पृथ्वीनारायण शाह स्मरणमा आउनेबित्तिकै मनमा प्रश्न उठ्छ, पृथ्वीनारायण शाहको यो सुन्दर तस्बिर कसले बनायो
होला ? उत्ति नै बेला आँखाअगाडि आउँछ सिंहदरबारअगाडिको औँला ठड्याएको पृथ्वीनारायण शाहको मूर्ति । देख्दै आएकी छु, दरबार स्कुलपरिसरको भानुभक्तको अर्को मूर्ति । मलाई यी मूर्ति कसले निर्माण गरेका होलान् भन्ने लाग्थ्यो ।
पृथ्वीनारायण शाह र भानुभक्तको समयमा क्यामराको आविष्कार सायद भएको थिएन । त्यो समयका मानिसको जीवन्त मूर्ति बनाउन कसरी सम्भव बन्यो ?
सावित्रीसिंह चित्रकार लिखित कृति ‘बहिनीको आँखामा अमर चित्रकार’ पढेपछि थाहा लाग्यो, पृथ्वीनारायण र भानुभक्तको मूर्ति रहस्य । सिंहदरबार अघिल्तिरको पृथ्वीनारायण र दरबार स्कुलको भानुभक्तको मूर्ति त अमर चित्रकारको मस्तिष्कभित्रको सुपर क्यामराले पो खिचेको रहेछ ।
म सोच्न बाध्य भएँ, के अमर चित्रकारले देखेका थिए त पृथ्वीनारायणलाई ? अध्ययनले भन्यो– अहँ ! देखेका थिएनन् उनले पनि । अनि कसले देखेका थिए त पृथ्वीनारायण शाहलाई ? अमर बाँचेको समयका कसैले पनि देखेका थिएनन् उनलाई ।
चित्रकला र मूर्तिकलामा चिरपरिचित नाम हो– अमर चित्रकार । काठमाडौँ, देशविदेशमा अमरको कला फैलिएको छ । आज पनि दरबारमा उनका कला सजिएका छन् । हनुमानढोका, वसन्तपुर तथा छाउनी सङ्ग्रहालयमा सुरक्षित छन् अमरको कला ।
कलाकार मदन चित्रकार भन्नुहुन्छ, “अमर दाइ यति अद्वितीय कलाको धनी हुनुहुन्थ्यो कि उहाँ सबै आफैँ गर्नुहुन्थ्यो । उहाँ जत्तिको अर्को मूर्तिकार आजसम्म मैले भेटेको छैन । स्वअध्ययनबाट त्यो उचाइमा पुग्नु, लोकप्रियता हासिल गर्नु सामान्य कुरो हुँदै होइन । मलाई लाग्छ, अरनिकोपछि नेपालमा जन्म लिएको दोस्रो अद्वितीय कलाकार अमर चित्रकार नै हो ।” अमर चित्रकारलाई बुझ्न यो भनाइ निकै महŒवपूर्ण लाग्यो ।
पृथ्वीनारायण शाहको त्यो अद्भुत तस्बिरले मलाई मात्र होइन, सावित्री सिंह चित्रकारका पतिलाई पनि अचम्मित पारेको रहेछ । पृथ्वीनारायण शाह किन यति राम्रा ? शीर्षकमा अमर चित्रकारका ज्वाइँ मेरै जस्तो जिज्ञासा राख्छन्, “दाइ, पृथ्वीनारायण शाह त गोर्खामा जन्मेहुर्केका नेपाली । गोर्खा त के नेपालको कुनै ठाउँमा पनि यस्तो आकर्षक र ह्यान्डसम मान्छे पाउन मुस्किल छ । तपाईंले कसरी पृथ्वीनारायण शाहलाई यति ह्यान्डसम
बनाउनुभयो ?” ज्वाइँको कुरा सुनेर अमर चित्रकार भन्छन्, “मैले नै सबै बनाएको होइन नि ।” अझ रहस्य चुलिन्छ । को आयो त अमर चित्रकारलाई सहयोग गर्ने ? अमर रहस्यको पर्दा यसरी उठाउँछन्– “धनशमशेर जबरा आफ्नो तान्त्रिक मुडमा बस्नुहुन्छ, उहाँको दिमागमा इतिहासका पात्रहरूको चित्र बन्छ । उहाँ त्यो चित्रको सचित्र बयान मेरासामु गर्नुहुन्छ । त्यसै आधारमा मैले पृथ्वीनारायण शाहको तस्बिर र मूर्ति बनाएको हुँ ।” ह्यान्डसम पृथ्वीनारायण शाहको तस्बिर बनाएको प्रसङ्ग पढ्दा म त तीनछक्क परेँ । कसरी सम्भव छ जस्तो लाग्यो । योग र तन्त्रमा हामी कति समृद्ध रहेछौँ । कहाँ गयो त्यो विद्या, त्यो अद्भुत ज्ञान ।
विद्यालयमा इतिहास पढेकी हुँ । इतिहासका किताबमा
श्री ३ र श्री ५ का ती जीवन्त चित्रहरू त अमर चित्रकारले नै तयार गरेका रहेछन् । पुराना पुस्ताले त सहजै अनुमान गर्न सक्छन् तर के नयाँ पुस्तालाई यो ज्ञात छ ? अमर चित्रकारका कलाप्रति कति नजिक छन् हाम्रा पुस्ता ?
