• ३ जेठ २०८२, शनिबार

सिमानाका सीमान्तकृत आवाज खोज्दै

blog

खेलप्रेमी राजबहादुर बस्नेतले सवा तीन करोडको लगानीमा सिमकोटमा हाई अल्टिच्युट फुटसल, स्केटिङ र ब्याडमिन्टन हल निर्माण गर्नु भएको छ । निजी क्षेत्रबाट भएको यो लगानीले एकातिर हुम्लाका खेलप्रेमीहरू उत्साहित भएका छन् । अर्कातिर रोजगारीका क्षेत्रहरू बढ्ने अवस्था भएको छ । नयाँ वर्षमा उद्घाटन भएको फुटसलमा एकैछिन फुटबल बजायौँ । 

पूर्वाधार विकास कार्यालय हुम्लाले खार्पुनाथ–चुवाखोला सडकको उद्घाटनमा सहभागिताका लागि अनुरोध गरेको थियो । कार्यक्रमस्थल खार्पुमा थियो । त्यही दिन लाग्यौँ खार्पुतिर । थलाहाल्ना तल्तिरको ढुस्का पुग्दा गाडीको लावालस्कर भेटियो । यसै ढुस्कामा सशस्त्र प्रहरीको ब्यारेक बनाउने योजना तय भएको रहेछ । रानीवनको कोटमा नेपाली सेना, सिमकोटको डिलमा जनपद प्रहरी र थलाहाल्नामा सशस्त्र प्रहरीको ब्यारेक बन्नु राम्रो पक्ष हो ।  

पहिले ताँजाकोट, अदानचुली, सर्केगाड र खार्पुनाथका मान्छे सिमकोट आउँदा स्याप्न्याको उकालो चढ्ने बेला हैरान पर्दथे । अहिले कच्ची सडक भए पनि गाडी चढेर आवतजावत गर्न पाएका छन् । कुरिल्ला पुगेपछि नल्ला गाउँ देखियो । यो गाउँ देख्दा मलाई चन्दनाथ र भैरवनाथको सम्झना आउँछ । वास्तवमा उनीहरूको जन्मस्थान यहीँ हो । उनीहरू काश्मीरमा दीक्षित भएर हुम्लामा आएपछि कृषि अनुसन्धानमा लागिपरेका थिए । उनीहरूलाई स्थानीयले गरेको अवरोध र अवहेलनाका कारण जुम्लातिर लाग्नु परेको थियो । जब आफूले पाएको ज्ञान प्रयोगमा ल्याउन पाए, नल्लाका कृषिविज्ञ हुम्लीहरूले जुम्लामा ‘भगवान्’ को दर्जा पाए । यो कुरा हुम्लीहरूले अझै बुझेका छैनन् । गाडी खार्पुनाथ–चुवाखोला सडकको जिरो प्वाइन्टमा पुग्यो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कर्णाली प्रदेश सभा दलका नेता जीवनबहादुर शाहीले सडकको उद्घाटनपछि सडक नामकरणको प्रसङ्ग उठाउँदै भन्नुभयो, ‘कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले यो सडकको नाम जनता सडक नामकरण गर्नुभएको थियो । संयोगले आज डा. रोकाया यहीँ हुनुहुन्छ । जनता सडक अन्तर्गतको अरू सडक के भए थाहा छैन तर यो सडकको ७६ किलोमिटरमध्ये ३२ किलोमिटर निर्माण भएको छ । यहीँ सँगैका पुलहरू ठेकेदारका कारण बनेका छैनन् ।’ 


उहाँको भनाइमा खुसी र पीडा दुवै थियो । पूर्वमुख्यमन्त्री शाहीको सार र भाव स्पष्ट थियो । यस सम्बन्धमा सरोकारवाला सबैले थप समन्वय, सहजीकरण गर्दै सव्रिmयता देखाउन पर्ने देखियो । त्यसपछि हामी खार्पुनाथ मन्दिरतिर लाग्यौँ । 

