सभ्यताको विकास र प्रगतिका लागि शिक्षा महत्वपूर्ण साधन हो । शिक्षाले विवेक, ज्ञान, समझदारी र समर्पण भावना विकसित गर्छ । समग्र क्षेत्रमा समृद्धिको मार्ग खोलिदिन्छ । संस्कृति विकासमा शिक्षा र ज्ञानले मान्छेभित्र रहेको प्रज्ञाचक्षु खोल्दै, अद्भूत रहस्य र क्षमतालाई भूमिकामा उतारिन्छ । साहस र क्षमताको अन्तरघुलन गराएर पुराना सोच, मान्यता र विश्वास समायानुकूल भत्काउँदै युगान्तर गरिदिन्छ । विषयलाई कहाँ उभिएर कुन चस्माले हेर्ने ? कसरी बुझ्ने र त्यसलाई कसरी भूमिकामा उतार्ने मुख्य कुरा हो । आँखालाई दृष्टिमा फेरेर जीवन र जगत हेर्ने, बुझ्ने र दृष्टिकोण निर्माण गर्दै ज्ञान क्षेत्रमा प्रवेश गराउने माध्यम शिक्षा हो । शिक्षाले व्यक्तित्वमा बौद्धिक, सामाजिक, आर्थिक, भौतिक, नैतिक सर्वाङ्गीण विकास गराउँछ । ज्ञान मार्गमा प्रवेश गराउँदै उन्नत सिप सिकाउँछ । जिज्ञासाको मुहान खोतल्दै थप जानकारीको भोक जगाउने निरन्तर चलिरहने प्रक्रिया हो ।
सभ्यताको विकासक्रममा शिक्षाले विचारधारामा प्रवेश गराउन कामको पछाडि कारण सोच्न ललकार्यो । संसार विचारधाराले नै फेरियो । सत्य थाहा पाउन के भयो ? किन भयो ? कसरी भयो ? भन्ने कुरालाई तथ्य जोडिएको तर्कले ज्ञानको क्षेत्रफल फैलाउँदै गयो । प्रज्ञाचक्षु खोल्दै गएपछि जिज्ञासायुक्त प्रेरणा पाउँदै गयो ।
विद्या
मान्छे ज्ञानको खोजीमा निरन्तर लागिरह्यो । पाएको ज्ञान, गरिएको आविष्कार, उद्घाटित रहस्यले थप अध्ययन गर्न हौसिरह्यो । ज्ञानका लागि सन्तुष्टि आत्महत्या हुन्थ्यो भने दार्शनिक, वैज्ञानिक, अनुसन्धाता सधैँ असन्तुष्ट हुँदै थप अध्ययन अनुसन्धान गर्दै गए । हरेक विद्यार्थी आफ्ना गुरुलाई उछिन्दै रहे । गुरुहरूले पनि आफ्ना शिष्यले आफूलाई जितोस् भन्ने मान्यता राख्दा नयाँ सोच, मान्यता र आविष्कार थपिँदै गए ।
शिक्षाको परिपक्वता विद्या हो । शिक्षाका स्थापित मानदण्ड हुन्छन् । विद्याले भने स्थापित मान्यतालाई भत्काउँदै उन्नत गर्दै ज्ञानका क्षेत्रफल बढाउँदै लैजान्छ । पुराना विश्वास भत्काउन र नयाँ स्थापना गराउन शिक्षा मात्र पर्याप्त हुँदैन विद्या आवश्यक हुन्छ । सत्य सार्वभौम भए पनि सत्यले वाणी पाउन भने व्याख्यातामा भर पर्नु पर्छ । ज्ञानको समृद्धिसँगै पुराना मानक र मान्यता भत्काएर नयाँ सत्य परिभाषित हुँदै जान्छन् । दार्शनिकले नयाँ तथ्य र तर्कले समृद्धि गर्दै नयाँ मानक तयार गर्छन् ।
शिक्षा औपचारिक भए पनि विद्या औपचारिकतामा सीमित हुँदैनन् । शिक्षित भएर मात्रै पुग्दैन क्षमताहीन पनि हुन सक्छ । स्थापित अप्रमाणित मानदण्ड र सूत्र भत्काएर आफ्नै विवेक, समझदारी, अनुभव, योग्यताको उपयोग गरेर ज्ञानीजन अघि बढ्छन् । नयाँ तथ्यमा टेक्दै, प्रयोगले नयाँ तर्कको सामाजिकीरण गर्छन् ।
