• ७ मंसिर २०८१, शुक्रबार

मुलाको सर्वव्यापकता

blog

मुला सर्वव्यापी छ । सर्वत्र मुला छाएको देखिन्छ । खान मात्र होइन गाली गर्नसमेत मुला नै प्यारो भएको छ । मुला पार्टीहरू । मुला नेताहरू ।’  मुलाहरू काम नपाएर सडकमा नारा जुलुस गर्छन् । मुलाहरू भ्रष्टाचार गर्छन् । मुलाहरू देशको विकास गर्दैनन् । मुला भ्रष्ट नेताहरू । मुला सरकारी कर्मचारीहरू । मुला व्यापारीहरू । मुला राष्ट्रधातीहरू । मुला करमाराहरू । मुला तरमाराहरू । मुला खन्चुवाहरू । मुला भँडुवाहरू । मुला ढँटुवाहरू । अर्थात् देशमा सबैतिर मुलैमुलाको बिगबिगी देखिन्छ । मुलाहरू शक्ति र शासनमा रहेका छन् । सामान्य पसिना बगाएर श्रम गर्ने नागरिकदेखि बाहेक सबै मुला हुन् । मानिसहरू आफूलाई झ्वाँक चल्यो भने गाली गरिहाल्छन्– ‘मुला नेताहरू !’ रत्नपार्कमा घाम तापिरहेकाहरू सराप्छन्– ‘मुलाहरूले देश बिगारे’ । राजनीतिक र सामाजिक जीवनमा यत्रतत्र जति आलोचना गरे पनि हुने वस्तु वा थेगो वा भाष्य भएको छ– ‘मुला’ । 

गाली गरे पनि मुला आफैँमा प्यारो वस्तुसमेत हो । अर्थात फेरि पनि मान्छे र मुलाको अन्तरसम्बन्ध व्यापक छ । सामाजिक, राजनीतिकदेखि दैनिक जीवनमा जताततै मुलैमुलाको चर्चा हुन्छ । गाली गर्दा सर्वत्र मुलाको चर्चा हुने गरेको छ । तथापि कुनै पनि राम्रा र सकारात्मक विषयको उपमा दिँदा चाहिँ मुला पर्दैन । सम्मान गर्दै तालि लगाउँदा पनि मुलाको नाम लिइँदैन । ‘मुला सम्मान’ भनिएको कतै 

सुनिँदैन । तापनि मानव जीवन र मुलाको सम्बन्ध चाहिँ बडो घनिष्ट रही आयो । ठुला भनिएका नेता र उपल्लो खाटमा बस्नेहरूको सोच, विचार र धारणा भने मुलाको जस्तो देखिएको छ । मुला सोच र प्रवृत्तिले उनीहरूकै भाषामा ‘साना मुला’ लाई हेपिन्छ, चेपिन्छ । सरापिन्छ । ठुलाले बिगारेको कार्यमा ‘मुलालाई’ दोष दिइन्छ । 

मान्छेलाई गाली गर्नुपर्दा ‘कस्तो मुला जस्तो मान्छे’ भन्ने गरिन्छ अर्थात् बुद्धि नभएको, मूर्ख, विवेक, ज्ञान र सिप नभएको मान्छे भन्ने हो । यहाँ मुलाको कुनै अर्थ छैन भन्न खोजिएको देखिन्छ । धेरैजसो राजनीति र राजनीतिक सन्दर्भमा प्रतीक सम्बोधन गर्नुपर्दा पूरै समूहलाई पनि ‘यी मुलाहरू’ भन्ने गरिएको पाइन्छ । मुलाहरूलाई तथानाम गाली गरेर धेरै मुलाहरू राजनीतिमा ठुला भएका छन् ।

सानो उमेरको मान्छेलाई कुनै ठुलाले हेपेर बोल्दा पनि ‘मुला’ भन्ने गरिएको छ । साहुले आफ्ना मजदुरहरूलाई हप्काउँदा पनि मुला भनेको सुनिन्छ । छोरालाई माया गरेर बाबुले बोलाउँदा समेत कतिपय सन्दर्भमा मुला भन्ने गरेको सुनिन्छ । मुला अर्थात् चुत्थो खालको एउटा सामाजिक प्रतीक वा बिम्ब ।

सामाजिक जीवनमा मुला जति चुत्थो भए पनि मानवीय, प्राकृतिक र दैनिक जीवनमा चाहिँ मुलाको महìव धेरै देखिन्छ । मानिसले सामाजिक र गृहस्थी जीवन सुरु गरेदेखि नै मुलालाई आफ्नो आधारभूत खानाका रूपमा ल्यायो । आज पनि मुलाको प्रयोग गरि नै रहेको  छ । त्यति मात्र होइन मुलाको प्रयोग गाउँदेखि सहरसम्म, नेपालदेखि युरोप–अमेरिकासम्म हुँदै आएको देखिन्छ । ‘अदुवा खाई सभा पस, मुला खाई वन पस’ भन्ने उखान भए पनि वर्तमान युगमा मुलाको खपत, प्रयोग र उपयोग बहुमुखी देखियो । मुला काँचै खान मिल्ने तरकारी पनि हो । मुलाको फाल्नुपर्ने कुनै चिज नै हुँदैन अर्थात् जरादेखि टुप्पोसम्म र पात सबै खान हुन्छ । मानिस मात्र होइन घरपालुवा वस्तुदेखि मुसासम्मलाई मुला स्वादिलो लाग्दछ । मुलाको प्राकृतिक उपचार पनि रह्यो । पेटको रोग, दाँतको एक्सरसाइज, पानीको मात्रा बढाउनदेखि शरीर स्वस्थ्य राख्नका लागि मुलाको बहुउपयोग देखिन्छ । 

