• १६ भदौ २०८१, आइतबार

कास्कीमा डेङ्गु सङ्क्रमण बढ्दो

blog

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ७ गते । गण्डकी प्रदेशको राजधानी पोखरासहित कास्की जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । कास्कीमा बिहीबारसम्म नौ सय ९९ जनामा डेङ्गु पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । 

पोखरा महानगरका दुई वडामा यसले महामारीको रुप लिन सक्ने आङ्कलन गरी विशेष अभियान थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले सबैजसो सङ्क्रमित पोखरा महानगरवासी नै भएको उल्लेख गर्नुभयो । 

अन्नपूर्ण गाउँपालिकामा छ जना, मादीमा चार, रुपामा छ जनामा सङ्क्रमण पुष्टि भएको छ । मादीमा भने शुक्रबारसम्म सङ्क्रमित देखिएका छैनन् । बाँकी नौ सय ८३ जना पोखरा महानगरका बासिन्दा हुन् ।

कार्यालय प्रमुख नेपाली भन्नुहुन्छ, “पोखरा–५ मा ८६ जना र वडा नम्बर ८ मा एक सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको छ । २० जनाभन्दा बढी सङ्क्रमित भएका वडा नै आठ वटा छन् ।” सचेतनासँगै खोज र नष्ट गर जस्ता अभियान प्रभावकारी नबनाउने हो भने यसले चाँडै महामारीको रुप लिन सक्ने नेपाली बताउनुहुन्छ । डेङ्गु रोगी बढेपछि टोल टोलमा खोज र नष्ट गर अभियान थालिएको छ ।

बस्ती बस्तीसम्म माइकिङ, सचेतनासँगै सरसफाई थालिएको हो । शुक्रबारबाट सशस्त्र प्रहरी बलले पनि पोखराका वडा नम्बर ५ र ८ मा अभियान चलाएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेडक्वाटर्स् कास्कीले सरोकारवालाको सहभागितामा संवेदनशील ठाउँहरुमा अभियान थालेको सशस्त्र प्रहरी उपरीक्षक अरुणकुमार शर्माले बताउनुभयो ।

गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० जिल्लामा डेङ्गु सङ्क्रमित करिब तीन हजार पुगेका छन् । गण्डकीमा कास्कीका दुई र तनहुँका एक गरी तीन जनाले डेङ्गुका कारण ज्यान गुमाइएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । उहाँले सङ्क्रमण नियन्त्रणका लागि विभिन्न काम गरिरहेको उल्लेख गर्नुभयो ।

सचिव डा. शर्माले भन्नुभयो, “खासगरी तनहुँमा समुदायसम्म परिचालन गर्न विशेषज्ञसहितका टिमहरु पठाएका छौं । प्रदेश स्वास्थ्य निर्देशनालयले समुदायमा खोज र नष्ट गर्ने काम गरेको छ ।” मुख्यमन्त्री, मन्त्रीहरुसहित ८५ वटै पालिकाका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति, स्वास्थ्य शाखा प्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरुलाई राखेर बैठक गरेको उहाँको भनाइ छ ।