ग्रिसका विद्वान् अरस्तुले (इसापूर्व ३८४–३४७) महिलाका त दाँत पनि पुरुषभन्दा कम हुन्छन् भनेर भन्दिए । त्यसै कारण उनीहरू पुरुष बराबर हुन सक्दैनन् भने । धेरै समयसम्म पश्चिमा जगत्मा स्वीकारियो । इसाको दोस्रो शताब्दीका गणितज्ञ एवं खगोलविद्, दार्शनिक टोलेमीले ‘पृथ्वी केन्द्र हो, यो स्थिर छ र अरू सबै आकाशीय पिण्डले यसलाई परिव्रmमा गर्छन्, त्यसै गरी ब्रह्माण्डको आकार सीमित छ’ भन्ने मान्यता राख्थे । क्रिश्चियन धर्मले पनि सूर्यले नै पृथ्वीलाई घुम्छ भनेको छ । वेद र पुराणले त सूर्य भनेको भगवान् हुन्, उनी रथमा चढेर संसार हेर्दै आकाशमा यात्रा गर्छन् भनेका छन् । पहिले मानिस सूर्यले नै पृथ्वीलाई घुम्छ भनी सोच्ने गर्थे । उनीहरूको पक्कापक्की विश्वास यसैमा थियो ।
संस्कृति
कुनै पनि देश, जाति र समुदायको आत्मा संस्कृति हुने गर्छ । हरेक समाजमा अन्तरनिहित गुण, इतिहास र समग्र रूपको नाम संस्कृति हो । सभ्यताका इतिहास, मानव जातिको सङ्घर्षका इतिवृत्ति, भूगोल, भाषा, साहित्य, परम्परा, व्यवहार, चिन्तन प्रणाली, जन्मदेखि मृत्युसम्मका गरिने र हुने चलन, राजनीति र शक्तिका सङ्घर्ष, सामाजिक द्वन्द्वका कथाव्यथालाई एउटै डालोमा राख्दा जुन चित्र र चरित्र देखा पर्छ त्यो नै संस्कृति हो । धर्म र संस्कृति भने फरक हुन् ।
आविष्कारको जननी शिक्षालाई जब सामाजिकीरण गरियो तब संस्कृति, सभ्यता उन्नत हुँदै गए । तर्कवादी सोचले संस्कृतिमा रहेका राम्रा पक्षको संरक्षण र नराम्रा पक्षलाई खारेज गर्दै नित्य नयाँ बन्दै सामाजिक सोच बन्दै गए । मानवीय संस्कार र व्यवहार संस्कृतिले निर्धारण गर्ने हुँदा समाजको सोच विचारलाई, काम र व्यवहारमार्फत समग्रता संस्कृतिमा झल्किन्छ । हरेक देश, सभ्यता, जाति, र समुदायका आनीबानी संस्कृतिले निर्धारण गर्छ । भाषा, साहित्य, जीवन मूल्य र व्यक्तिका आदर्शमा देखा पर्छन् ।
संस्कृतिको निर्धारण संस्कार, संस्कारमा सुधार र परिष्कार हुँदै जान्छन् । सभ्यता विकासका कालखण्डसँगै संस्कृति पनि विकसित हुँदै जान्छ । उत्पादनका साधनस्रोत र स्वामित्वले सांस्कृतिक उथलपुथलमा प्रभाव पारिरहेका हुन्छन् । व्यक्तिगत नभई सामूहिक चिन्तनले संस्कृतिलाई प्रभावित पार्छ । सांस्कृतिक पहिचान इतिहास संरक्षित गर्ने एउटा तरिका पनि हो । संस्कृतिले सामूहिकता मात्रै निर्माण गर्दैन समूहमा सुरक्षा भाव पनि जगाउँछ । सोच्ने र बाँच्ने तरिकासँग सांस्कृतिक सामूहिक थलो बनेर जातीय, भेगीय राष्ट्रियतामा फेरिन्छ ।
