• ७ मंसिर २०८१, शुक्रबार

नेपाली दार्शनिक

blog

नेपाली दार्शनिक भनेर चिनिने प्रदिप गिरीको जन्म विक्रम संवत् २००४ असोज १४ गते (सन् १९४७ अक्टोबर १०) सिराहाको लहानमा भएको हो । उहाँको निधन २०७९ साल भदौ ४ गते काठमाडौँमा भयो । उहाँलाई राजनीतिक बौद्धिकता, चातुर्यता र दूरदर्शिताको दृष्टिले विश्वेश्वर प्रसाद कोइरालासँग तुलनीय व्याख्या गरिएको थियो । उहाँलाई एसियाली समाजवादी आन्दोलनका एक प्रखर चिन्तक र भाष्यकारका रूपमा पनि चिनिन्छ । गिरीको पुर्खा र संस्कारमा सङ्क्षिप्त चर्चा गर्दा गोत्रदेखिकै विषय खोज्ने हो भने धेरै लामो हुन जान्छ । तथापि मानिसको स्वभाव, चरित्र र प्रवृत्तिलाई उसको पुर्खा र संस्कारले नै दिशा निर्देश गरेकाले गिरीको पिताजीका बारे आवश्यक विवरण दिनु उचित नै हुन्छ । 

आधुनिक नेपाली राज्यको स्थापनासँगै पूर्वी मध्यक्षेत्र पहाड मूलमा नेपालीको बसोबासले व्यापकता पायो । सप्तरी, महोत्तरीका गिरीहरू, मोरङ सुनसरीका कोइराला, पोखरेल र रेग्मीहरूको सङ्ख्यामा थोरै भए पनि ती शासक वर्गबाट आएका थिए । नवचेतनावाहक भएर बस्तीपुर जन्मगाउँ सिरहा बसोबास गरेका गिरीहरू राजनीति र व्यापारमा लागेको आफ्ना पुर्खाबारे स्वयम् गिरीले लेख्नुभएको थियो ।

गिरी बाल्यकालदेखि नै अध्ययनमा रुचि राख्नुहुन्थ्यो । आफ्नो घरमा भएको सबै जसो पुस्तक उहाँले १० कक्षा उत्तीर्ण गर्नुभन्दा पहिले नै पढिसक्नुभएको रहेछ । रामायण, महाभारत, गीता, संसारका महान् व्यक्तित्वहरूको जीवनी पढिसक्नुभएको थियो । एकताका गिरी हराउनुभयो, उहाँलाई खोज्न सबै परिवारको सदस्य लागि तीव्र गतिमा लाग्नु प¥यो तर भेटिनु भएन । आफ्नो बुबा सुत्ने ठुलो पलङको मुनि बसेर किताब पढिरहनु भएको अवस्थामा उहाँलाई परिवारको सदस्यले भेट्दा सबै जना चकित परे । जिद्दी स्वभावको गिरी कक्षामा सधैँ प्रथम श्रेणीमा उत्तीर्ण हुनुहुन्थ्यो । सानैदेखि स्वभावले साकाहारी हुनुहुन्थ्यो । 

उहाँ एसएलसी उत्तीर्ण गरेर उच्च शिक्षा हासिल गर्न काठमाडौँ जानुभयो । अमृत साइन्स कलेजमा भर्ना भएपछि कलेजको पढाइभन्दा काठमाडौँमा भएका ठुलाठुला पुस्तकालयमा गएर राजनीतिक, आध्यात्मिक, दार्शनिक र साहित्यिक पुस्तक अध्ययन गरेर विद्यार्थी जीवन बिताउनुभयो । त्यसबेलासम्म संसारमै प्रकाशित भएका उपयुक्त लाग्ने पुस्तक अध्ययन गरेर उहाँले जुनसुकै विषयमा पनि तर्क गर्न सक्ने अबल दर्जाको व्यक्तित्वमा आफूलाई चिनाउन सफल हुनुभएको थियो । उहाँको बुबाले छोरो डाक्टर बन्छ भन्ने आशा गर्नुभएको थियो, त्यो आशाले मूर्त रूप पाउन सकेन । उहाँको अध्ययन समग्र देशकै विषयमा केन्द्रित भयो । काका डा. जयनारायण गिरीले अमेरिका पठाउने बन्दोबस्त मिलाउनुभयो तर उहाँले बिपी कोइरालासँग भेटेपछि अमेरिका जाने सोचमा परिवर्तन गर्नुभयो । विज्ञान विषयमा अभिरुचि नभएकाले पछि पिता मित्रलाल गिरीले उहाँलाई भारतको बनारस हिन्दु विश्वविद्यालयमा पढ्न पठाउनुभयो । त्यहीँबाट उहाँले अर्थशास्त्रमा एमए उत्तीर्ण गर्नुभयो । बनारस गएपछि विविध विषयमा पठन सामग्रीमा पहुँच पुगेकाले उहाँमा विद्वताको खास विकास हुन थाल्यो । त्यहीबेला उहाँले आफ्ना साथीहरू तथा प्राध्यापकसामु पनि माक्र्स, लेलिन, रोजा लग्जेम्बर्ग, महात्मा गान्धी, राम मनोहर लोहिया, आचार्य नरेन्द्रदेव, अशोक मेहता एनजी गौर आदिका विचारबारे छलफल गर्न थालिसक्नुभएको थियो । 