धर्मशाला पहिल्यै बनेको थियो । हिउँदमा टाढा टाढाबाट तातोपानी नुहाउन आउनेहरू यहीँ बस्ने गर्दछन् । चुवा खोला र लुड्प्या खोलाबाट आउने दुध्या दहको पानी दोजाममा मिसिएर गौरी नदी बनेको छ । यस नदीको नामकरण जग्गी वासुदेव अर्थात् ईशा फाउन्डेसनका संस्थापक सद्गुरुले राखेको पाइन्छ । मान्छेहरूले खार्पु दोभान भने पनि प्राकृतिक रूपमा त्रिवेणी बनेको छ । यसमा पार्क बनाइएको छ । यसअघि यस नदीलाई दोजाम खोला भनिन्थ्यो । यस्तै गोरख हिमालबाट नेप्का भएर आउने नदीलाई लोती र सैपाल हिमालबाट आउने नदीलाई कवाडी खोला भन्ने गरिन्छ । यहाँ भूगोल र मान्छेलाई मात्र होइन, नदीलाई समेत हेपिएको छ । खार्पुमा सडक, पुल निर्माण हुँदै छन् । यो पुल बनेपछि औपचारिक रूपमा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको घोषणा हुने छ । 

मन्दिर परिसरमा पु्ग्दा शिवजीको ठुलै सालिक स्थापित भएको देखियो । मान्छेहरू, शक्ति र भक्तिमा विश्वास गर्दछन् । खार्पुनाथ चाहिँ पशुपतिनाथ, केदारनाथ, बद्रीनाथ, मुक्तिनाथ जस्तै लोकप्रिय स्थान हो । यहाँ यज्ञ गर्दा उडेको धुवाँ कुहिरो बनेर पुगेको मुगु छायानाथ पनि पछिल्ला दिनहरूमा लोकप्रिय बन्दै गएको छ । कथा अनुसार यहाँ सतीदेवीको काखी (खार) पतन भएर पुरिएकाले खार्पु भनिएको र यसमा नाथ (शिव) जोडेर खार्पुनाथ भन्ने गरिएको पाइन्छ । महाभारत कालमा पाण्डवहरूले सत्यको जित होस् भनेर प्रतिज्ञा गर्दा यहाँ कोटिहोम लगाएका थिए भन्ने भनाइ सुन्न पाइन्छ । होम लगाएको हुनाले यस क्षेत्रलाई होमला हुँदै हुम्ला भनिएको हो भन्नेहरू पनि छन् । त्यसको महìव बोध गरेर योगी नरहरिनाथले पनि खार्पुनाथमा कोटिहोम लगाएका थिए । धर्ममा विश्वास गर्नेहरूले रल्लिङ, मानसरोवर र कैलाश जानुअघि खार्पुनाथ भएर गए मात्र मनोकामना पूरा हुने दाबी गर्ने गरेको पाइन्छ ।  मन्दिर परिसरमा पुग्दा कर्णाली प्रदेश लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष वसन्ती शाहीले आफ्नो जन्म दिवसका अवसरमा केक काट्नुभयो । सबैले शुभकामना दियौँ । त्यहाँबाट हामी ग्याग्रु पुग्यौँ । चुवाखोला नाका हेर्ने प्रहरीचौकीमा टेको हालेर त्यस आसपासको अवस्था बुझ्यौँ । बैजीबाडा पुग्दा सडक छेउमा एउटा नागढुङ्गा देखियो । यहाँ सडक खन्ने बेला नाग निस्केर खन्नै दिएन भनेको सुनियो । त्यसनजिकै एउटा कालो ढुङ्गामा डंसिल ढुङ्गा अङ्कित नेपालको नक्सा देखियो । यो प्राकृतिक नक्सालाई पुराताìिवक सम्पदाका रूपमा संरक्षण गर्नपर्ने देखिन्छ ।  बैजीबाडा पुग्दा स्थानीय जनसमुदाय लामबद्ध भएर खादा र ध्यु टसी लगाउन थाल्नुभयो । सबैसँग ढोगभेट भएपछि हामी अघि बढ्यौँ । लुबु छे टाक चाङ्बा अर्थात् अग्लो ढुङ्गामुनिको दोजाम गाउँमा पुगियो । दोजामीले बाजागाजासाथ लामै लर्को लागेर स्वागत गर्नुभयो । उहाँहरूले हामीलाई खादा, ध्युको टसी र दैचावल लगाइदिनुभयो । गुम्बाका साथै लसुर, मइठो र गुराको समेत देउता मान्ने दोजामवासीले लामा थर लेखे पनि उहाँहरूको वास्तविक थर छुङ र रवि हो । दोजाममा हाम्रो मुकाम पूर्ववडा अध्यक्ष ताराबहादुर लामाको घरमा भयो । यो बसाइमा स्थानीय बुढापाकाको चासोका विषयहरू सुन्यौ । 