सभ्यता विकास साथै विभिन्न भूगोल, जाति, भौगोलिक सभ्यताले संस्कृति, चालचलन र धर्म विकास हुँदै गए । भाषा, लिपिले ज्ञान, शिक्षा र अनुभव समाजमा हस्तान्तरण हुँदै गयो । एकअर्काका भूमिका, शिक्षा, भूगोल वा सभ्यता अन्यत्रले पनि सिको गर्दै गए । ज्ञानको फैलावटसँगै सभ्यताका उत्थान र पतन हुँदै गए भने ज्ञान केन्द्रका भूगोल पनि फेरिँदै गए । नालन्दा, तक्षशीला, सिकन्दरिया या अलेक्जेङड्रिया, युनान, फारसका ज्ञान, विज्ञान, दर्शन र आविष्कार इतिहासले मानव जातिका लागि सुन्दर उपहार बने ।
अहिले भने शिक्षार्थीमाथि अभिभावक र बजारको धेरै दबाब छ । आफूले पूरा गर्न नसकेका र अपेक्षा गरेका भूमिका सन्तानले पूरा गरिदिउँन् भन्ने अभिभावक सोच्छन् भने बजारमा के बिक्न सक्छ भन्ने शिक्षार्थीमा हुन्छ । ज्ञान र विद्याभन्दा पनि शिक्षार्थीलाई विद्यार्थी बन्न नदिने तìव भनेको शिक्षित बजारमा के, कसरी बिक्ने भन्ने दबाब हो । शिक्षितजन सामाजिक सरोकारसँग जोडिएर मानवीय दायित्व पूरा गर्छन् । सामाजिक सरोकारसँग बेवास्ता हुनुपछाडि विश्व श्रम बजारमा बिक्ने भन्ने दबाबले व्यक्तिवाद पनपिन जानु हो ।
नजान्नु भनेको नहुनु होइन । हरेक वैज्ञानिक आविष्कारले हाम्रा विविधता सोच, संस्कृति र भूमिकालाई चामत्कारिक वैज्ञानिक खोजले प्रभावित र उन्नत बनाइरहेका हुन्छन् । सत्यजितको भनाई राखौँ– वैज्ञानिकले पछिल्लो समयमा विज्ञानको क्षेत्रमा चामत्कारिक खोज गरिरहेका छन् ।
बिट मार्दै गर्दा
मानव अनुभवको सञ्चय, भण्डारण साधनका रूपमा संस्कृतिले काम गर्छ । संस्कृतिले मान्छेलाई ज्ञान प्राप्त गर्ने भाषा, प्रतीक, मूल्य, मानदण्ड, रीतिरिवाज र परम्परालाई आकार दिँदै सामाजिक बन्धन र तरिका सिकाउँछ । एउटा पुस्ताको अज्ञानता वा पाखण्ड अर्को पुस्तालाई भने संस्कृति र परम्परा पनि बन्न सक्छ । कुनै पनि बालबालिकालाई शिक्षादिँदा आफूसँग रहेको अनुभवले पाएको ज्ञान थोपार्न भने हुँदैन । ऊ जन्मिएको र जिज्ञासा जागृत भएको समय र समाज हामीले बिताएको समय युग भिन्न हुन् । हाम्रा भोगाइका सत्यता पनि फरक छन् । अझ पाठ्यसामग्री फेरिए । गुरु हराएर शिक्षक, गुरुकुल हराएर पाठशालाबाट पनि डिलक्स बोर्डिङमा फेरिए । शिक्षाको सबभन्दा ठुलो उपहार भनेकै सपनालाई यथार्थमा फेर्ने आँट, उपाय र नयाँ कुरा थाहा पाउने जिज्ञासा हो । बिना होस हवास गुमाएर अरू कसैले भनेको पनि सुन्न सक्ने धैर्यता हो । राम्रा कुरालाई ग्रहण गर्ने, नराम्रा र अप्रमाणित कुरा आविष्कार गर्ने विवेक उमार्नु हो । नित्य नयाँ बन्न जिज्ञासा पैदा गर्नु हो । पाठ्यसामग्रीमा अब नागरिक शास्त्र, इतिहास, नीतिशास्त्र, समाजशास्त्रको महत्व रहेन । यि विषयले ज्ञानको क्षेत्रफल फैलाउँछ तर श्रम बजारको शिक्षित श्रमिक भने बनाउँदैन भन्ने मान्यता अभिभावक र शिक्षार्थीमा पर्दै गयो । यसले संस्कृतिमा पनि उपभोक्तावाद हाबी हुन पुग्यो । विषय छनोटमा पनि उदारवादी संस्कृतिको प्रभाव पर्न ग¥यो ।
