सोलिनजेन (जर्मनी), भदौ ८ गते । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सन्दिग्ध आक्रमणकारीको खोजी जारी राखेको बताएको छ । “अहिलेसम्म आतङ्ककारीबारे कुनै विस्तृत विवरण छैन, प्रहरीले फोटो र भिडियोसहित अनलाइन पोर्टलमार्फत शुक्रबार राती भएको आक्रमणको जानकारी खोजिरहेको छ”,डुसेलडोर्फ सहरका एक प्रहरी प्रवक्ताले बताउनुभयो ।
आक्रमणको लगत्तै विशेष प्रहरी बलको टोली हेलिकप्टरसहित घटनास्थलमा पुगेको थियो । आक्रमणकारीले “मानिसहरूलाई अन्धाधुन्ध छुरा प्रहार गरेको” बिल्ड दैनिकले जनाएको छ ।
सोलिनजेन सहरको ६५०औँ वार्षिकोत्सवका अवसरमा आयोजित महोत्सवमा यो आक्रमण भएको हो । सोलिनजेनका मेयर टिम–ओलिभर कुर्जबाचले घटनाबाट सम्पूर्ण सहर स्तब्ध भएको बताउनुभयो ।
“हामी सबै मिलेर सहरको वार्षिकोत्सव मनाउन चाहन्थ्यौँ तर अहिले यस अप्रिय घटनामा मृत्यु हुनेप्रति शोक व्यक्त गरिरहेका छौ”, कुर्जबाचले भन्नुभयो ।
कुर्जबाचले घटनास्थलमा गरेको कामको लागि आपत्कालीन सेवालाई धन्यवाद दिनुभयो र आक्रमणको प्रत्यक्षदर्शीप्रति सहानुभूति प्रकट गर्नुभएको छ । रासस/एएफपी