वीरेन्द्र ओली
काठमाडौँ, जेठ ४ गते । काठमाडौँको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय प्रदर्शनी र मनोरञ्जन पार्क बन्ने भएपछि त्यहाँ भएका संरचनाबारे अध्ययन सुरु भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सम्मेलन र प्रदर्शनी केन्द्र तथा मनोरञ्जन पार्कका रूपमा रूपान्तरण गर्ने घोषणा गरिसकेको छ । सरकारले भृकुटीमण्डपको सबै क्षेत्र ओगट्ने गरी नमुना अन्तर्राष्ट्रिय सम्मेलनका साथै प्रदर्शनी केन्द्र र पार्क बनाउने योजना अघि सारेको हो ।
सहरी विकास तथा भवन निर्माण विभागकी सिनियर डिभिजनल इन्जिनियर निशा केसीले प्रारम्भिक रूपमा भृकुटीमण्डप क्षेत्रमा स्टल, पसल, सरकारी तथा गैरसरकारी कार्यालय कति रहेका छन् भन्नेबारे अध्ययन सुरु गरेको जानकारी दिनुभयो । भृकुटीमण्डपको अवधारणाको तयारी समितिको प्रमुखमा विभागकै उपमहानिर्देशक प्रकृन तुलाधरको नेतृत्वमा इन्जिनियर दीपक श्रेष्ठ, परीक्षा सिंह र निशा केसी रहनुभएको छ । यहाँ खुला रूपमा एक हजार ३६० स्टलमा सात सय व्यापारी रहेका छन् । त्यस्तै खाजा तथा नास्ता पसल, पुस्तकालय, सरकारी गैरसरकारी कार्यालय पनि रहेको केसीले बताउनुभयो ।
समाज कल्याण परिषद्लाई भृकुटीमण्डपको संरचनाबारे विस्तृत रिपोर्ट पठाउन पत्र पठाइएको इन्जिनियर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भृकुटीमण्डपभित्रका अधिकांश संरचना समाज कल्याण परिषद्का भएकाले गत फागुनमै पत्र लेखेर सबै संरचना र स्थानको क्षेत्रफलका बारेमा विस्तृत रिपोर्ट पठाउन निर्देशन दिएका थियौँ । फिल्डमा भएका भौतिक संरचनासहित व्यापार व्यवसाय, फनपार्कलगायत सबै सम्पत्तिको विवरण पठाएपछि डिपिआर बनाउन सजिलो हुने छ ।” भृकुटीमण्डपको आधुनिक संरचना विभागले निर्माण गरे पनि अहिलेका संरचनाबारे परिषद्लाई जानकारी हुने भएकाले पत्र लेखेर रिपोर्ट पठाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।