• ८ मंसिर २०८१, शनिबार

मष्टो देवताका मेला (पैठ) सुरु

blog

मष्टो धलपुराको पैठ अर्थात् जात्रा हेर्दै स्थानीय नागरिक। तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा

कालीकोट, भदौ, १० गते । कालीकोट जिल्लामा मष्टो देवताका पूजा सुरु भएको छ । भदौ लाखेसँगै विभिन्न १२ भाइ मष्टोका पूजा सुरु भएको हो । 

धर्म अनुसार यहाँका नागरिकहरू देवताको पूजाका लागि व्रत बस्नुका साथै रातभर जागाराम समेत बस्ने गर्छन् । मष्टो देवताको पूजा, मेला(पैठ) मा धामीले नाच्ने गरेका छन् । नाच्ने धामीले एक दिनभरि अन्न प्रसाद केही पनि खान मिल्दैन । कसैले फलफूल खान्छन् भने कुनै धामी अर्थात् झाँक्रीले त पानी समेत नखाएर निराहार व्रत बस्ने गर्छन् । 

कालीकोट यस्तो जिल्ला हो, जहाँ मष्टो देवताहरूको आधार इलाका नै छ । कालीकोटमा १२ भाइ मष्टाका पैठ गाउँगाउँमा चलेको छ । देवताप्रति नागरिकहरूको उतिकै विश्वास पनि छ । मानिस बिरामी पर्दा, अन्याय पर्दा, कसैले विभेद गर्दा कानुनी निकायभन्दा देवी देवता रोज्ने गर्दछन् । त्यसपछि मात्र अस्पताल, प्रहरी प्रशासन र न्यायालय जाने गर्छन् । परिवारको राम्रो कामका लागि होस् वा शुभकार्यका लागि देवताको आशीर्वाद लिने कालीकोटका नागरिकको चलन छ । देवतालाई यहाँ पहिलो अस्पताल, पहिलो न्यायालय र पहिलो अभिभावकका रूपमा लिने गरिन्छ । 

यहाँ कालाशिल्लो, मष्टो धलपुरो, दाडे मष्टो, कामल्या मष्टो, सिमष्टो, खोदाई मष्टो, बज्यूमष्टो, रमालमष्टो लगायतका १२ वटा मष्टो देवता छन् । वर्षभरिमा कुनै देवताको माघ शुक्ल पूर्णिमा, जेठ शुक्ल पूर्णिमा, साउन शुक्ल पूर्णिमा र दसैँको समयमा जुहारे पणिमाको बेला गरी चारपटक भव्य पाठ पूजा गर्ने गरिएको छ । खाँडाचक्र नगरपालिका निवासी बिना कुमारी शाहीले अन्य निकाय भन्दा नागरिकको विश्वास देवता प्रति रहेको बताउनुभयो । 

पेसाले शिक्षक समेत रहनुभएकी शाहीले पहिलो कुरा आत्मविश्वास र दोस्रो भनेको साथी भाइ दिदिवहिनीसँगको भेटघाट हुने हुँदा देवताका पूजा (पैठ)मा नागरिकहरूको भिड लाग्ने गरेको बताउनुभयो । बिना कुमारी शाही जस्तै भनाई खाँडाचक्र नगरपालिका ३ का रोषन पाण्डेको पनि छ । पाण्डेले पनि हामी सबैको मनलाई शान्त पार्ने देवताको पूजा नै नभएको बताउनुभयो । देवताका धामी काप्दै आएर हात टाउँमा राखेर ल म भए भनेकै भरमा धेरै बिरामी निको भएको आफैँले देखेको बताउनुभयो ।

देवता प्रति निकै विश्वास भएकाले आत्मा शान्तिका लागि पनि यस्ता पूजामा नागरिकको भिड लाग्ने गरेको बताउनुभयो । देवताका मेलामा नागरिकहरूको निकै ठुलो भिड लाग्ने गरेको छ । 

जिल्लाका ग्रामीण समुदायका मात्र होइन सहरमा बसोबास गर्ने र सरकारी निकायमा कार्यरत कर्मचारी समेत आत्मा शान्तिका लागि आफ्नो कुल पूजा तथा मष्टोका पूजामा सहभागी हुन्छन् । नरहरीनाथ ९ का सबिन कुमार विष्टले आत्मा शान्तिका लागि आफू मष्टो देवताका थान अर्थात् मन्दिरमा पुगेको बताउनुभयो । खाँडाचक्र नगरपालिका ३ का मष्टो धलपुराका गुठियार धनप्रसाद पाण्डेले देवीदेवताको पूजाले दुःखी बिरामी निको हुने, भूत लागेको छाड्ने, पारिवारिक सुख, शान्तिका साथै खेतमा राम्रो बाली पनि हुने जनविश्वास रहेको बताउनुभयो । उहाँले पहिलेको तुलनामा अहिले देवीदेवताप्रति मानिसको लगाव घट्दै गएको छ, तर विश्वासको कमी भने नभएको बताउनुभयो । 

पहिले–पहिले सुरुमा पाकेका बाली र फलेको फल र कुनै नयाँ कामको सुरुवात गर्दा देवीदेवताको भरोसामा गरिथ्यो। अहिले सम्झिने गरिएपनि खेतबारीमा पाकेको फल अन्न भने कमैले ल्याएर चढाउने गरेको पाण्डेको भनाइ छ ।