बनारस हिन्दु विश्वविद्यालय र जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन गर्दा प्रदीप गिरीका सहपाठी भारतीय विद्यार्थी डिपी त्रिपाठी, मोहन प्रकाश, सुदिन बदौरिया, हरिवंश, पुष्पेश पन्त, टिएन झा, दीपक मल्लिक सीताराम यचुरी दिग्बिजय सिंह जस्ता व्यक्तित्वहरू थिए । उहाँहरू भारतीय राजनीतिक प्राज्ञिक तथा पत्रकारिता क्षेत्रको उच्च ओहोदामा पुग्न सफल भएकाले नेपाल–भारत बिचको सम्बन्धलाई सुदृढ गर्न उहाँको दोस्तीले ठुलो योगदान पु¥याएको थियो । सानैदेखि उहाँको सबै समुदायमा शिक्षाको पहुँच पु¥याउनु पर्छ भन्ने मान्यता थियो । आफूले गर्न सक्ने सहयोग सकेसम्म आफ्नो वरिपरि भएका सबैलाई गर्न पाउँ भन्ने उहाँको सोच थियो र गर्नु पनि हुन्थ्यो । उहाँमा पदप्रति कुनै आशक्ति थिएन । उहाँले राजनीतिमा कुन एक ठाउँमा रहनु पर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । मेरो लोकतान्त्रिक मान्यता अनुसार नेपाली कांग्रेसमा छँदै छु तर कुनै सरकारी पदको जिम्मेवारी मेरा लागि अर्थ राख्दैन भनेर सडकदेखि सदनसम्म यही विचार प्रस्तुत गर्नुहुन्थ्यो ।

कुबेर गिरीका चार छोरामध्ये मित्रलाल गिरी, रुद्रप्रसाद गिरी साइला भजन नाथ गिरी र कान्छा डाक्टर जयराम गिरी हुनुहुन्थ्यो । यी चारै भाइले बस्तीपुरको नाम राष्ट्रिय स्तरमै पु¥याउन सफल भए । मित्रलाल गिरी प्रदीप गिरीका पिता पनि हुनुहुन्थ्यो । मित्रलाल विसं २०१२ मा कांग्रेस पार्टीको वीरगन्ज महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्थ्यो । जुन महाधिवेशनबाट नै कांग्रेसले आफ्नो मूल नीति राष्ट्रियता र प्रजातन्त्रमा थप मूल नीति समाजवादको उद्घोष गरेको थियो । त्यही अधिवेशनदेखि नै कांग्रेसले आफ्नो क्यालेन्डरमा राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई मूल मन्त्र बनाएको हो । आज आएर कांग्रेसको समाजवादको मूल नीति हेर्दा ब्रान्ड मात्रै त भएको देखियो नि ! 