समाजमा विविधता छ । विविधता अनुसारका संस्कृति पनि फरक फरक हुन्छन् । हामी सामन्तीबाट, विज्ञानहुँदै कम्प्युटर, इन्टरनेट र आर्टिफिसिएल इन्टिलिजेन्स युगमा आइपुगेका छौँ । पुरानालाई छोड्न पनि सक्दैनौँ, नयाँ अँगाल्न पनि सक्दैनौँ । हाम्रो ठुलो हिस्सा बिदेसिएको छ । यसले हाम्रो बहस, संस्कृति, चिन्तनधारा र जीवन पद्धतिलाई पनि प्रभावित पारिरहेको छ । सोच्ने तरिका फरक भएपछि सौन्दर्यका परिभाषा पनि फरक हुन्छन् । एउटा गुण र चरित्र अर्काले सोही रूपमा स्वीकार नगर्न सक्छ ।
बगैँचामा फुल्ने रङ्गीचङ्गी फूल जस्तै समाजमा पनि विविधता छ । जातीय, धार्मिक अन्धराष्ट्रवाद, बहुसङ्ख्यकवादका अहङ्कारले विविधता स्वीकार्न दिँदैन । ज्ञानउन्मुख शिक्षाले भने विविधतालाई आत्मसात् गर्न सामाजिक अन्तरघुलन गराउँदै मानवीय बनाउँछ । समय फेरिन्छ, समाज बदलिन्छ, एउटा पुस्ताले बुझेको सत्य पनि अर्को समयमा व्याख्याता चेत, अध्ययन र अवस्थाले फेरिन्छ ।
शिक्षा जति महँगो हुन्छ त्यति नै अनपढ सङ्ख्या वृद्धि हुन्छ । जब शिक्षा शैक्षिक कारिन्दा उत्पादन मात्रै गर्न खोज्छ तब शिक्षित व्यक्ति भिडमा फेरिन्छन् । जति शिक्षित रूढिवाद बढ्दै जान्छन् शक्ति वा प्रकृतिसँगको द्वन्द्वले सिर्जित भयलाई संस्कार र संस्कृति भन्दै निरन्तरता दिन्छन् । हाम्रा मस्तिष्कको हार्ड ड्राइभमा जैविक गुणको असर सुरक्षित हुन्छ । त्यो कतिपय अवस्थामा प्रकट पनि हुन्छ ।
विद्यालाई कुनै पनि सत्ताले कजाउन सकेन । विद्याले सभ्यता, संस्कृति, दर्शन र संस्कृतिमा प्रभाव पार्दै गयो । बसाइँसराइ, सूचना सञ्चारको विकासले विश्व ग्राममा फेरिँदै गएको संस्कृतिबिचमा अन्तरघुलन बढ्दै गए । आग्रह र सांस्कृतिक श्रेष्ठता, जातीय, धार्मिक भाषिक र रङ्गले पैदा गरेको हीनताबोध र उच्चताबोध, अहङ्कार भत्काइदिँदा अन्तरघुलन गर्ने चेतनाको विकास ग¥यो ।
शिक्षा र संस्कृतिबारे चर्चा गर्दा होसियार हुनुपर्ने पक्ष भनेको–शिक्षासँगै तर्क र तथ्य जोड्न सकेन भने उच्चशिक्षा हासिल गरेर पनि मान्छे भूमिकामा पाखण्डी र चाकर बन्न सक्छन् । शिक्षित मूर्ख त सामाजिक अपराधी हुन्छन् । पढेलेखेको सहजै हुन सकिन्छ तर जागरुक र जिज्ञासु हुन भने कठिन हुन्छ । भक्ति संस्कृतिले बनाएको सोच आख्यानलाई इतिहास मान्न पुग्दा भने समाजलाई तर्क र तथ्यमा विषय नहेर्ने भिडमा पनि फेरिदिन सक्छ । साम्प्रदायिकता, रूढिवाद र भिड वा बहुसङ्ख्यकवादलाई अशिक्षितले हैन शिक्षित आग्रहीले लम्पट मस्तिष्कलाई उराल्छन् । कुण्ठाग्रस्त मनुवा प्रतिरोध र प्रतिशोधमै आफ्ना ऊर्जा रित्याउँछन् ।