पहिले चाङवासी चाड्ला भन्ज्याङबाट नेपाल प्रवेश गरेका थिए । उनीहरू अहिलेको दोजाममा बस्छन् । दोजाम चुवा खोला र लुड्प्या खोलाबाट आएको पानी मिसिने दोभान हो । सिकारीहरू सिकार खेल्न जाँदा दुवै खोलाबाट आएको हिउँपहिरो र बरफले जमेको देखेपछि यस ठाउँको नाम दोजाम राखेको रहेछ । यहाँ अहिले ८३ घरधुरी छन् । आम्ची बसेको गाउँलाई नेपालीकरण गरी बैजीबाडा नामकरण गरिएको रहेछ । यहाँ २२ घरधुरी छन् । चुवाखोला नाका जाने नेपालको यो अन्तिम गाउँ हो । यो गाउँले रूप फेर्दै गएको छ । गाउँ पनि फराकिलो हुँदै गएको छ । पर्यटकीय आकर्षण बोकेको दोजामका सबै घरलाई घरबासका रूपमा प्रयोगमा ल्याई मनग्गे फाइदा उठाउन सकिने देखिन्छ ।

हाम्रो कपालमा लगाएको ध्यु टसी बिलाउँदै गयो । अनुहारमा चिल्लोपन देखिन थाल्यो । समसामयिक कुरा मच्चिँदै गयो । मैले सांस्कृतिक विषय उठान गरेँ । जाड गाउँतिर ध्युको टसी लगाउनुका कारण के हो ? ताराबहादुरजी रमाइलो मान्छे हुनुहुँदो रहेछ, उहाँले ‘पहिले समाजमा तँभन्दा म ठुलो देखाउन यस्ता संस्कृति जन्मेका रहेछन् भन्ने लाग्छ’ भन्नुभयो । प्रसङ्ग अनुसार बाहुनहरूले जनै लगाउनेलाई गोप्य रूपमा मन्त्र बाँड्दै ठुलो सानो जात भन्न थाले । त्यो बेला भोटका भोट्याहरूले आफ्नो कपालमा थोच्चो बाट्न थाले । बाहुन क्षेत्रीले पशुपालन युगमा गाईको आन्द्रालाई उत्पादनको खास मेसिन मानेर त्यसको महिमा गाउन जनै लगाए भने भोट्याहरूले आफ्नै कपालको रौँलाई कल्की बनाए । खसहरूले तेस्रो नेत्र देखाउन दैचावल लगाए भने भोट्या जाडहरूले जाडोबाट बच्न ध्युको टसी लगाउन थाले । यो चलन चल्दै जाँदा समुदायगत संस्कार र संस्कृति बनेको पाइयो ।

हामीले यस पटक माथिल्लो साँघुसम्म निर्माण भएको सडकको अवलोकन ग-यौँ । यो सडकको रणनीतिक महìव छ । यो नाका वैधानिक रूपमा खुला त छैन तर यो परापूर्वकालदेखि प्रत्येक वर्षा याममा जनस्तरीय सम्बन्ध रहने क्षेत्र हो । यो क्षेत्रमा धेरै प्रकारका जडीबुटी पाइन्छन् । हाडे ओखर र रिगाको जङ्गलै छ । यसको सङ्कलन गरेर तेल बनाउन ठेहेलगायतका गाउँबाट आउने गर्दछन् । फुरु बनाउने तेलाइल्या र भोजपत्रको जङ्गलै छ । अन्य बहुमूल्य रुखबिरुवा पनि छन् । जैविक विविधता र प्राकृतिक भू–बनोटले जिओपार्क भनेर घोषणा गर्न सकिन्छ । चाङ्ला हिमाल जाने बाटो पनि यही हो ।

