कबिराज घिमिरे
हिले, भदौ ७ गते । धनकुटा जिल्लामा मात्र बसोबास रहेको आठपहरिया जातिको सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आठपहरिया जातिको संस्कृति जगेर्ना गर्ने उद्देश्यले निर्माण थालिएको उक्त सङ्ग्रहालयको काम अन्तिम चरणमा पुगेको हो ।
धनकुटा नगरपालिका–४ स्थित बिहीबारे हटिया छेउमा आठपहरिया जातिको सङ्ग्रहालयका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । धनकुटा नगरपालिकामा मात्र बसोवास रहेको आठपहरीया जातीको संस्कृति जगेर्नाका लागि धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा सङ्ग्रहालय निर्माण भइरहेको हो । आर्थिक वर्ष २०७८÷०७९ मा सङ्घीय सरकारबाट ५० लाख र धनकुटा नगरपालिकाको दुई करोड आठ लाख रुपियाँको लागतमा भवन निर्माण गरिएको हो ।
दुइ आर्थिक वर्षसम्म अधुरो रहेको काम नगरले समपूरक बजेट विनियोजन गरेर काम सुचारु गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताउनुभयो । आठपहरिया जातिको आफ्नै धर्म, संस्कृति, परम्परा छ । पुर्ख्याैली थातथलो छोडेर जान नहुने परम्परा रहेको आठपहरियामा जहाँ गए पनि धनकुटामा नै आएर धर्म संस्कृति मान्नुपर्ने प्रचलन छ । दुईतले सङ्ग्रहालयको एउटा हलसहित जम्मा १० वटा कोठ छन् ।
सङ्ग्रहालयको छानो पुरानो शैलीमा फुसको लगाइएको छ । सङ्ग्रहालयमा आठपहरिया जातिको कला संस्कृति, भेषभूषा, भाषा, धर्म चिनाउने साथै पुरातात्विक महत्वका वस्तुहरु सङ्ग्रह गरिने किराँत आठपहरिया समाजका महासचिव कोमल किम्दाङ आठपहरियाले बताउनुभयो । सीमान्तकृत आठपहरिया जातिको धनकुटा नगरपालिकाभित्र मात्रै बसोबास छ । आठपहरिया समुदायको जनसङ्ख्या करिब दश हजार रहेको बताइन्छ ।