सायद अमर चित्रकारसँग नयाँ पुस्तालाई परिचित गराउन, उहाँको कला साधनासँग जोड्न नितान्त आवश्यक छ । कलाको माध्यमबाट देश, भूगोल, इतिहास बुझ्न अपरिहार्य छ । कलाको महŒव बुझाउँदै चित्रकला र मूर्तिकलाको अध्ययन अनुसन्धान, संरक्षण र संवर्धन नितान्त आवश्यक छ । त्यसैले अमर चित्रकारलाई हामीले पढ्नै पर्छ ।
अमर चित्रकारको कलाप्रतिको चेतना कति उच्च । चित्रकला, मूर्तिकलाको अद्भुत क्षमता सम्माननीय छ । कलाप्रतिको उत्सुकता, धीरता, जाँगर र उनको अपार क्षमतासँग परिचित हुन सो पुस्तकले महŒवपूर्ण योगदान दिने छ । अमर चित्रकारको प्रेरणादायी जीवनी आजका कलाप्रेमीले मात्र होइन, सबैले पढ्नै पर्छ । कलाको प्रकार, कलाको साधना, महŒव, कला संरक्षण आदि विषयमा अमर चित्रकारका विचारदेखि सावित्री सिंहको नर्सिङका ३५ वर्षको सङ्घर्ष र सफलता बुझ्न पुस्तकले मद्दत गर्छ । तात्कालीन समाजमा नर्सिङ पेसाप्रतिको धारणा बुझ्न पुस्तकले सहयोग गर्छ । अमर चित्रकारलाई जान्नैपर्ने पाटा र इतिहासका गर्भमा लुकेका महŒवपूर्ण घटनालाई बहिनीले यो पुस्तकमार्फत बाहिर ल्याउनुभएको छ ।
यो पुस्तक चार खण्डमा विभाजित छ । खण्ड ‘क’ मा अमर चित्रकारको सम्पूर्ण जीवन, खण्ड ‘ख’ मा अमर चित्रकारका चित्रकला र मूर्तिकला । खण्ड ‘ग’ मा अमर चित्रकारका शब्द सिर्जना जसमा अमर चित्रकारले बालकृष्ण समबाट चित्रकलासम्बन्धी धैरै ज्ञान पाएको प्रसङ्ग छ । त्यस्तै परम्परागत नेपाली चित्रकलाको रूपरेखा कस्तो छ भन्ने कुरालाई समेत सो खण्डमा उल्लेख गरिएको छ । कलामा देखा परेका केही विभेदलगायतका अमर चित्रकारका महŒवपूर्ण विचार सो खण्डमा अटाएका छन् । खण्ड ‘घ’ मा आफ्नै कथा ः नर्सिङका ३५ वर्ष विस्तारित छन् । पुस्तकमा महŒवपूर्ण समयको तिथिमिति नभएकाले अलि खल्लो पनि लाग्छ ।
अमरको जन्म, बाल्यकाल, परिवार, वैवाहिक जीवन, सन्तान, कलाप्रतिको उत्सुकता, जिज्ञासा, लगावका रमाइला प्रसङ्ग छन् । बालकृष्ण समसँग भूगोल पार्कवरिवरि विचरण गरेको त्यो अतीत यहाँ हामीले सजिलै भेट्टाउन सक्छौँ । पुस्तक पढ्दै जाँदा लाग्छ, बालकृष्ण समसँगको १२ वर्षको सहकार्य कति महŒवपूर्ण रहेछ । समसँगको निकटता र मित्रताका रोचक प्रसङ्ग आएका छन् । समसँग अमरको कस्तो सम्बन्ध थियो भन्ने कुरालाई सावित्रीले बडो आकर्षक तरिकाले बालकृष्ण सम, भूगोल पार्क र मित्रता उपशीर्षकमा लेख्नुभएको छ, “अमर दाइको जागिर समको घरमै थियो । समसँगै मिलेर उहाँले दरबारका लागि महाराजहरूको व्यक्तिचित्र कोर्न थाल्नुभयो । जागिरसँगै उहाँ र बालकृष्ण समको सहकार्य सुरु भयो । सोही कला सहकार्यको सिलसिलामा उहाँहरू मिल्ने साथी बन्नुभयो ।”
जङ्गबहादुरको बेलायत यात्राका रोचक प्रसङ्ग निकै अर्थपूर्ण छ । टुँडिखेलमा राखेको जङ्गबहादुरको मूर्तिबाट उनले प्रेरणा प्राप्त गरेको, पहिलो मूर्ति पनि कसैले थाहा नपाउने गरी जङ्गबहादुर राणाको बनाएर कसैले नदेख्ने गरी लुकाएको प्रसङ्ग पुस्तकमा छन् ।
अन्त्यमा अमर चित्रकारको जीवन सङ्घर्ष, अध्ययन, पठन, इतिहास, इतिहासको रहस्य, कला, साहित्य, विचार, समय, सन्दर्भ र समाजलाई नजिकबाट हेर्न यो पुस्तक पढ्नै पर्छ । यो पुस्तक २०८१ कात्तिकमा साहित्य पोस्टले प्रकाशन गरेको हो ।