ताराबहादुरको घरको आतिथ्यता र खानपानपछि धेरै जना भएकाले हामी अर्को घरमा सुत्न गएका थियौँ । भोलिपल्ट बिहानको खाना खान गएको घर पस्दा तीन वटा घरभित्रको अवलोकन भयो । सबै घर एउटै इन्जिनियरिङमा बनेको देखियो । भाँडाकुँडा सजाउने तरिका पनि एउटै छ । सबै घरले सीमा क्षेत्रको सम्पन्नता देखाइरहेका छन् । प्राकृतिक स्रोतको गरिमा बोध गराइरहेका छन् । सबैले धेरथोर भेडाबाख्रा, चौँरी, जुमा, झोपा, घोडा पालेकै छन् । चरन क्षेत्र छ । हामी गाउँ पुगेदेखि फर्कदासम्म गाउँमा वृद्धवृद्धा र केटाकेटी मात्र होइन, युवाहरू पनि देख्यौ, भेट्यौँ । यो गाउँको गतिविधि र सूचनाले अन्तिम गाउँका नाकाहरूको सम्पन्नता देखाइरहेको पायौँ ।

दोजामको यात्राले चीन जोड्ने अन्तिम अन्य नाका र गाउँको याद गरायो । २०७९ को मङ्सिरमा टाँक्या नाका जाने अन्तिम गाउँ नेप्का पुगेका थियौँ । नेप्का जाँदा यहाँको उत्पादनले तीन महिना पुग्छ तर अहिले जडीबुटी र व्यापारले बाँचेका छौँ भन्ने गाउल्याहरूले विगतमा दोभासे खावा लागेर खाएको बताउनुभएको थियो । चङ्खेली गाउँपालिकाको पिप्लाङबाट एक दिनमा नेप्का पुग्न सकिन्छ । नेप्का गाउँको पूर्व–दक्षिणमा मणिलेक छ । यो लेकमा पाँच वटा अग्ला चुचुरा छन् । ती चुचुराले हिउँदभर सूर्यलाई छेक्ने गर्छ । जसका कारण 

मङ्सिरदेखि फागुनसम्म छिन छिनमै घाम लाग्ने, अस्ताउने हुन्छ । यसलाई एकै दिन सात पटक घाम लाग्ने गाउँ भनेर पनि चिनिन्छ । यहाँ पनि हामीले पिप्लाङबाट नेप्कासम्म सडक पु¥याउनै पर्दछ भनेर त्यसअघिदेखि निरन्तर पहल गरिरहेका छौँ ।


जनतासँग माओवादी रूपान्तरण अभियानका व्रmममा २०८० असोज ११ गते हामी लिमी उपत्यका छिरेका थियौँ । पहिलो बास तुङलिङमा भएको थियो । भोलिपल्ट लोलुङजोङ नाकामा पुगेर कैलाश र मानसरोवरको प्रत्यक्ष अवलोकन ग¥यौँ । वनचौँरीलाई नजिकबाट देख्यौँ । बहुपति प्रथा सुरु गराउने लिमी दराको पुख्र्यौली दरबारनजिकैबाट उँधोउँभो ग¥यौँ । क्षितिजमा देखिने कैलाश र नजिकैको मानसरोवर ताललाई अन्तर्राष्ट्रिय सीमा भएका कारण छुन नपाए पनि पृष्ठभूमिमा राखेर आफ्नो तस्बिर लियौँ । फर्कंदा जाङ हुँदै हल्जी गाउँ गएर बस्यौँ । 

मान्छेको स्वभाव बुझी नसक्नु हुने रहेछ । हामी जाङ गाउँमा पुग्दा स्थानीयवासी त्यहाँको गुम्बामा भएका सबै सामान पोको पारेर बसेका देखिए । नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, सशस्त्र प्रहरी निरीक्षक गुन्जन प्रताप मल्लका साथै राजनीतिक दलका जिल्लास्थित नेताहरू आउँदै छन् भनेपछि काठमाडौँ र ताक्लाकोटबाट समेत गाउँमा आएकाहरूले हामीलाई स्वागत गरे, सम्मान गरे । गाउँ छोडेर जान पाऊँ भनी अनुरोध गरे । भृकुटी आधारभूत विद्यालय विद्यार्थी नभएका कारण बन्द भएको बताए । सडक बनेकाले त्यहाँसम्म गाडी चढेरै पुगेका थियौँ । अहिले यहाँ स्वास्थ्य चौकी बनेको छ । प्रहरी चौकी पनि छ । पर्यटकहरू आउजाउ बढ्दै गएको छ । लिमी सबैको चासो र आकर्षक पर्यटकीय गन्तव्य बन्दै छ तर गाउँ खाली हुँदै छ । यो निकै गम्भीर विषय बनेको छ । 

