• ३ जेठ २०८२, शनिबार

सिद्धिचरणका काव्यमा स्वच्छन्दतावाद

blog

नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्य धाराको प्रवर्तन युगकवि सिद्धिचरण श्रेष्ठले गरे, यो सर्वविदितै छ । कवि सिद्धिचरण श्रेष्ठले १५ वर्षको उमेरदेखि नै कविता लेख्न सुरु गरे तथा विसं १९९० देखि स्वच्छन्दतावादी सुन्दर कवितालाई जन्म दिन थाले । कविका यी कविता परम्पराबाट टाढिएर नयाँ परिवर्तनसँगै प्रस्तुत भइरहेको थियो । आफ्नो प्रारम्भिक यात्राको समयदेखि नै कवि प्रकृति, जीवन र जगत्लाई साहित्यमा स्थान प्रदान गर्न थाले, नेपाली साहित्यिक भाषालाई लोकभाषासँग सम्बद्ध गर्ने अभियानमा हामफाले तथा नेपाली साहित्यलाई सामन्तवादको बाघपन्जाबाट मुक्त गरे । यस प्रकार कवि नवीनतम भाव तथा नवीनतम प्रयोगद्वारा नेपाली साहित्यमा नयाँ युग सृष्टिका लागि अग्रसर भए । कविताद्वारा समाजलाई एक नयाँ दिशा प्रदान गर्नका लागि कृतसङ्कल्प कवि विसं १९९३ मै आफ्नो ‘उच्छवास’ शीर्षक कवितामा यसरी उद्घोष गर्छन् । 

खोल्नलाई जगको चाला...

के म न लेखूँ अब कविता ?

स्वच्छन्दतावादी प्रवृत्तिबाट ओतप्रोत कविको ‘जुनेली रातमा निर्झर’, ‘साँझमा हिमालयको दृश्य’, ‘प्रातःकालीन किरण’, तथा त्यसपछि लेखेका कविता नयाँ युगको सृष्टि गर्नमा सहायक छन्, साथै कविलाई एउटा सफल स्वच्छन्दतावादी कवि घोषित गर्नमा पनि सक्षम छन् । विसं १९९० पछि नेपाली साहित्य संसारलाई सङ्गीतमय, भावमय तथा आकर्षक बनाउने चेष्टामा कवि जुटे र आफ्नो ‘गीत’ शीर्षक कवितामा आफ्ना सङ्कल्प यस प्रकार अभिव्यक्त गरे 

चाहिन्छ खालि कविता अरू चाहिँदैन

स्रष्टा स्वमय् म छु कुनै अरू चाहिँदैन ।

यस प्रकार कवि ‘नवीन जीवन दृष्टि’, ‘नयाँ उद्देश्य’, ‘नयाँ विन्यास’ लिएर नेपाली काव्य जगत्समक्ष उपस्थित भए । कविका यी प्रारम्भिक कवितामा प्रकृति प्रेम तथा मानव प्रणयका सुन्दर चित्रण पाइन्छ । प्राकृतिक प्रकृति तथा मानव प्रकृतिका उनले गहिरो अध्ययन गरे तथा यस अध्ययनलाई मानव जीवनको अनुभवसँग संयोजित गरेर कविले उत्कृष्ट कविताको रचना गरे । कविद्वारा गरिएको प्रकृति वर्णन तथा मानव नियतिको वर्णनमा जुन कोमलता र सौन्दर्य दर्शन छ, जुन सरलता र प्राञ्जलता छ, दर्शनको जुन गहिराइ छ त्यो नेपाली काव्य जगत्को विशेष उपलब्धि हो । भावको दृष्टिले यी कवितामा जति व्यापक दृष्टि समाहित छ, शिल्पको दृष्टिले पनि नवीनता र मौलिकतालाई अङ्गीकार गरेको छ । 

विसं १९९३ मा लेखेको उनको ‘तारक दल’ कवितामा स्वतन्त्र आकाशमा जगमगाउँदा तारा कविका लेखनीद्वारा कति सुन्दर, आकर्षक र अलङ्कृत ढङ्गले चित्रित भएका छन् । कविको ‘सयपत्री’, ‘रातको झरी’, ‘रात’, ‘गुराँस’, ‘फेरि वसन्त आयो’ जस्ता कवितामा प्राकृतिक चित्रणको दृष्टिले अत्यन्त सुन्दर प्रस्तुति भएको छ । 

