• १६ भदौ २०८१, आइतबार

अझै पूरा भएन मिनी रङ्गशाला

blog

सिन्धुपाल्चोक समाचारदाता 

सिन्धुपाल्चोक, भदौ ११ गते   । निर्माण सुरु भएको पाँच वर्ष पुग्दासमेत चौतारा मिनी रङ्गशालाले अझै पूर्णता पाउन सकेको छैन । ४१ करोड ६२ लाख रुपियाँ लागतमा साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको उक्त रङ्गशालाको काम ५० प्रतिशत पनि सम्पन्न भएको छैन ।

निर्माण कम्पनीको लापर्बाहीका कारण मिनी रङ्गशाला निर्माणमा  ढिलाइ भएको हो । रङ्गशाला निर्माण सम्झौताको मिति सकिएर म्याद थप गरिए पनि निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै रङ्गशालाको काम अलपत्र पार्दै आइरहेको छ । निर्माण कम्पनी गिरी कन्स्ट्रक्सनले साझेदार जेबी लिम्बू सुनकोशीलाई रङ्गशाला निर्माणका काम अघि बढाउन जिम्मेवारी दिएपछि कछुवा गतिमा काम अघि बढेको छ । 

अहिले ४० जना कामदारले निर्माणको काम गरिरहेका छन् । साढे पाँच वर्षमा तीन वटा प्यारापिट निर्माण भएको छ भने अझै तीन वटा प्यारापिट निर्माण गर्न बाँकी छ । मिनी रङ्गशाला फुटबल मैदान अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मापदण्ड अनुसार सय मिटर लम्बाइ ६५ मिटर चौडाइ निर्माण गर्नुपर्ने छ । छ हजार दर्शक क्षमता र पाँच सय सवारी साधन राख्ने क्षमताको पार्किङ, डे«सिङ रुमलगायतको संरचनापर्ने रङ्गशाला बन्ने छ । 

जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले रङ्गशालाको कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई पटक पटक आग्रह गरिए पनि विभिन्न बहानामा ढिलासुस्ती गर्दै आएको बताउनुभयो । बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कुमारी मोक्तान, पूर्वभौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, प्रतिनिधि सभा सदस्यलगायतले तोकिएको समयभित्र रङ्गशालाको काम सक्न भन्दै आए पनि निर्माण कम्पनीले वास्ता नै नगरी मनलागी काम गर्दै आइरहेको बताएका छन् । 

तोकिएको समयमा रङ्गशाला निर्माण सम्पन्न नहुँदा खेलकुदका कार्यक्रम अन्यत्र हुने र खेलाडी पलायन भइरहेका छन् । निर्माण कम्पनीको लापर्बाहीले तोकिएको भन्दा दोब्बर समय लाग्दासमेत रङ्गशाला निर्माण नहुनुमा केही राजनीतिक दलका नेताको संरक्षण रहेको पनि आरोप पनि स्थानीयले लगाउँदै आएका छन् ।