जाङ गाउँमा पाँच वर्षअघिसम्म ६५ घरधुरी थिए । हामी पुग्ने बेला छ घर मात्र थिए । गाउँमा बस्ने भनेका विपन्न र अशिक्षित मात्र हुन् । खेतीपाती गर्न छोडिसकेको देखियो । बसाइँसराइ गरी गाउँ छाड्ने प्रवृत्ति जाङ गाउँमा मात्रै नभएर तिल र हल्जीमा पनि बढेको छ । २०८१ पुस १ गते नागरिक समाचार अनुसार यहीँ हिउँदमा तिल गाउँमा १५ घरधुरी मात्रै बसेका थिए । हामीले जाङका साथै हल्जी गुम्बाको अवलोकन ग-यौँ । यहाँका नागरिकहरू यिनै पुराना गुम्बाका कारण बसेको बताइरहेका थिए । लिमीमा पुराताìिवक महìवका गुम्बा र अन्य सामाग्री छन् । यो क्षेत्र चिनियाँ सांस्कृतिक व्रmान्तिताका चिनियाँहरूलाई लुक्ने सुरक्षित स्थान बनेको थियो । हिजो हुम्लामै पनि छ महिना सम्पर्क नहुने क्षेत्र हो यो । अहिले लिमीका धेरै जना अमेरिका पुगेका छन् । उनीहरूले पहिलो विश्वमा पहुँच बढाएका छन् ।

लिमीबाट याल्बाङ हुँदै हिल्सा गएका थियौँ । २०५२ सालमा जाँदा हिल्सा बगर थियो । २०६५ सालमा पुग्दा ११ घर बनेका देखिन्थे । अहिलेसम्ममा करिब ७२ घर बनेका छन् । हिल्सा बजार भइसकेको छ । हेलिप्याड छ । यो सीमा बजारमा सीमा प्रहरी कार्यालय छ । भन्सार कार्यालय छ । अध्यागमन कार्यालय छ । यसका साथै क्वारेन्टाइन कार्यालय राख्नुपर्ने देखिएको छ । यस नाकाबाट जाँदानजिकैको चिनियाँ बजार ताक्लाकोट हो । चिनियाँहरू ताक्लाकोटलाई पुराङ काउन्टी भन्दछन् । यहाँ २०५२ मा जाँदा हुम्लीहरूले ओढारमा बास बस्नु पर्दथ्यो । २०६८ मा पुग्दा दार्चुलाका व्यापारीलाई सुरक्षित बजार थियो । हुम्ली व्यापारीलाई माटाका असुरक्षित घर थिए । यसबारे तत्कालीन पुराङ काउन्टीका पार्टी उपसचिव तेन्जिन नुर्बुसँग यस पङ्क्तिकारले हुम्लाका व्यापारीलाई सुरक्षित घर र बजारको माग गरेको थियो । यो कुरा अहिले आएर साकार बनेको छ । ताक्लाकोटमा हुम्ली बजार व्यवस्थित छ, आधुनिकपनमा चम्केको छ । यहाँका मान्छेहरू हुम्ला ठेहे र स्याँडाका मान्छेलाई इमानदार देखेर घरेलु काम दिन तयार हुन्छन् । भाषा जानेका कारण लिमीका अधिकांशले ताक्लाकोटमै काम गरिरहेका भेटिन्छन् । पहिले बार्थपाल्या ताक्लाकोटको व्यापारमा थिए भने अहिले हेप्क्यालहरू बढी ताक्लाकोटमा व्यापार गर्छन् । 

