• १६ भदौ २०८१, आइतबार

विद्यालयस्तरीय टेबलटेनिस गर्दै एनआरटी

blog

टेबलटेनिस प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौँ, भदौ ९ गते । काठमाडौँ खेल मण्डल (केकेएम) र न्युरोड टिम (एनआरटी) ले आफ्नो ९०औँ वार्षिक उत्सवको अवसरमा अन्तरविद्यालय स्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ ।

भदौ ११ देखि १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका ४३ विद्यालयका एक सय ९२ खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक सुनिल भक्त जोशीले जानकारी दिनुभयो । 

प्रतियोगितामा छात्र र छात्राको टिम, यु–१६ छात्र र छात्रा एकल तथा यु–१२ छात्र र छात्रा एकल गरी ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । ग्रासरुट स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्तरको प्रतियोगिता आयोजना गरिन लागिएको एनआरटीले जनाएको छ ।

प्रतियोगितामा यु–१६ र यु–१२ विधाका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपियाँ पुरस्कार पाउनेछन् । नेपाल टेबलटेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।