• २२ पुस २०८१, सोमबार

भूकम्पपीडित पहिलो किस्ताको पर्खाइमा

blog

सल्यानको दार्मामा भूकम्प प्रभावित बस्दै आएका अस्थायी आवास । तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 

सल्यान, भदौ ७  गते । विसं २०८० कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको सल्यान दार्मामा दुई हजार चार सय लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् । भूकम्प गएको दश महिना बितिसक्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् ।  

दार्मागाउँपालिका ३ का भूकम्पपीडित डिल्लीबहादुर खत्रीले अहिलेसम्म सरकारका तर्फबाट कुनै रकम प्राप्त नगरेको बताउनुभयो । उहाँले भन्नुभयो, "भूकम्प प्रभावित भएर अस्थायी आवास बनाए पनि अहिलेसम्म राहत प्राप्त भएको छैन ।" 

स्थानीय र विभिन्न राजनीतिक दलका स्वयंसेवकको सक्रियतामा अस्थायी आवास दार्मामा निर्माण गरिएको थियो । भूकम्पले दुई घर भत्काएपछि दार्मा गाउँपालिका ५ की धनी केसी अस्थायी आवासमा बस्दै आउनुभएको छ । उहाँले भन्नुभयो, "रकम प्राप्त भएमा राम्रो घर बनाउन हुन्थ्यो ।"

अस्थायी आवासमा बस्दा अन्य समयमाभन्दा वर्षाको समयमा झनै गाह्रो भइरहेको भूकम्प प्रभावितको भनाइ छ । दार्मा गाउँपालिका २ टेक बहादुर केसीले २ वर्ष पहिले ऋण लिएर घर बनाएको घर भूकम्पले भत्काएपछि अहिले अस्थायी आवासमा बस्दै आउनुभएको छ । 

दार्मामा अस्थायी आवास निर्माणका लागि छानिएका चार हजार ८१ लाभग्राहीमध्ये हालसम्म एक हजार ६७४ घरधुरीले मात्र पहिलो किस्ता रकम पाएका छन् । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले संघीय सरकारले दार्मा गाउँपालिकालाई हस्तान्तरण गरेको ४ करोड २० लाखमध्ये १६७४ घरधुरीलाई २५ हजारका दरले वितरण गरिएको बताउनुभयो । उहाँका अनुसार रकम अपुग भएका लाभग्राहीलाई चाहिले आवश्यक रकम संघीय सरकारसँग माग गरिएको छ । संघीय सरकारबाट निकासा रोकिँदा भूकम्प पीडितलाई पहिलो किस्तावापतको रकम हस्तान्तरण गर्न समस्या भएको छ ।

सर्वदलीय निर्णय गरि भूकम्प प्रभावित चार हजार ७४ घरधुरीलाई स्थायी आवास निर्माणका लागि प्राधिकरणमा सिफारिस गरिसकिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले लाभग्राहीमध्ये ६ जनाको कागजात नपुग्दा प्रक्रिया रोकिएको बताउनुभयो । 

भूकम्प प्रभावित सल्यान दार्मा गाउँपालिकामा क्षति भएका शौचालय पुर्ननिर्माण गर्न थालिएको छ । यहाँ भूकम्पले १ हजार ३७ शौचालयमा क्षति पुगेकामध्ये पाँच सय ७२ शौचालय निर्माण गरिएको छ ।