• ९ मंसिर २०८१, आइतबार

जलवायु परिवर्तनको असर, हराए मौलिक माटाका घर

blog

मौलिक सभ्यता बोकेका मनाङका पुराना घर ।

यदुप्रसाद भट्ट 

मनाङ, भदौ ११ गते । सडक सञ्जालको विकास र आधुनिकताका नाउँमा मनाङमा पुरानो मौलिक परम्परा र सभ्यता हराउँदै गएको छ । हिमालको फेदसम्मै यातायात पुग्नाले पनि पुराना संस्कृति संस्कार हराउँदै गएका छन् । सडक सञ्जाल विस्तारले पर्यटकलाई आकर्षित गर्दा होटेल व्यवसाय पनि फस्टाउन थालेको छ ।

करिब पाँच वर्षअगाडिसम्म यहाँ माटो, काठले छाएका घर भेटिन्थे । अहिले पुराना घर मासिँदै गएका छन् । स्थानीयवासीका अनुसार यहाँका घर बनाउँदा घरको बिमलाई याकचौँरीको सिङले बाँधेर कडा बनाइन्थ्यो । मनाङ ङिस्याङ गाउँपालिका–१, पिसाङका ८१ वर्षीय याङ्दुङ गुरुङले भन्नुभयो, “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेका फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो ।” 

पर्यटकलाई सहज भन्दै कङ्क्रिटका घर आवश्यक परेको उहाँको भनाइ छ । हुन पनि पुराना अँध्यारा र साँघुरा घरमा पर्यटक बस्न रुचाउँदैनन् । पर्यटकका लागि भने पनि पुराना घर भत्काएर नयाँ कङ्क्रिटका घर बनाउनु मनाङीको बाध्यता हो । गुरुङ जङ्गलमा गएर सल्लाका रुख काटी फ्ल्याक बनाएर घर बनाइने प्रचलन हराउन थालेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जस्ताको घर बनाए पनि पानी चुहिन्छ । घर पनि चिसो अनि हिउँ पर्दा झन् चिसो हुन्छ । पुराना माटो र सल्लाका काठले बनेको घर न्यानो अनि सुरक्षित थियो । अहिले त फेरिएको छ । यहाँको स्वरूप पनि फेरिन थालिसक्यो ।” 

पानी नै नपर्ने मनाङमा अहिले जलवायु परिवर्तनले गर्दा पानी पर्न थालेको छ । काठ र माटोले मात्र बनेको घरमा बस्न मिल्दैन । उहाँले भन्नुभयो, “पहिले तल्लो मनाङमा मात्रै पानी परेको थाहा पाइन्थ्यो । अहिले त माथिल्लो मनाङमा पनि पानी पर्छ । हामीले सानैदेखि यहाँ पानी परेको थाहा पाएका थिएनौँ । अहिले पानी पर्न थालेपछि पुराना घर मासिँदै गए ।”  

पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले पर्यटकीय हिसाबले यस क्षेत्रका पुराना घर संरक्षण गर्नु आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले पानी नै नपर्ने स्थानमा पानी पर्न थालेपछि सुरक्षाका लागि पनि पुराना माटो र काठका घर मास्न बाध्य भएको बताउनुभयो । गत वर्ष वर्षाकै कारण माटो र काठको घर भत्किँदा मानवीय क्षति भएको उहाँले उल्लेख गर्नुभयो ।  

पहिले एकै ठाउँमा झुप्प परेका घर बनेका हुन्थे तर विस्तारै कङ्क्रिटका घर अग्ला र जस्तापाताले छाएर बनाउन थालिएका छन् । मनाङ ङिस्याङ गाउँपालिका–९ का निवर्तमान अध्यक्ष रिन्जेन दोर्जे गुरुङले झुप्प परेका घर पर्यटकको रोजाइ हुने गरेको बताउनुभयो । उहाँले मौसमी अनुकूलताले परिवेश फेरिँदै गएको र पुराना घर अस्तित्वका रूपमा रहेका मनाङको पहिचान गुमाउनुपर्ने अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटकले यहाँका घरका बिममा याकका सिङले बाँधेको हेर्ने गर्थे । अहिले विस्तारै त्यस्ता घर पाइन छोडेको हो ।” गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजङ्ग गुरुङ पर्यटकीय स्थान भएकाले पुराना संरचनाको संरक्षण हुने गरी घर निर्माणलाई जोड दिनुपर्ने बताउनुहुन्छ । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामा हालसम्म मोटर बाटो नपुगेका ठाउँमा जस्तापाताको प्रयोग गरेर घर बनाउन बाध्य भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “माटो र काठको घरको छानामा हिउँ बस्थ्यो । हिउँ फालेर बस्ने गरिन्थ्यो । अहिले पानी पर्ने क्रम बढेसँगै नार गाउँमा जस्ता र सिमेन्ट प्रयोग बढेको छ ।” नार गाउँमा जस्तापाता र काठको घर निर्माण हराउन थाले पनि फु गाउँमा भने पुराना घर छन् तर पानी पर्ने क्रम बढेसँगै जोखिम बढ्दो छ । 

नासोँ गाउँपालिका–८, ताचै गाउँका पुराना घर मासिँदै गएका छन् । मनाङको प्रवेशद्वारमा बनेका घरको स्वरूप परिवर्तन हुँदै आएको छ । नासोँ–८ का निवर्तमान अध्यक्ष हुपजङ्ग गुरुङले सुरक्षित बसोबासका लागि पनि यहाँका घर बनाउँदा जस्ता प्रयोग गर्न बाध्य भएको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्र भएकाले स्वरूप उस्तै देखिने गरी घर निर्माण गर्न अनुरोध गरिएको बताउनुभयो । यहाँका ताचै, तिल्चे, थोँचे, दानाक्यु, ओडार गाउँ, थानचोक, माथिल्लो मनाङ, पिसाङ, हुम्डे, नार, फु, मनाङगाउँ, खाङ्सारलगायतका गाउँका मौलिकता आधुनिक घर निर्माणसँगै फेरिँदै गएका हुन् ।