सर्लाही समाचारदाता
सर्लाही, भदौ ७ गते । सर्लाहीको सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा ट्याक्टरमा राखेर खाद्यान्न ढुवानी गर्न थालिएको छ । अत्यावश्यक काम परेका स्थानीयसमेत खाद्यान्न बोकेको ट्याक्टरमै चढेर लालबन्दी बजारसम्म आउजाउ गर्न थालेका छन् । बर्खा लागेदेखि नारायणखोलामा बस सञ्चालन भएको छैन ।
सडक सञ्जालमा नजोडिएको सर्लाहीको साबिक नारायणखोला गाविस (हालको लालबन्दी नगरपालिका–१४, लखन्देही र डाइनीखोला भएर आउजाउ गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाबाटै बस गुडे पनि बर्सायाम सुरु भएपछि आउजाउ बन्द हुने गरेको छ ।
गत असारदेखि बस सञ्चालन नहुँदा स्थानीयलाई दैनिक उपभोग गर्ने खाद्यान्नको अभाव हुन थालेको छ । स्थानीयले केही दिनदेखि लालबन्दी बजारसम्म ट्याक्टर ल्याएर चामल, दाल, नुन, तेललगायतका खाद्यान्न लैजाने र आफू पनि त्यही ट्याक्टरमा चढेर जाने गरिरहेका छन् ।
लालबन्दी–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले खाने अन्न नै सकिएपछि स्थानीयले जोखिम मोलेरै ट्याक्टरमा खाद्यान्न ढुवानी गर्न सुरु गरेका जानकारी दिनुभयो । पछिल्लो आठ/१० दिनदेखि खोलामा निरन्तर बाढी आइरहँदा पनि स्थानीयले बाध्यतावश ट्याक्टरको टेलरभरि खाद्यान्न हाल्ने र त्यसैमाथि आफूहरूसमेत बसेर गाउँसम्म पुग्ने गरेका वडाध्यक्ष घिसिङले बताउनुभयो ।
खाद्यान्न लोड गरिएको टेलर खोलामा ठाउँठाउँमै फस्दा दुई/तीन वटा ट्याक्टरको इन्जिन जुटाएर तान्ने गरिएको स्थानीयले बताएका छन् । लालबन्दी बजारमा रहेको वडा कार्यालय, नगरपालिका तथा हरिवनमा रहेको इलाका प्रशासन कार्यालयमा आउनुपर्ने काम भएका स्थानीय खाद्यान्न लिन लालबन्दी बजार आउने ट्याक्टरमा नै चढेर आउजाउ गर्ने गरेका छन् ।
कतिपय पैदल नै हिँडेर आउँछन् । गाउँमा वडा कार्यालय राख्दा विद्युत्, इन्टरनेट, फोनको समस्या हुने बरु लालबन्दीमै सहज हुने भन्दै लालबन्दी–१४, नारायणखोलाको वडा कार्यालय स्थानीय तह घोषणा भएदेखि नै लालबन्दी–८ स्थित बजारमा ल्याएर राखिएको छ ।
भौगोलिक रूपमा चुरेको ठुलो पाखा पर्ने नारायणखोलामा नगरपालिका कार्यालयले केही वर्षअघिदेखि चुरे पाखा फोडेर सडकको ट्र्याक खन्न सुरु गरे पनि काम पूरा हुन सकेको छैन । नारायणखोलाको माथिल्लो भेग अर्थात् सिन्धुलीको सीमा क्षेत्रबाट लालबन्दी बजार आउनका लागि पत्थरकोटमा गाडी चल्ने ठाउँसम्म आउनुपर्दा तीन घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयले दुःखेसो पोखेका छन् ।