तराईदेखि हिमालसम्म फल्ने मुला सुकाएर चाना, सिन्की, अचार र गुन्द्रुकसम्म खाने गरिएको छ । मुला बेचेरै ककनी (नुवाकोट) का धेरै स्थानीय धनी भए । मुला बेचेर जिप किने । पहिले लेकबाट मुला बेसी लगेर चाँमलसँग साट्ने संस्कृति पनि थियो गाउँमा । आजभोलि अधिकांश स्थानमा मोटरबाटो र नगद व्यापार बढेकाले सबै नगदानगद हुन पुग्यो । कुनै समय वा जमाना थियो– मुला खाने गरिब भन्ने गरिन्थ्यो । आज त्यो धारणा पूरै उल्टियो । आजको आधुनिक भनिएको सभ्य समाजमा मुला गरिबले भन्दा बढी धनीले खान्छन् । सलाद, अचार र तरकारीका रूपमा । सहरमा गर्मी बढ्दा मुलाको माग बढी हुन्छ । भोज, पाटीको मौसममा मुला नै बढी बिक्री हुन्छ । होटेलमा मुलाको प्रयोग अत्याधिक हुन्छ । यसरी कुनै समय हेपिएको मुला अहिले चाहिँ सहर बजारमा ‘सम्मानित’ भएको छ । कुनै पनि भोजमा मुला चाहिन्छ । मुलाबिना भोज भतेर र पाटी नचल्ने भइसक्यो । यसरी मुलाको खपत र बिक्री ओधी बढेको देखिन्छ । राजनीतिमा ठुलाले हेप्ने गरेका ‘मुलाहरू’ अहिले आफैँ अरूलाई ‘शक्तिशाली ठुला मुला’ को हैसियतमा पुगेका छन् । समाजमा मुला भनिएकाहरू अहिले अरूलाई मुला भन्दछन् ।

मुलाको अर्काे पक्ष र प्रयोग पनि देखियो–‘सुगर रोगीको खाना’ । सुगर (चिनीरोग) भएका सबै जसोलाई डाक्टरले दिने प्रमुख सल्लाहमा एकातर्फ भात, आलु आदि कम खानुस् भन्ने हुन्छ । अर्काेतर्फ सागसब्जी, मुला, गाँजर बढी खानुस् भन्ने हुन्छ । यसरी सुगर रोग र  मुलाको साइनो बढी नजिक भएको देखिन्छ । राजनीतिमा लागेका नेता, ठुला व्यवसायीदेखि पैसा कमाएका भुँडे धेरैलाई अहिले मुला नै प्यारो हुन थालेको छ । भोज, पार्टीमा जाँदा पनि नेताको प्रमुख रोजाइ ‘दुई टुक्रा मुला’ मात्र हुने गरेको देखिन्छ । सार्वजनिक जीवनमा अर्काेलाई गाली गर्न प्रयोग गरिएको मुला नेता र धनीको जीवन धान्ने न्यूनतम खाद्य भएको छ । मुलाको जैविक, सामाजिक र राजनीतिक भाष्यको प्रयोग औधी बढेको छ । मुला राजनीति भन्ने मान्छेहरू बढी मुला खान्छन् । रानीतिलाई फोहोरी खेल र मुलाहरूको काम भन्दै आलोचना गर्ने मुलाहरू सबै अहिले राजनीतिमा आएर मुला नेता भएको देखिन्छ । पहिले अरूलाई मुला भन्नेहरू नै अहिले आफैँ मुला भएका हुन् । नेता, व्यापारी, पत्रकार, वकिल, प्राध्यापक सबै मुला जस्ता भएका छन् । सबै मुला खान्छन् । सबै मुला हुन् । सबैले सधैँ मुला खान्छन् अर्थात् मुला नखाने चाहिँ ‘मुला’ हुन् । ‘मुलाहरू’ । समाजका मुलाहरूको बिगबिगी बढेको छ । जताततै  मुलैमुला देखिन्छ । मुला राष्ट्रपति, मुला प्रधानमन्त्री, मुला मन्त्री, मुला कर्मचारी । सबै मुला । अब जनता मात्र मुला हुन बाँकी छ । बाँकी सबै मुला भइसके । सबै मान्छे मुला हुन् । मुला खान्छन् । मुला गफ दिन्छन् । मुलाहरू । मुलाहरूले देश डुबाए । मुलाहरू आफू धनी बने । मुलाहरू अरूलाई गाली गर्दछन् र पछि आफैँ मुला बन्दछन् । गाउँदेखि सहरसम्म मुलैमुलाको बोलवाला देखिन्छ । एउटा मुला जान्छ अर्काे मुला आउँछ । मुला कुरा गर्छ । साँच्चै मुला सर्वव्यापी छ ।  मधुपर्क