• १६ भदौ २०८१, आइतबार

परसपुर–गौघाट सडक खण्ड

सम्झौता सकिन १३ दिन बाँकी, काम २० प्रतिशत मात्रै

blog

परसपुर–गौघाट सडक खण्ड । तस्बिर : गोरखापत्र

कमल खत्री

धम्बोझी, भदौ ११ गते । बाँके र बर्दियाको पश्चिम क्षेत्रका जनताले दैनिक दुःख पाइरहेको परसपुर–गौघाट सडक खण्डको कालेपत्रे निर्धारित समयमा नबन्ने भएको छ । भदौ २५ गते सडक निर्माणको सम्झौता सकिदैछ । तर काम भने करिब २० प्रतिशत मात्र भएको छ । 

सङ्घीय सरकारको लगानीमा बन्न लागेको उक्त सडक खण्ड निर्माणको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । नेपालगन्जको परसपुर देखि गौघाट सम्म १४ किलोमिटर सडक कालोपत्रे गर्नको लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । 

करिब १४ करोडमा कन्काई–गणपति जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माण कार्यमा भने सुरुआत देखि नै ढिलाइ हुँदै आएको थियो । ठेकेदारको लापरबाहीका कारण परसपुर–गौघाट सडकको कालोपत्रे नहुँदा यहाँका स्थानीयले थप दुःख पाइरहेका छन् । 

नेपालगन्ज उप–महानगरपालिका, जानकी, खजुरा गाउँपालिका र बर्दिया बढैयाताल गाउँपालिकाका जनताले दैनिक प्रयोग गर्ने सडक हो परसपुर–गौघाट सडक खण्ड । सडक डिभिजन कार्यालय नेपालगन्जका प्रवक्ता इन्जिनियर अमिर सुवेदीका अनुसार हाल उक्त योजनाको २० प्रतिसतमात्र काम सकिएको छ । 

सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरू केही प्रगति भएको छ । निर्माण कार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरेपनि सम्पर्कमै नआउने गरेको इन्जिनियर सुवेदीले बताउनुभयो । 

ठेक्का पाएको कम्पनीको लापरबाहीका कारण समयमै योजना सम्पन्न नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले समयमै योजना सम्पन्न गर्नको लागि ठेकेदार कम्पनीलाई दबाब दिँदै आएका छौँ । कानुनी रूपमा कारबाहीको लागि प्रक्रिया पनि अगाडी बढाएका छौँ । तर प्रगति भने निराशाजनक छ ।’’

सम्झौता अनुसार कन्काई–गणपति जेभिले २०७९ वैशाख देखि निर्माण कार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने सर्त रहेको छ । परसपुर–गौघाट सडक खण्ड निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै यहाँका स्थानीयले आन्दोलन समेत गरेका थिए । खजुराका जनताले स्थानीय जनप्रतिनिधि र सडक डिभिजन कार्यालयमा गएर सडक निर्माण कार्यलाई छिटो सम्पन्न गर्नु पर्ने दबाब दिँदै आएका छन् । 


सडक समयमै निर्माण नभएको भन्दै स्थानीयले खजुरा गाउँपालिका वडा नम्बर २ को कार्यालयमा तालाबन्दी समेत गरेका थिए । तर हाल सम्म यसका बारेमा भने कुनै सुनुवाइ भएको छैन । बाँकेको पश्चिम क्षेत्रमा पर्ने उक्त सडक खण्डले सीमावर्ती क्षेत्रका बाँके र बर्दियाका जनतालाई नेपालगन्जसँग जोड्ने काम गर्छ ।

२०७४ सालमा सडकको कालोपत्रे निकालेर पिच गर्ने योजना अगाडी सारिएको थियो । तर हाल सम्म पनि उक्त सडकको स्तर वृद्धि हुन सकेको छैन । जसका कारण स्थानीले समस्या भोग्दै आउनु परेको छ । चार महिना अघि आन्दोलनको अगुवाइ गर्नु भएका स्थानीय रेशम क्षेत्रीले ठेकेदार कम्पनीले सम्झौता अनुसार बाटो निर्माण कार्य समयमै गर्नुपर्ने माग राख्नुभएको थियो । 

पटक–पटक निर्माण कम्पनीलाई दबाब दिएपनि काम हुन नसकेको खजुरा गाउँपालिका वडा नम्बर २ अध्यक्ष धनराम ओलीले बताउनु भयो । वडा कार्यालयमा लागेको ताला सहमतिमा खोले पछि वडा अध्यक्ष ओलीले ठेकेदार कम्पनीले काम नगरे कानुनी रूपमा कारबाहीको लागि सरकारले प्रक्रिया अगाडी बढाउनु पर्ने बताउनुभयो ।

यसैगरी गत माघ महिनामा सम्झौता अनुसार सन्तोष जनक काम नगरेको भन्दै सडक डिभिजन कार्यालय नेपालगन्जले कन्काई–गणपति जेभी सहित ९ वटा कम्पनीलाई सातदिन भित्र कार्य सम्पादन सन्तोष जनक नभएको बारेमा लिखित प्रतिवेदन सहित कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

कन्काई–गणपति जेभिका प्रमुख तुलसीराम भण्डारी भदौ २५ गते सम्म निर्माण कार्य सम्पन्न हुन नसक्ने बताउनुभयो । अहिले वर्षातको समय भएकोले पिच गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘‘आर्थिक मन्दिका कारणले पनि समयमै काम सम्पन्न गर्न सकिएन । सम्झौता अनुसार भदौ २५ गतेसम्म काम सम्पन्न गर्न कठिन छ । करिब ८ महिना अझै हामीलाई समय लाग्छ । त्यसको लागि हामी सरकारसँग समय माग गछौँ ।’’