ठाकुरप्रसाद आचार्य
बागलुङ, भदौ ११ गते । बागलुङमा ऐतिहासिक हनुमान नाच सुरु गरिएको छ । नेवारी समुदायमा मौलिक सांस्कृतिक नाचका रुपमा रहेको हनुमान नाच ९ वर्षपछि विधिपूर्वक पूजा गरी देखाउन थालिएको हो ।
हनुमान नाच संरक्षण परिषद् बागलुङको आयोजनामा नाच प्रदर्शन गरिएको हो । हनुमान नाच नेवार समुदायको सांस्कृतिक पहिचान हो । बागलुङमा नेवार समुदायले करिब ३ सय पचास वर्ष पहिलादेखि हनुमान नाच देखाउँदै आएका छन् ।
विसं २०७२ पछि यो वर्ष विधिवत् रूपमा हनुमान नाच देखाउन सुरु गरिएको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । हरेक ५-५ वर्षमा देखाउनुपर्ने हनुमान नाच भने कोरोनाका कारण नौ वर्ष पछि देखाउन लागिएको उहाँले बताउनुभयो। तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने प्रचलन रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
बजारको नारायण चोकस्थित नारायण मन्दिरबाट पूजा विधि गरी हनुमान नाच सुरु गरी विभिन्न चोक र गल्ली हुँदै बजार परिक्रमा गर्ने प्रचलन छ । अहिले सुरु भएको नाच विभिन्न समयमा बजारका टोल र गल्लीहरुमा देखाउँदै चैत महिनामा पूजाविधि गरी समापन गर्ने प्रचलन रहेको छ ।
पाका पुस्तासँगै युवाहरु पनि हनुमानको भेष पहिरिएर नाचेका छन् । मृदङ्गा र झ्यालीको ताल सँगै ‘अखडा’मा लौरो समाएर युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्ने गर्दछन् । २१ वर्षको उमेरदेखि हनुमान नाच नाच्दै आएको स्थानीय युवा अभिषेक श्रेष्ठले बताउनुभयो । मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि आफूले हनुमान नाच नाच्न सिकेको उहाँले बताउनुभयो।
नयाँ पुस्तामा हनुमान नाचका बारेमा ज्ञान, कला र सीप सिकाउन एक महिना अघि देखि तालिम तथा प्रशिक्षण दिइएको हनुमान नाचका प्रधान कजी ईश्वरप्रसाद श्रेष्ठले बताउनुभयो ।
नाचका लागि १३ जोडी हनुमानको भेषमा सजिएका करिब ५० देखि ६० जना कलाकार आवश्यक पर्ने उहाँले बताउनुभयो । यसपालिको हनुमान नाचमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहेको उहाँको भनाइ छ ।
भदौको पहिलो मङ्गलबार हरेलो परेकाले दोस्रो मङ्गलबारदेखि नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेर नाच सुरु भएको प्रधान कजी श्रेष्ठले बताउनुभयो । कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ । विभिन्न दश तालमा यो नाच नाचिन्छ ।
धेरै कलाकारहरुको आवश्यक पर्ने हुँदा हनुमान नाच करिब ९ देखि १० लाख रुपियाँ खर्च हुने परिषद्का अध्यक्ष श्रेष्ठले बताउनुभयो । पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुने उहाँले बताउनुभयो ।
नाच सञ्चालनका लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत आवश्यक पर्दछ ।
देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा कलाकार नाच्ने गर्दछन् । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुधाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्दा बजार नै गुन्जायमान भएको छ । हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गर्ने परम्परागत प्रचलन हो ।
हनुमान नाच उत्पत्ति भएको भक्तपुरमा लोप भए पनि बागलुङमा भने नेवार समुदायले नाचलाई जीवित राखेको नेपाल भाषा मंकाःखलःका अध्यक्ष मुकेशराज राजभण्डारीले बताउनुभयो । पछिल्लो समय युवापुस्ता पनि हनुमान नाचको संरक्षणमा जुटेका छन् ।