• १६ भदौ २०८१, आइतबार

बाँकेको चिसापानीमा कोदोको परीक्षण

blog

बाँकेको गाभरमा कोदोको परीक्षण हुँदै । तस्बिर : सिराज खान

सिराज खान

नेपालगन्ज, भदौ ११ गते। सुख्खा ठाउँमा समेत सहन गर्न सक्ने नौ प्रकारका कोदोको बाँकेको चिसापानीको गाभरस्थित सामुदायिक जिन बैंकमा परीक्षण सुरु गरिएको छ। 

राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाका अनुसार स्थानीयको साझेदारीमा कोदोको परीक्षण सुरु भएको हो। 

रैथाने बालीको संरक्षण, सुख्खा ठाउँमा समेत कोदो जस्तो महत्त्वपूर्ण रैथाने बाली लगाउन मिल्ने गरी कोदोको बिउको परीक्षण गरिएको हो। परीक्षण गरिएका नौमध्ये पाँच वटा जिन बैंकले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेको र अन्य दुईवटा किसानका जात छन्।

प्राविधिक थापाका अनुसार अहिले लगाएको कोदोको प्रतिफल मङ्सिरसम्म आउनेछ। प्रतिफल सकारात्मक नै हुने आशा गरिएको बताउँदै उहाँले त्यसपछि व्यावसायिक खेतीको कामलाई प्रोत्साहन गरिने जानकारी दिनुभयो। परीक्षण सफल भएको खण्डमा सुख्खा ठाउँमा समेत कोदोखेती गरेर आयआर्जन गर्न सकिने थापाको भनाइ छ।

२०७८ सालमा चिसापानीको गाभरमा सरकारले पहिलो सामुदायिक जिन बैंक स्थापना गरेको थियो। त्यहाँ कोदोको उत्पादनको प्रशस्त सम्भावना रहेको घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले बताउनुभयो। उहाँका अनुसार हालसम्म नार्कले तराईमा समेत लगाउन सक्ने एउटा कोदोको जात विकास गरेको छ। 

गाभरमा सुरु गरिएको कोदो परीक्षणले जिल्लाका किसानलाई समेत उत्साहित बनाएको छ।  सामुदायिक जिन बैंक स्थापनासँगै समुदायस्तरमा त्यसको सञ्जाल विस्तार गरेर विभिन्न ठाउँमा कृषि जैविक विविधता संरक्षण गरिएको सञ्जालका अध्यक्ष पुरमल बस्नेतले जानकारी दिनुभयो। उहाँले सो कार्यमा स्थानीय किसानले पनि सहयोग गरिरहेको बताउनुभयो।