प्राकृतिक चित्रणको दृष्टिले कविको ‘ओखलढुङ्गा’ कविता अत्यन्त मनमोहक छ । आफ्नो प्यारो जन्मभूमि ओखलढुङ्गाको प्राकृतिक अङ्ग–प्रत्यङ्ग कविलाई फर्केर आउन आह्वान गरेको प्रतीत हुन्छ । हरेक चोटि वसन्तको नयाँ आगमनका सम्पूर्ण प्रकृति, आत्म सौन्दर्य छरेर कविलाई फर्की आउन अनुरोध गरेको अनुभूति हुन्छ । यस प्रकार यहाँको माटो, पत्थर, नदी, निर्झर सबै कविको प्रतीक्षामा परेला ओछ्याएर पर्खी बसेको प्रतीत हुन्छ । भावको डुङ्गामा चढेर स्मृतिको प्रिय गङ्गामा सयर गर्दै ओखलढुङ्गामा अवस्थित हरेक वस्तुको याद कवि हृदयमा ताजा भएर आउँछ र कवि स्मृति स्वप्नमा डुब्छन् ः

जब चढेर भावको डुङ्गा...

मेरो पियारो ओखलढुङ्गा ।

यस प्रकार कविको ‘कोपिला’, ‘वसन्त’, ‘प्रातःकालीन किरण’, ‘वर्षा’, ‘कोकिल’, ‘शिशिरको चिसो बतास’, ‘सुन्दरीजल’ जस्ता प्रकृतिपरक कविता अत्यन्त आकर्षक र रसमय छन् । 

कविको अनुसार कुमालेको चक्र जस्तै सुखदुःख रूपी चव्रm मानवको परिव्रmमा गरिरहन्छन् । मानव जीवनका सुखदुःख अवश्यम्भावी हो । सुख र दुःखको व्रmम चलिरहन्छ । कहिले सुख र कहिल्यै दुःख । त्यसैले सुखका दिनमा घमण्ड गर्न हुँदैन त्यसै गरी दुःखको दिनमा पनि हतोत्साहित हुनु हुँदैन । 

स्मरणीय छ कि नेपाली काव्य क्षेत्रमा नयाँ प्रवाह प्रवाहित गरेर युगान्तर स्थापित गर्नमा कवि सिद्धिचरणको महìवपूर्ण श्रेय रहेको छ । उनको कविता नवीनताको दृष्टिले सुन्दर त छँदै छ, भाषाको दृष्टिले पनि एकदम सौष्ठताले परिपूर्ण, सुमधुर छ । नवीनताका साथै सौन्दर्य उनको काव्यको विशेषता रहेको छ । उनको उत्तम सिर्जनशीलताको एक झलक मात्र यो कुरा बोध गर्नका लागि पर्याप्त हुन्छ, जुन ‘माथि रहँु’ शीर्षक कविताबाट लिएको छ– 

सङ्कल्पहरूबाट रुझेको जीवन हो एउटा चुनरी...

गम्भीर भावलाई यहाँ अति नै सुन्दर ढङ्गले अभिव्यक्त गरिएको छ । कविको विश्व व्यथा पनि उत्तिकै सजीव र मार्मिक ढङ्गले सिर्जना भएको छ । प्रस्तुत कविता ‘व्यथा काव्य’ हो । कविको छोराको सानै उमेरमा मृत्यु भयो, जस कारण कविको भित्र पितृहृदय वेदना र दुःखले फुटेको छ । 

कवि भगवान्सँग अत्यन्त मार्मिक भावमा सोध्छन् कि मलाई बरु छोरा नै नदिए हुन्थ्यो, दिएर किन असमयमा खोस्नुभयो ?

उति चाँडै नै फर्किनलाई तिमी आएको किन बाबा ? 

छोरो मेरो रुनलाई नै तिमीलाई पाएँ राजा ।

कति वेदना र रोदनपूर्ण छन्– यी शब्दहरू । यो कवितामा अभिव्यक्त मनोवैज्ञानिकता पनि अत्यन्तै हृदयविदारक छ, हृदयभित्रमा अत्यन्त गहिरो ढङ्गले स्पर्श गर्न सक्षम छ । मनको पीडित अवस्थामा दुःख र क्षोभ आवश्यक छ । छोराको मृत्युका कारण यस सृष्टिबाट नै उनलाई घृणा र क्षोभ उत्पन्न भयो ।

यस कवितामा भाव–प्रवाह, उक्ति चमत्कार र कथनको विचित्रताको कति सुन्दर निर्वाह भएको छ । कविको ‘जुनकिरी’ कविता पनि अत्यन्त सुन्दर शैलीमा लेखिएको छ । यसको प्रकृति चित्रण, दृश्य–वर्णन कथा कथन अत्यन्त मनमोहक र कलात्मक छ तथा भाषा पनि अत्यन्त परिपक्व छ साथै उक्ति–सौन्दर्य पनि अनुपम छ । 

