेस्रो पक्षले मोबाइलमा नियन्त्रण गरी ठगी गर्न सक्ने भएकाले समयमा सजग बनौँ ।

सामाजिक सञ्जालबाट अनलाइन डाटा इन्ट्री, आइइएलटियस/पिटिइ (प्रसनल टेस्ट अफ इङ्लिस) परीक्षा तयारी कक्षा वा सेयर कारोबार विश्लेषण तालिम निःशुल्कलगायतको बहानामा जथाभावी आउने एप्प र लिङ्कहरूलाई खोल्ने र डाउनलोड गर्ने नगरौँ, जुन साइबर अपराधीले बनाएको र पठाएको पनि हुन सक्छ । नेपाल राष्ट्र बैङ्क, साइबर ब्युरो, बैङ्क तथा वित्तीय संस्था र राज्यका अन्य निकायले समय समयमा जारी गर्ने सचेतनामूलक सन्देश पढ्ने, हेर्ने र साक्षरता अभिवृद्धि गरी प्रयोगमा ल्याउने गरौँ । डिजिटल कारोबारमा प्रयोग भएको मोबाइल, ल्यापटप वा अन्य विद्युतीय उपकरण खुला छोड्ने नगरौँ । उक्त साधन हराएमा तुरुन्तै सिमकार्ड बन्द गर्ने, सम्बन्धित बैङ्क तथा वित्तीय संस्थालाई आफ्नो खाताको डेबिट पक्ष बन्द गर्न लगाउने र पासवर्ड परिवर्तन गर्ने गरौँ ।

आफ्नो खातामा अपरिचित व्यक्ति वा स्थानबाट पैसा आएमा तत्काल नेपाल राष्ट्र बैङ्क र सम्बन्धित खाता भएको वित्तीय संस्थालाई जानकारी दिने गरौँ । किनकि उक्त रकम साइबर अपराधीले पठाएको पनि हुन सक्छ । सधैँ आफ्नै नामको सिमकार्ड प्रयोग गरेर बैङ्किङ कारोबार गर्ने गरौँ । अन्यथा जुनसुकै समयमा अन्य व्यक्तिले उक्त सिमकार्ड निकालेर तपाईंको खाताको रकम चोरी गर्न सक्छ । 

आफूले गरेको आर्थिक कारोबारमा माथि भनिएका वा अन्य कुनै समस्या भएमा तुरुन्त साइबर ब्युरो वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने गरौँ । यसरी समयमा सजग रहेर आफ्नो सम्पतिको सुरक्षा आफैँले ग¥यौँ भनेपछि पछुताएर पश्चाताप गर्नुपर्ने अवस्था आउँदैन ।  अनलाइनमार्फत गरिने आर्थिक गतिविधि विश्वासिलो र भरपर्दो हुन जान्छ, कसैप्रति आरोप र प्रत्यारोप गर्न आवश्यक रहँदैन । समाजमा अपराधीको राजगज न्यूनीकरण हुन गई मेहनत र परिश्रम गरेर जम्मा गरिएको धनदौलत बचाएर राख्न सकिन्छ । यसैले अनलाइन कारोबार सुरुवात गर्नुभन्दा पहिला आफूलाई साक्षर बनौँ, उक्त लेनदेन सुरक्षित छ/छैन पहिचान गरौँ र सुरक्षित देखिएमा मात्रै सहभागी बनौँ अन्यथा त्यस्ता गतिविधिमा सहभागी नबनौँ । सधैँ सुरक्षाको विधि अपनाएर मात्रै अनलाइन वित्तीय कारोबारमा सक्रिय बनौँ ।

   

Author

अचुतकुमार ओझा