• ५ जेठ २०८१, शनिबार

‘उपलब्धिको रक्षाका लागि गठबन्धनले जित्नुपर्छ’

blog

गोकर्ण पौडेल/लीलाधर वली 
घोराही, वैशाख २५ गते। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको संघर्ष र त्यागबाट प्राप्त उपलब्धिको रक्षाका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताउनुभएको छ। पाँच दलीय गठबन्धनले दाङको घोराहीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनले चुनाव जितेको खण्डमा मात्रै उपलब्धिको रक्षा हुनसक्ने बताउनुभएको हो। 

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधामन्त्री देउवाले आज उपलब्धि बचाउने कि नबचाउने भन्ने महत्वपूर्ण प्रश्न खडा भएको भन्दै उपलब्धि बचाउनका लागि गठबन्धनलाई निर्वाचनमा जिताउन जनतासँग आग्रह गर्नुभयो। निर्वाचनमा गठबन्धनले हारेपछि गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्वलगायतका जनताका उपलब्धि संकटमा पर्ने भन्दै उपलब्धि रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो। 

‘‘गणतन्त्र, संघीयता, समावेशी समानुपातिक प्रतिनिधित्वलगायतका उपलब्धिको  रक्षाका लागि निर्वाचनमा गठबन्धनले जित्न आवश्यक छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो। 

उहाँले गठबन्धन अहिलेको आवश्यकता रहेको भन्दै गठबन्धनलाई दीर्घकालीन रुपमा लग्ने गरी सोच्न सबैलाई आग्रह गर्नुभयो। देश संकटमा परेको समयमा देशलाई बचाउनका लागि पाँच दलीय गठबन्धन बनेको भन्दै गणतन्त्र, संघीयतालगायतका उपलब्धिको स्थायित्वका लागि गठबन्धन अझै केही वर्ष आवश्यक रहेको धारणा राख्नुभयो। 

‘‘गणतन्त्र, संघीययतालगायतका उपलब्धिको स्थायित्वसँगै देशको विकासका लागि गठबन्धनलाई दीर्घकालीन रुपमा अघि बढाउन आवश्यक छ। त्यसका लागि तपाईले निर्वाचनमा गठबन्धनका पक्षमा मतदान गरेर जिताउनुपर्छ’’, प्रधानमन्त्री देउवाले भन्नुभयो। 

संसदमा उहाँको बारेमा कुरा उठाउँदा संविधानले कल्पनै नगरेको संविधान दुई पटक विघटन गरेर देशलाई संकटमा लग्ने काम गरेको आरोप लगानुभएको थियो। प्रधानमन्त्री देउवाले ओलीले विघटन गरेको संविधान पाँच दलीय गठबन्धनले अदालतमार्फत् फर्काएर यहाँसम्म ल्याएको बताउनुभयो।