• १६ भदौ २०८१, आइतबार

शीतभण्डार निर्माण अधुरै, किसानको उत्पादन खेर जाँदै

blog

राजविराज (सप्तरी), भदौ  ९  गते । सप्तरीमा शीतभण्डार निर्माण अधुरै रहेको छ । उक्त भवन निर्माण नहुँदा बर्सेनि किसानले उत्पादन गरेको तरकारी र फलफूल खेर जाने गरेको छ । 

सप्तरीको राजविराज नगरपालिका–१५ देउरी भरुवामा २०७५ पुसमा शीतभण्डार निर्माण कार्य सुरु भएको थियो । तीन हजार मेट्रिक टन क्षमता भएको उक्त सहकारी शीतभण्डार निर्माण समयमै निर्माण सम्पन्न नहुँका जिल्लाका किसान मारमा परेका छन् । झण्डै रु २८ करोड लागतको शीतभण्डार निर्माण कार्य २०७८ सालदेखि रोकिएको छ । 

बजेट अभावका कारण शीतभण्डार निर्माण कार्य बिचमै रोकिएको जिल्ला सहकारी सङ्घ सप्तरीका प्रबन्धक रमेशप्रसाद गुप्ताले जानकारी दिनुभयो । शीतभण्डार निर्माणका लागि आर्थिक वर्ष २०७६/७७ मा सङ्घीय सरकारबाट रु ६ करोड ३६ लाख उपलब्ध भएको उहाँले बताउनुभयो । “सङ्घीय सरकारले रु १० करोड ७५ लाख उपलब्ध गराउन बाँकी नै छ, रकम अभावले निर्माणको जिम्मा लिएको कम्पनीले काम गर्न छाडेको छ ।”

स्वीकृत कार्यक्रमअनुसार सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग थप बजेट उपलब्ध गराउन पटक पटक माग गर्दैआएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । सो अन्तर्गत नवलपरासी र सप्तरीमा एकसाथ सहकारी शीतभण्डार निर्माण थालिएको थियो । नवलपरासीमा भने यसअघि नै शीतभण्डार निर्माण भएर प्रयोगमा समेत आइसकेको उहाँको भनाइ छ । सङ्घीय सरकारको ६० प्रतिशत अनुदान, सङ्घ संस्थाहरूको २० प्रतिशत तथा स्थानीय र प्रदेश सरकारको २० प्रतिशत अनुदानमा डेढ कट्ठा जग्गामा उक्त शीतभण्डार निर्माण गर्न थालिएको हो ।

शीतभण्डार अभावले केरा, आँप, आलु, प्याज, लसुनलगायत उत्पादन खेर जाने गरेको छ । किसानले जिल्ला बाहेक अन्य ठाउँमा लगेर आफ्नो उत्पादन बिक्री गर्न सकिरहेका छैनन् । “शीतभण्डार नहुँदा उत्पादन सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ, बिक्री नहुँदा उत्पादन त्यसै खेर जाने गरेको किसानको गुनासो छ”, प्रबन्धक गुप्ताले भन्नुभयो । बेमौसममा भने किसानले तरकारी र फलफूल महँगोमा किनेर खान बाध्य भएका उहाँको भनाइ छ ।  

स्थानीय किसानले उत्पादन गरेको फलफूल र तरकारी सहकारीमार्फत शीतभण्डारमा भण्डारण गर्ने योजनाका साथ सो शीतभण्डार निर्माण कार्य अघि बढाइएको प्रबन्धक गुप्ता बताउनुहुन्छ । “अहिले उत्पादन खेर गइरहेको छ, सुरक्षित साथ राख्न सकिएको छैन”, उहाँले भन्नुभयो, “शीतभण्डारको सुविधा भएको खण्डमा बिक्री गर्न नसकिएको तरकारी र फलफूल लामो समयसम्म राख्न सकिन्छ, किसानले अत्यधिक लाभ लिनसक्ने अवस्था बन्थ्यो ।”

प्रबन्धक गुप्ताका अनुसार मधेश प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/८२ मा उक्त सहकारी शीतभण्डार निर्माणका रु आठ करोड बजेट विनियोजन गरेको छ । तर हालसम्म सो रकम भने प्राप्त हुन नसकेको उहाँको भनाइ छ । चाँडो निर्माण कार्य सुरु गर्नुपर्नेमा जोड दिँदै उहाँले जिल्लाका जिल्लामा उत्पादित कृषि उपज भण्डार गर्न शीतभण्डार नभई नहुने प्रबन्धक गुप्ता बताउनुहुन्छ । 

 शीतभण्डार निर्माणको जिम्मा पाएको शर्मा आशिष् ओम साइराम, सानोठिमीले बजेट अभावकै कारण समयमै निर्माण सम्पन्न गर्न नसकिएको जनाएको छ । “यसअघि काम गरेको रु तीन करोड ५७ लाख प्राप्त गर्न बाँकी छ”, सो निर्माण कम्पनीका प्रतिनिधि सञ्जयकुमार मिश्रले भन्नुभयो । आर्थिक वर्ष २०७७/७८ मा काम गरेको बिल पेस गरेपनि त्यसको सुनवाइ नभएको उहाँको भनाइ छ । रासस