‘गोमा’ कविको सुन्दरतम कवितामध्ये एक हो । यस कवितामा कविको स्वच्छन्दतावादी प्रकृति चरम उत्कर्षमा देखा परिरहेको छ । 

‘परिचय’ कविको देशभक्तिपरक रचना हो । देश गौरव, देशको स्वाभिमान तथा नेपालीको वीरताको वर्णन अत्यन्त नै ओजपूर्ण भाषामा कविले अभिव्यक्त गरेका छन् । राष्ट्रियताका सही परिचय यसमा वर्णित छ । भाव र शैली दुइटै दृष्टिले यो कविता प्रभावशाली बनेको छ । स्वाभिमान जगाउने यस्ता जोसिला राष्ट्रिय कविता अत्यन्त दुर्लभ छ–

तातो तातो रगत रिपुको पिउन हरदम तयार

मेरो प्रिय खुकुरी यो हेर भई होसियार ।  

कवि सिद्धिचरणको कविताका नेपालीपन तथा जातीयताको भावनाले ओतप्रोत छन् । ‘भानुभक्तप्रति शीर्षक कवितामा जातीयताको प्रशंसा गर्दै कवि भन्छन्–

हिमगिरिको नानी नानीले विलसित पुलकित नेपाली,

छन् कति राम्रा सरल उज्याला मुखमा अलि अलि मुदुलाली

कति सरल र परिष्कृत भाषामा कविले नेपालीपनका परिचय दिएका छन् । कविको उक्तिमा सर्वत्र विशेष मोहकता, चमत्कार तथा उक्त वैचिœय देखा पर्दछ जुन कविको आफ्नो खास विशेषता हो । 

कविको काव्य कला सौन्दर्य अद्वितीय रहेको छ । मनोहर भाव, गाम्भीर्य, लालित्य, सौन्दर्य, व्यङ्ग्य, व्यजन अर्थ गौरवको दृष्टिले कवि श्रेष्ठको कविता, स्वच्छन्दतावादको चरम उत्कर्षमा पुगेको देखिन्छ । 

कविको ‘ककनी’ शीर्षक कविता काव्य सौन्दर्यको दृष्टिले अत्यन्त महìवपूर्ण सिद्ध भएको छ । ककनीको प्रकृतिलाई प्रियतमा उपाधिले अलङ्कृत गर्ने स्वच्छन्दतावादी कवि सिद्धिचरण श्रेष्ठ एक सिद्ध कलाकार जस्तै चित्र प्रस्तुत गर्दछन् । 

नवीन कल्पना गर्दै ककनीलाई प्रियतमा तथा हिमाललाई प्रियतमका रूपमा चित्रित गरेर कविले एक अमर प्रेमी र प्रेमिकाका रूप प्रदान गरेका छन् । 

आफ्नो प्रेम मार्गमा आउने बाधा एवं अवरोधलाई पराजित गर्दै गन्तव्य प्राप्तिका लागि गतिशील प्रेम र प्रेमिकाको परस्पर प्रेमको वर्णन गर्दै कवि भन्छन्–

हिमाल तथा ककनी रानी, प्रेम परस्पर गहिरो जोडी

पुग्न कतैतिर दौडिरहेछ, बिचको बन्धन तोडी । 

दुःख र वेदनाले युक्त जीवनमा शान्ति प्रदान गर्ने आमा पूजनीय छिन् । प्रकृति आमा आफ्नो ममतामयी आँचल फैलाएर सधैँ आफ्नो सन्तानलाई ममता र संरक्षण प्रदान गर्छिन् । प्रकृतिको काखमा बस्न र आनन्द लिनका लागि कवि ‘उर्वशी’ मा आह्वान गर्छन् । 

स्वच्छन्दतावादी कवि सिद्धिचरण श्रेष्ठको काव्यमा प्रकृति, दुःख र आँसु, विद्रोह, जिज्ञासा, आध्यात्मिकता, इतिहास र संस्कृतिप्रति आस्था, नारीप्रतिको सद्भाव, मानवतावाद र विश्वबन्धुत्व आदिको भावना अत्यन्तै सुन्दर ढङ्गले अभिव्यक्त भएका छन् । भावको गहिराइ र अभिव्यञ्जना प्रणालीको सशक्तताले कविको कवितालाई कलात्मक सौन्दर्य प्रदान गरेको छ । 