हुन त हुम्लाको रिमी, मिमी, मेखाल, पाली, मेल्छाम, चरिगाउँ, कोर्का, पुमा, भुवा कल्लाँस, रादेउ, फुचा, भीमनगर, पानीमूल, बराई, छ्यागी, गोप्का, लाली, प्युस, याङ्चु, दुर्पा, खप्र्यालगाउँ, ताक्ला, बाम्टा, ठेहे, लिमाटाङ, तोर्पा, बरगाउँ, बुराउँस्या, सिमकोट, फया, तांगिन, धिगा, हेप्का, गारपारी, केर्मी, याल्वाङ, याङ्गार, मुचु र तुम्कोट गाउँ पनि सीमा क्षेत्रकै गाउँ हुन् तर यी गाउँहरूले अनकन्टार हिमाल र पहाडका कारण नाकाको अन्तिम गाउँ बन्ने सौभाग्य पाएका छैनन् । यद्यपि यारी गाउँ सुक्खा बन्दरगाहको पर्खाइमा छ । 

चीनको यात्रा गर्दा यही हिमाल र पहाड पर्तिरको समाजवादी चीनले पहाड छेडेर रेल कुदाइरहेको देखिन्छ । डिजिटल कुइचो कार्यव्रmमबाट विश्व हेरिरहेको छ । एकीकृत बस्ती विकासमार्फत गरिबीको नामोनिसान मेटिरहेको छ । बेल्ट एन्ड रोड कार्यव्रmमबाट विश्व बजार विस्तार गरिरहेको छ । हिजो हाम्रो कृषि उत्पादनको बाटो हेर्ने तिब्बतीहरू आज बेइजिङतिर हेरिरहेका छन् । समाजवादी चीनले बेइजिङको राजनीतिक 

सङ्ग्रहालयबाट यो पृथ्वीको सतहमा देखिएको चीनको समृद्धि, समुद्रमुनिको जीवन र रकेटबाट चन्द्रमासम्मको यात्रा अवलोकन गराइरहेको छ । चीनको भविष्य देखाइरहेको छ । 

हामीले यस पटक यात्रा गरेको दोजाम र ठेहे गाउँको दुरी करिब सात किलोमिटरको छ तर आर्थिक–सामाजिक तथा सांस्कृतिक सम्पन्नतामा काफी मात्रामा अन्तर छ । जार थपाल्या र टोपी टाल्या (खस) समाजको हैसियत उत्पादन, व्यापार र भाषाले फरक पारेको छ । ठेहे गाउँ गुजुमुज्ज छ । अति साँधुरा घर छन् । रामपाल देउका विन्तारु तथा बहिदारको परिवारका विजय भण्डारी सिमकोट गाउँपालिकाको अध्यक्ष हुनुभएको छ । उहाँ कुलदेउका कारण पुरानो साँघुरो ठाउँमा घर लगाएर बस्न बाध्य हुनुभएको छ । तर यसै कुलका कैलाश भण्डारीले अर्को फराकिलो ठाउँ खोजेर घर बनाउनुभएको पाइयो । अहिले ठेहेसम्म सडक पुगेको छ । युगले नयाँपनको माग गरेको छ । यस लेखकको पहलमा अध्ययन भएको ठेहे एकीकृत बस्ती विकास प्रतिवेदनको पुनरवलोकन गरी लागु गर्नुपर्ने देखिएको छ । यहाँको विकासका लागि ठेहेको लारुले समेत ब्रान्डिङ हुन पाउनु पर्दछ ।

कुनै बेला उत्तरी नाकाका अन्तिम गाउँहरू हिजो शासकहरूले प्रतिबन्धित क्षेत्र बनाए पनि हामीले कृषि, बिउ र प्रविधि आदानप्रदान, सीमावर्ती बजार विकास, सेवा व्यवसायहरू, पर्यटन क्षेत्र, सांस्कृतिक र प्राकृतिक पर्यटन प्रवर्धन, साझेदारी पर्यटन प्याकेजहरू, होमस्टे र स्थानीय गाइडिङ सेवा सञ्चालन गरेर प्रत्यक्ष लाभ लिन सकिने देखिएको छ । पहिले ऊन र नुनका लागि भोटको बाटो प्रयोग हुन्थ्यो भने अहिले झिनिकिन्ट्या र अन्य लत्ताकपडा ल्याउन प्रयोग भएको देखिन्छ । यसको सट्टा जडीबुटी र कृषि सामग्री निर्यात गर्ने वातावरण बनाउँदा सीमान्तकृत गाउँहरूले सीमा क्षेत्रको फाइदा उठाउन सक्ने देखिएको छ ।

Author

डा. दीपेन्द्र रोकाया