• २२ पुस २०८१, सोमबार

अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन मन्त्री काफ्लेको निर्देशन

blog

अवरुद्ध सडकको अनुगमन । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले                                                   

चरीकोट, भदौ ७ गते । बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले निर्देशन दिनुभएको छ । तीन सातादेखि अवरुद्ध रहेको चरिकोट सडक अनुगमनका क्रममा मन्त्री काफ्लले यस्तो निर्देशन दिनुभएको सडक डिभिजन कार्यलय दोलखाका प्रमुख अमित श्रेष्ठले जानकारी दिनुभएको हो । 

सडक अनुगमन गर्दै मन्त्री काफ्लेले बाढी पहिरो लगायतका कारण जनधनको क्षति हुन नदिन तथा अवरुद्ध राजमार्ग तत्काल सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो । काफ्लेले भन्नुभयो, "सडक अवरुद्ध हुँदा स्थानीयको दैनिकी प्रभावित हुन्छ, अवरुद्ध सडकको सवालमा उच्च प्राथमिकतामा राखेर काम गर्नुस् । अवरुद्ध सडकमा सानाठुला सवारीसाधन आजभोलि नै सञ्चालन गर्ने गरि काम गर्नुस् ।" 

जिल्लाका कार्यालय प्रमुखहरूको समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन समेत निर्देशन दिनुभयो । पीडितलाई राहत वितरणका सम्बन्धमा कुनै कानुनी वाधा अड्चन भएमा त्यसलाई तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत मन्त्री काफ्लेले निर्देशन दिनुभयो । उहाँले विपद्को पूर्व आङ्कलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । जनतालाई प्रदान गरिने सेवामा कुनै कसुर बाकी नराख्न निर्देशन दिँदै काफ्लेले जनता रिसाउने काम गर्न नहुने बताउनुभयो ।

सेवाग्राही सेवा लिन कार्यालय आउँदा गर्न नसकिने काम भएपनी मीठो बोली र मुस्कान दिएर पठाउनुपर्ने काफ्लेको भनाइ छ । उहाँले कार्यालय प्रमुखहरूलाई जिम्मेवार भएर काम गर्न निर्देशन दिनुका साथै जनप्रतिनिधि र कर्मचारी र मिलेर नै जिल्लाको विकास हुने भएकाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो । 

गणतन्त्रमा आफ्नो काम नगर्ने छुट नभएको बताउँदै उहाँले पदमा रहँदा जिम्मेवार भएर जनताको सेवामा लाग्न निर्देशन दिनुभयो । यससँगै उहाँले नागरिकलाई चुस्त र दुरुस्त सेवा प्रदान गर्न तथा सेवा सहज तथा प्रभावकारी बनाउन उहाँले निर्देशन दिँदै कार्यालयमा उपलब्ध जनशक्तिबाट नै सहज सेवा प्रदान गर्न सकिने बताउनुभयो ।