भाव, भाषा, अनुभूति, अभिव्यक्ति, हरेक दृष्टिले कवि श्रेष्ठ स्वच्छन्दतावादी काव्य धाराको प्रतिनिधि कविका रूपमा सफल देखा पर्दछन् । 

उनको कतिपय रचना गीतात्मकताको गुणले परिपूर्ण छन् । गीतिकाव्यात्मक अभिव्यञ्जनाको दृष्टिले पनि कवि वर्णमात्रिक, मात्रिक तथा नवीन लयात्मक शैलीका सिद्धहस्त देखिन्छन् । 

उनले कलात्मक सौन्दर्यको सँगसँगै मानवीय संवेदना र मानवीय सम्बन्धको निर्वाह अत्यन्त सक्षमता तथा कौशलताका साथ गरेका छन् । 

स्वच्छन्दतावादीको एउटा विशेषता रहस्यवाद तथा आध्यात्मिक चेतना पनि हो । कवि श्रेष्ठ मूलतः स्वच्छन्दतावादी, प्रकृतिवादी, अध्यात्मवादी र मानवतावादी कविका रूपमा रहे । 

उनमा स्वच्छन्दतावादी प्रवृत्ति आरम्भदेखि अन्त्यसम्म रहेको पाइन्छ । कहिले अत्यन्त वेगवान रूपमा र कहिले केही शिथिल रूपमा देखा पर्दछ तर जीवनका उत्तरार्धमा पुनः स्वच्छन्दतावादी प्रवृत्ति आफ्नो उत्कर्ष स्थान लिएको देखिन्छ । कवि आत्माको गहिरो अस्तित्वलाई स्वीकार गर्दै आत्माप्रतिको निर्भरतालाई ‘देवघाट’ शीर्षक कवितामा यस प्रकार व्यक्त गरेका छन्– 

भाषा तिमीलौ अब चुप होऊ, आत्मा कहाँ पुग्न मलाई देऊ 

आत्मा भुलेमा सब अन्धकार, आत्मा खुलेमा सब ज्योतिधार ।

वास्तवमा आत्मज्ञान प्राप्तिपछि सर्वत्र उज्यालो नै देखा पर्दछ । कविको अनुसार आत्मा अजर अमर छ । सत्चित् आनन्दमय ब्रह्मको स्वरूप देवघाट आएपछि कविको हृदयमा प्रकाशवान् भएको अनुभूति हुन्छ । संसारको निःसारता र भौतिक वास्तुको मिथ्या स्वरूपलाई नै असल सम्झेर कवि आफ्नो दृष्टिकोण यस प्रकार अभिव्यक्त गर्दछन्– 

रहेछ जो रत्न ममा, प्रस्तुत हुँदै छ विस्तार ममा प्रदीप्त

अमूल्य यो रत्न छुँदा मलाई संसार कौडी सरी हुन्छ भाइ ।

समासतः कवि श्रेष्ठ स्वच्छन्दतावादको प्रवर्तक कविका रूपमा सफल देखिन्छ । सरल, सरस, सुन्दर अभिव्यञ्जनासहित उनका सुन्दर कविता हृदयस्पर्शी छन् । व्यक्तिगत भावुकता, सौन्दर्यानुभूति तथा प्रकृति प्रेम, वेदना र करुणाको प्रचुरता, नारीप्रतिको सम्मानजनक दृष्टिकोण, अज्ञात सत्ताप्रति आस्था, मानव प्रेम र मानव कल्याण तथा विश्वबन्धुत्वको भावनाले ओतप्रोत उनका कविता भावको दृष्टिले जति सबल छन्, अभिव्यञ्जना शैलीको दृष्टिले पनि त्यतिकै स्वच्छन्दतावादी प्रवृतिलाई अङ्गीकार गर्न सक्ने समर्थनवान् देखा पर्दछ । 

विशेषण–विपर्यय, ध्वन्यात्मकता, लाक्षणिकता, उक्ति–वैचित्य, अमूर्तभावलाई मूर्त विधान आदिका सुन्दर विधान कवि श्रेष्ठको कवितामा आफ्नो उत्कर्षमा पुगेको देखा पर्दछ । 

स्वच्छन्दतावादी भाव, विषय र शैलीगत विशेषतालाई लिँदै श्रेष्ठको कविता समृद्ध रूपमा हाम्रोसामु प्रस्तुत भएको पाइन्छ । निश्यच नै उनी स्वच्छन्दतवादको सफल कविका रूपमा चिरस्मरणीय रहने छन् ।