माइला रुद्रप्रसाद गिरीको त झन् कुरै भएन । २००७ सालको क्रान्तिमा कृष्णप्रसाद भट्टराई नेतृत्वमा उदयपुर हानेको इतिहासबारे बहस हुँदा स्वयम् कृष्णप्रसाद भट्टराईले नै गिरीको बखान गर्नुभएको थियो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछि रुद्रप्रसाद पञ्चायतमा लागेर मन्त्रीसम्म हुनुभयो । उहाँको नाम कांग्रेस इतिहास पञ्चायत इतिहास दुवैतिर उल्लेख भएको पाइन्छ । साइला भाइ भगवान् गिरी उच्च सांस्कृतिक चेतनायुक्त गाना बजाना, गीत सङ्गीत र नाटक लेखन र प्रदर्शन गर्नु हुन्थ्यो । सोझा, सरल, भलाद्मी र लेनादेना साफ खालको, जस्तै दुःखमा पनि हाँसीखुसी सम्भावना शैलीको हुनुहुन्थ्यो । बस्तीपुरले आजसम्म पनि जुन सांस्कृतिक जमिन जोगाउन सकेको छ, माटोको सुगन्धमा रमाउन जानेको छ त्यसमा साइला भगवान् गिरीको ठुलो योगदान छ । अरू सबै माइला सन्तानले बस्तीपुर छोडिसक्दा पनि भगवान् गिरी सन्तानहरू अझै बस्तीपुरमै रमाइरहेको भेटिनु पुर्खा र संस्कारको सन्दर्भ सायद यस्तै कुरालाई पनि ढाल्न सकिन्छ । 

कान्छा छोरा डा. जयनारायण गिरी र राष्ट्रिय स्तरमा मात्र होइन अन्तर्राष्ट्रिय स्तरकै ख्याति प्राप्त मेडिकल डाक्टर हुनुहुन्थ्यो । टिभी क्षयरोग रोगलाई तह लगभग बिदाइको रूपमा पु¥याउने अन्तर्राष्ट्रिय स्तरको मेडिकल जनरलहरूमा उल्लेख गरेको पाइन्छ । बस्तीपुरलाई राष्ट्रिय स्तरमा चिनाउन डा. तुलसी गिरी, रुद्रप्रसाद गिरी, डा. जयनारायण गिरी, प्रदिप गिरी, मूर्तिकार प्रमिला गिरी जस्ता राष्ट्रिय स्तरका व्यक्तिहरूको जन्म गाउँमै भयो । त्योभन्दा पनि अर्को महत्वपूर्ण कुरा नवजागरण ल्याउन र त्यस भेगलाई शिक्षाको केन्द्र बनाउन उहाँहरूको महìवपूर्ण भूमिका रह्यो । राणाकालमा विद्यालय र पुस्तकालय खोल्दा जेल जानुपर्ने भन्ने त इतिहास छँदै छ  । यस्तो अवस्थामा पनि बस्तीपुरको गिरिबन्धुहरूले विसं २००४ ( राणाकालमै ) बस्तीपुरमा माध्यमिक विद्यालयको स्थापना गरेका थिए । 

गुरुकुल शिक्षा प्रणालीको एक मात्र परिचय दाङको संस्कृत विद्यालय, पूर्वी भोजपुर दिङ्लाको खडानन्द संस्कृत पाठ्यशालाभन्दा पनि पहिले बस्तीपुरमा पठनपाठन प्रारम्भ भएको कुलदीप गिरी–सावित्री गिरीको जीवनी अध्ययनबाट जानकारी हुन्छ । बस्तीपुर माध्यमिक विद्यालयको विशेषता, पूर्वाञ्चल, खास गरी पहाडी भेगका क्रान्तिकारी लडाकुको छोराछोरी त्यतिखेर कमै पढ्न पाउँथे । मित्रलाल गिरी रुद्रप्रसाद गिरीहरूले छात्रवृद्धि दिएर पढाइदिन्थे । त्यही कारणले पनि त्यो माध्यमिक विद्यालय क्रान्तिलाई सघाउनेमा दर्ता भएकाले जननायक विश्वेश्वरप्रसाद कोइराला २००८ सालमा गृहमन्त्री भएलगत्तै त्यही माध्यमिक विद्यालय निरीक्षण गर्न बस्तीपुर पुग्नुभएको थियो । 

प्रदीप गिरी पनि बस्तीपुर माध्यमिक विद्यालयबाट विसं २०१८ मा १४ वर्षको कलिलो उमेरमा एसएलसी प्रथम श्रेणीमा पास गरेर उच्च शिक्षाका लागि अमृत साइन्स क्याम्पस हुँदै बनारस हिन्दु विश्वविद्यालयसम्म काशीमा पुग्नुभएको थियो । उहाँको यो दोस्रो पुण्यतिथिका अवसरमा सम्मान गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।